logo

bar

केटी जिस्क्याउन आउनेलाई लखेट्थ्यौं

नयाँ पत्रिका काठमाडाैं | पुष २९, २०७४

विजय लामा नेपाल एयरलायन्सका सिनियर क्याप्टेन हुन् । उनको परिचय विमानचालकमा मात्र सीमित छैन । उनको अभिनय, कला, वाक्पटुतामा पनि निकै लोभलाग्दो छ । तिनै लामाको विद्यार्थी जीवन कस्तो रह्यो त ? उनले आफ्नो विद्यार्थी जीवनबारे गज्जबका महेश तिमल्सिनालाई यसरी बताए  :

दार्जिलिङबाट एसएलसीसरहको शिक्षा हासिल गरेँ

मेरो विद्यार्थी जीवनको सुरुवात लगनखेलस्थित एपिएस स्कुलबाट सुरु भएको हो । हाल त्यो स्कुल बानेश्वरमा छ । जहाँ मैले कक्षा ५ सम्म अध्ययन गरेँ । त्यसपछि जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा कक्षा ६ मा भर्ना भएँ ।

त्यहाँ पनि मैले कक्षा ७ सम्म अध्ययन गरेँ । यसरी नेपालमा २ वटा विद्यालयमा अध्ययन गरिसकेपछि दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलमा गएर कक्षा ८ मा अध्ययन गरेँ । त्यहाँबाट मैले आइसिएसई गरेँ । जुन नेपालको एसएलसीसरह हो ।

भारतमा झगडा परेपछि नेपाल फर्किएँ

म सानैदेखि अरूले हेपेको र अन्याय गरेको सहन नसक्ने स्वभावको थिएँ । त्यसैले दार्जिलिङमा बसेर एसएलसीसरहको शिक्षा हासिल गर्नेक्रममा भारतको एउटा सहरमा त्यहाँ दादागिरी गर्नेहरूसँग मेरो झगडा प¥यो ।

मैले उनीहरूलाई धेरै पिटेँ । त्यसपछि म त्यहाँ बस्ने वातावरण भएन । त्यसपछि नेपाल फर्किएँ । भारतमा नै कलेज पढ्ने इच्छा भए तापनि त्यो कारणले गर्दा त्यहाँ बस्ने वातावरण नभएपछि नेपाल आएर ०३८ मा रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भएँ । जहाँ मैले मुख्य विषय अंग्रेजी र राजनीतिशास्त्रको विषयमा अध्ययन गरेँ ।

डाक्टर बन्ने ठूलो रहर थियो

मलाई बायोलोजी अध्ययन गर्न मन थियो । मेरो डाक्टर बन्ने सपना थियो । तर, भारत छाडेर नेपाल आएपछि मानविकी संकायतर्फ अध्ययन गर्न थालेँ । कतिपयले भारतको त्यति राम्रो स्कुलमा पढेको मान्छे किन नेपाल आएर रत्नराज्यमा भर्ना भयो पनि भने, तर मैले त्यस्तो कुनै कुराको वास्ता गरिनँ । आफ्नो पढाइलाई निरन्तरता दिइरहेँ । पढाइमा पनि राम्रो सफलता हात पारेँ । वास्तवमै भन्ने हो भने नेपाल आएर कलेज पढ्नु मेरा लागि रहर र बाध्यता दुवै थियो ।

रवीन्द्र मिश्र मेरो क्लासमेट

यहाँ पढ्दा धेरै साथी चिन्ने मौका पाएँ । त्यो वेला मसँगै अध्ययन गरेका धेरै साथी अहिले नेपालको विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका छन् । तिनैमध्येका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र मेरो ‘क्लासमेट’ हुन् । मैले रवीन्द्रलाई कलेजमै आएर चिनेको थिएँ । ऊ मेरो कलेजको एकदमै मिल्ने साथी हो । यसका साथै, अरू थुप्रै साथी पनि आ–आफ्नो क्षेत्रमा राम्रो गरिरहेका छन् ।

