logo

bar

इतिहासको सम्मान

नयाँ पत्रिका काठमाडौं, ३० पुस | पुष ३०, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो शासनको अन्तिम अवधिमा एउटाचाहिँ राम्रो काम गरेका छन्— ०३६ कात्तिकमा तत्कालीन पञ्चायती सत्ताले हत्या गरेका छिन्ताङका १६ जनालाई सहिद घोषणा गरेर । ३७ वर्षअघि किसान मुक्तिको गीत गाएको भन्दै, किसानका पक्षमा स्थानीय जमिनदारको विरोध गरेको भन्दै १६ जना स्थानीय नागरिकको हत्या तत्कालीन शाही सेना र प्रहरीको संयुक्त कमान्डमा परिचालित सशस्त्र फौजले गरेको थियो । भर्खर स्थापित नेकपा मालेको राजनीतिक प्रभाव विस्तारित हुने क्रममा थियो । पुस्तौँदेखि स्थानीय सामन्तको दमन र उत्पीडनको सिकार भएका किसान संगठित हुँदै आफ्ना अधिकारका पक्षमा संघर्ष गर्न थालेका थिए । श्रमको मूल्य माग्दै, जमिनमाथिको अधिकार माग्दै, बेठ बेगारी र लुटको विरोध अभियानमा लागेका किसान र कतिपय केटाकेटीलाई समेत सेनाले मनपरीसँग समातेर विनामुद्दा ठाउँको ठाउँ हत्या गरेको थियो । एउटा भयानक कोलाहलले भन्ज्याङ, खेतबारी, वनपाखा र गाउँबस्ती उजाडेको थियो ।

जुनसुकै राजनीतिक उद्देश्य र स्वार्थले बहकिएर गरिएको भए पनि छिन्ताङमा मारिएका नेपाली छोराछोरीले न्याय पाएका छन्, इतिहासको सम्मान भएको छ

हत्यापछि यतिका वर्ष बितेर गएका छन् । देशमा कसलाई सहिद मान्ने र नमान्ने भन्दै दन्तबझान भएका छन् । आफ्ना वर्गीय स्वार्थअनुकूल हुँदा सडक दुर्घटनामा परेर मर्नेहरूले पनि सहिदको दर्जा पाएका छन् । स्वार्थ नमिल्दा, खासगरी सनातन राज्य सत्ताका स्वार्थसँग टक्कर खाने विचारका पक्षधरहरू मारिँदा भने तिनले सहिदको सम्मान पाउन निकै कठिन छ । वामपन्थीहरू सरकारमा त पुग्छन्, तर सत्ताको त्यो परम्परा र नियतिमाथि हस्तक्षेप गर्न सक्दैनन् । जसका रगतमा लत्पतिएको रातो झन्डा बोकेर सरकारमा पुगेको हो, उसैलाई सहिद घोषणा गर्न सक्दैनन् । कांग्रेसका तर्फबाट हतियार उठाएका होऊन् या कम्युनिस्टका पक्षबाट, देशमा स्थापित सत्ताविरुद्ध, निरंकुशताविरुद्ध, स्वतन्त्रता, लोकतन्त्र या जनवाद स्थापना र आफ्नो वर्गीय तथा राजनीतिक हित स्थापित गर्न संघर्षमा सामेल भएको आरोपमा मारिएकाजति सबै सहिद हुन् । तिनलाई सहज ढंगले राज्यले सम्मान दिनुपर्छ । जसका बलमा गणतन्त्र आएको हो, उसैलाई सम्मान गर्न नसक्ने कसरी गणतन्त्रवादी, लोकतन्त्रवादी या जनवादी बन्छ ? जुनसुकै राजनीतिक उद्देश्य र स्वार्थले बहकिएर गरिएको भए पनि छिन्ताङका यी नेपाली छोराछोरीले न्याय पाएका छन् । अब सरकारको दायत्व यही बन्छ– तिनलाई सहिद घोषणा गरिसकेपछि तिनको हत्यामा संलग्न जो–जो थिए, तिनले दर्जाअनुसारको सजाय पाउनुपर्छ या तिनलाई दोषी करार गरिनुपर्छ ।

नेपालको राजनीतिक इतिहासको पछिल्लो कालखण्डमा बलिदानको सिलसिला विसं १९९७ सालमा राणाले मृत्युदण्ड दिएका चारजना सहिदबाट आरम्भ भएको थियो । सात साल, अठार साल, उन्तीस साल, एकतीस साल, पैँतीस साल, छत्तीस साल, छयालीस साल र जनयुद्ध तथा मधेस आन्दोलन र बैसट्ठी÷त्रिसठ्ठीको आन्दोलन हुँदै यो सिलसिला अघि बढेको हो । यी सबै बलिदानले नेपाली जनतालाई थप अधिकारसम्पन्न बनाउन योगदान गरेका छन् । सकारात्मक, नकारात्मक र धेरै या थोरै भन्ने विषय आ–आफ्ना राजनीतिक दृष्टिकोणमा भर पर्ने भए पनि यी बलिदान खेर गएका छैनन् । त्यसैले सबै बलिदानको अभिलेख राखिनुपर्छ तथा राज्यले उनीहरूलाई उचित सम्मान दिनुपर्छ । छिन्ताङका सहिदहरूको सम्मान त्यसतर्फ एउटा पाइला बनोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु