logo

bar

नयनराजले ल्याए यार

नयाँ पत्रिका काठमाडौं, ३० पुस | पुष ३०, २०७४

साहित्यकार नयनराज पाण्डेको संस्मरणात्मक पुस्तक ‘यार’ सार्वजनिक गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा पाण्डेले आफ्ना यारहरूलाई साक्षी राखेर संस्मरण विमोचन गराएका हुन् । ‘न्युरोड ग्याङ’मा आबद्ध उनका साथी तथा केही अग्रज साहित्यकारले ‘यार’को विमोचन गरे ।

पाण्डेलगायत उनका साथीहरूको एक समूह कुनै वेला काठमाडौंको न्युरोडमा भेला हुन्थे । यही समूह न्यूरोड ग्याङको नामले चिनिन्थ्यो । त्यही ग्याङका सदस्य अर्थात् पाण्डेका यारहरू पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराई पुस्तक विमोचनमा उपस्थित थिए ।

जीवनका विभिन्न मोडमा आफ्ना साथीभाइसँगका तिता–मीठा सम्बन्धलाई उनले संस्मरणमा उतारेका छन् । ‘मैले यारमा बनावटी लेखेको छैन । साथीका मात्रै होइन, आफ्नै कमजोरी पनि लेखेको छु,’ पाण्डेले भने, ‘कथा र उपन्यासमा भन्दा इमानदारीसाथ सत्य दिन सकिने भएकाले संस्मरण उतारेको हुँ ।’ उनले संस्मरणमा आफूसहित धेरैको पोल खोलेको पनि बताए ।

यारमा २५ उपशीर्षक छन् । यसमध्ये ‘धराप’ लेख्न कठिन भएको उनले सुनाए । यो उपशीर्षकमा उनका पारिवारिक र व्यक्तिगत विषय मात्रै छन् । पाण्डेका उपन्यास ‘उलार’, ‘लू’, ‘घामकिरी’, ‘सल्लीपिर’ र कथासंग्रह ‘चेकलेट’ रुचाइएका कृति हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु