logo

bar

सहमति नभए पनि प्रदेश प्रमुख तोकिन्छ : प्रधानमन्त्री

नयाँ पत्रिका धनगढी, २९ पुस | पुष २९, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिका लागि दलहरूबीच सहमति गर्ने प्रयासमा सरकार लागिरहेको बताएका छन् । सहमति नभए पनि अब छिटै नियुक्त गर्ने उनले बताए । धनगढी विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सहमति हुने सम्भावना कम भएको बताए ।

‘सहमति होलाजस्तो छैन, म काठमाडौं फर्केपछि पुनः सहमतिको प्रयास गर्छु, भएन भने सरकार आफैँले प्रदेश प्रमुख नियुक्त गर्छ,’ उनले भने, ‘अस्थायी राजधानीका लागि पनि सहमतिको प्रयास भइरहेको छ ।’ प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजे पनि अन्य दलले नमानेको देउवाले बताए ।

धनगढी विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्दै कांग्रेस कार्यकर्ता । तस्बिर : नयाँ पत्रिका

 

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्नेबारे सोच्ने बताए । प्रधानमन्त्रीको राजीनामाबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले आफू राजीनामा दिन तयार रहे पनि राष्ट्रिय सभाको निर्वाचन वर्तमान सरकारले नै गर्नुपर्ने भएकाले समस्या भएको बताए ।

‘सरकार छाड्न तयार छु तर मैले चुनाव नगराई भएको छैन,’ उनले भने । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २५ गते तोकेको छ । एमालेबाहेकका दलहरू मिलेर सरकार बन्न सक्ने सम्भावनाबारेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा जे पनि हुन सक्छ । तर, मलाई केही थाहा छैन ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार हुने दीक्षान्त समारोहमा सहभागी हुनका लागि उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित प्रधानमन्त्री देउवा शुक्रबार नै महेन्द्रनगर गएका छन् ।

तपाईको प्रतिक्रिया