क्याम्पसमा सरसफाइ अभियान चलायौँ

मेरो अर्को साथी चन्द्रमान लामा र मचाहिँ मार्सलआर्ट खेल्थ्यौँ । जसले गर्दा कलेजमा अनुशासित नै भएर बसिन्थ्यो । तर, त्यो वेला म रत्नराज्यमा अध्ययन गर्न आउँदा क्याम्पस निकै फोहोर थियो । त्यसवेला त्यहाँका विद्यार्थीले चुरोट, गाँजा, जाँडरक्सी खाएर क्याम्पस निकै दुर्गन्धित बनाएका थिए । पढाइ पनि राम्रो हुँदैनथ्यो । त्यसपछि मलगायतका केही साथी सरसफाइ अभियानमा लाग्यौँ र क्याम्पसलाई धुम्रपान निषेधित क्षेत्र बनायौँ । कतिपय नमान्ने साथीसँग त झगडा नै पथ्र्यो ।

कलेजमा राजनीति गर्न पाइँदैन भनेर विरोध गथ्र्यौं

रत्नराज्य कलेज त्यो वेला विद्यार्थी राजनीतिको केन्द्रबिन्दुका रूपमा थियो । त्यहाँ राजनीतिकै कारण दिनहुँजसो विद्यार्थी संगठनबीचमा लडाइँ पथ्र्याे । तर, म भने कहिल्यै पनि राजनीतिमा लागिनँ । हाम्रो एउटा समूह थियो ।

त्यो समूहले कलेजमा राजनीति गर्न पाइँदैन भनेर विरोध गथ्र्यो । जसले गर्दा कहिलेकाहीँ विद्यार्थी संगठनका साथीसँग हाम्रो झगडा पथ्र्याे । कलेजमा अध्ययन गर्दा कुनै पनि राजनीतिक दलका भ्रातृ संगठनको झन्डा बोकिएन । स्वतन्त्र रूपमा रहेर विभिन्नखालका समाजसेवामूलक काम गथ्र्याैं ।

केटी जिस्क्याउन आउनेलाई लखेटथ्यौँ

त्यो वेला सरकारी कलेजहरू खुला थिए । जुन अहिले पनि त्यस्तै छ । जसले गर्दा अरू कलेजका विद्यार्थी आएर रत्नराज्यमा दादागिरी देखाउन खोज्थे । त्यस्तै, शंकरदेव, नेपाल ल क्याम्पसबाट केटाहरू आएर रत्नराज्यका केटीहरू जिस्क्याउँथे । हाम्रो समूहले त्यस्ता केटाहरूलाई लखेट्थ्यौँ । त्यसका साथै, कहिलेकाहीँ त उनीहरूकै कलेजमा गएर झगडा पनि ग¥थ्यौँ । हामीलाई पिट्न समूह बनाएर नजिकका कलेजका विद्यार्थी आउँथे ।

कक्षाकोठामा नियमित हुन्थेँ

म सानैदेखि पढाइमा अब्बल थिएँ । जसले गर्दा पढाइमा कहिल्यै असफल हुनु परेन । कलेजमा कतिपय साथीले कक्षा नै छाड्थे । तर, मैले कहिल्यै पनि कक्षा छोडिनँ । हामी त कलेजमा नियमित पढाइ हुनुपर्छ भन्ने पक्षमा थियौँ ।

लङ टेनिस खुब खेल्थेँ

मलाई विद्यार्थी जीवनदेखि नै खेलकुद, गीत, संगीतमा निकै रुचि थियो । जसले गर्दा कलेजमा रहँदा होस् या कलेजबाट घर गइसकेपछि म लङ टेनिस खुब खेल्थेँ । टेनिसको राष्ट्रिय स्तरको खेलाडी पनि हुँ । कलेजमा अध्ययन गर्दै गर्दा कहिलेकाहीँ लङ टेनिसको ट्रेनिङ पनि गराउँथेँ ।

अमेरिकाबाट फर्केपछि स्नातक तह उत्तीर्ण गरेँ

यसरी रत्नराज्यलक्ष्मी क्याम्पसबाट आइए सिध्याएपछि ०४० मा स्नातक तह अध्ययनका लागि त्रिचन्द्र क्याम्पस गएँ । स्नातक तहको अध्ययन गर्दै गर्दा म पाइलटको तालिम लिन अमेरिका गएँ । ४ वर्षपछि अमेरिकाबाट फर्किएँ । त्यसपछि फेरि स्नातक तह अध्ययन सुरु गरेँ । यसरी अमेरिकाबाट फर्केपछि मात्र स्नातक तह उत्तीर्ण गरेँ । यसका साथै आफ्नो करिअर पनि सुरु गरेँ ।

तपाईको प्रतिक्रिया