logo

bar

उपत्यकासहित देशैभर चिसो घट्यो

वीरेन्द्र ओली | पुष २९, २०७४

जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाका अनुसार उपत्यकासहित देशैभर चिसो घटेको छ ।

पश्चिमी वायुको न्यून चापीय प्रभाव देखिएकाले चिसो घट्दै गएको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार यसअघि उत्तरदक्षिण वायुको प्रभावले चिसो बढे पनि पछिल्लो समय पश्चिमी वायुले न्यून चापीय प्रभाव पारेपछि चिसो घट्दै गएको उनले बताए ।

‘मौसममा कुनै परिवर्तन नभए आइतबारसम्म तापक्रम घट्दै जान्छ,’ प्रधानाङ्गले भने, ‘आगामी सोमबारदेखि भने केही दिन तापक्रम स्थिर हुने देखिन्छ ।’ गत बुधबारदेखि बिस्तारै ताक्रम बढ्दै गएको थियो । शुक्रबारसम्म आइपुग्दा तापक्रम धेरै घटेको छ । तराई क्षेत्रमा दिउँसो हुस्सु लाग्न कम भएको छ । दिउँसो घाम लाग्न थालेपछि तराईवासीले न्यानो महसुस गर्न थालेका छन् ।

कुन ठाउँमा कति तापक्रम ?
विभागको शुक्रबार साँझ ६ बजेको तथ्यांकअनुसार सबैभन्दा धेरै चिसो जुम्लामा छ । जुम्लामा अधिकतम तापक्रम २२ दशमलव १ डिग्री छ भने न्यूनतम माइनस २ दशमलव ४ डिग्री छ । यस्तै, जिरीमा अधिकतम तापक्रम १५ दशमलव ६ डिग्री, न्यूनतम माइनस १ दशमलव २ डिग्री र ताप्लेजुङमा अधिकतम तापक्रम १७ डिग्री, न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

तराईको विराटनगरमा अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस, न्यूनतम ८ डिग्री, जनकपुरमा अधिकतम १२ दशमलव ६ डिग्री, न्यूनतम ६ दशमलव ६ डिग्री, सिमरामा अधिकतम १६ डिग्री, न्यूनतम ४ दशमलव २ डिग्री, भैरहवामा अधिकतम १५ दशमलव ५ डिग्री, न्यूनतम ६ दशमलव ३ डिग्री, दाङमा अधिकतम २१ दशमलव ८ डिग्री, न्यूनतम ४ दशमलव २ डिग्री, नेपालगन्जमा अधिकतम १८ दशमलव ५ डिग्री, न्यूनतम ७ दशमलव ५ डिग्री र धनगढीको अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस र न्यूनतम ६ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।

उपत्यकामा अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री र न्यूनतम तापक्रम २ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।

तपाईको प्रतिक्रिया