logo

bar

बैतडीलाई बालविवाहमुक्त बनाउन पञ्चवर्षीय योजना

मिलनप्रकाश ढुङ्गाल/नयाँ पत्रिका बैतडी, २९ पुस | पुष २९, २०७४

बालविवाहमुक्त जिल्ला घोषणा गर्न अपनाउनुपर्ने रणनीतिक क्रियाकलापसहितको
योजना तयार

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पञ्चवर्षीय जिल्ला रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र जिल्लालाई बालविवाहमुक्त घोषणा गर्न अपनाउनुपर्ने रणनीतिक क्रियाकलापसहितको योजना तयार पारिएको हो ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडिएसले तयार परेको रणनीतिक योजना शुक्रबार सदरमुकाम गोठलापानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गएको चैतदेखि रणनीतिक योजना बनाउने कार्य सुरु गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । । ‘सरोकारवाला सबैसँग छलफल गरेर १० महिना समय लगाएर रणनीतिक योजना बनाएका छौँ,’ शाहीले भने ।

 

बालविवाह अन्त्यका लागि छलफल गर्दै बैतडीको पाटनका धामीझाँक्री । कुरीति अन्यका लागि जिल्लाभरिका धार्मिक अगुवाहरू अहिले सक्रिय बनेका छन् । तस्बिर : नयाँ पत्रिका

 

के छ रणनीतिक योजनामा ?
बैतडी धेरै बालविवाह हुने जिल्लामध्ये पाँचौँ स्थानमा रहेकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना आवश्यक भएकाले तयार पारिएको उनले बताए । योजनामा बालिका र किशोरीको सशक्तीकरण, बालिका र किशोरीका लागि गुणस्तरीय शिक्षा, बालक, किशोर र पुरुषको सहभागिता, परिवार र समुदायको परिचालन, सेवा प्रवाह र कानुन तथा नीतिको सुदृढीकरण र कार्यान्वयन समेटिएको छ ।

योजनाले पाँच वर्षभित्र बालविवाह अन्त्य हुने लक्ष्य राखेको छ । स्थानीय सरकार र सबै सरोकारवालाहरूलाई बालविवाहविरुद्ध परिचालन गरी यो हानिकारक परम्पराको अन्त्य गर्ने लक्ष्य रहेको नेपाल रेडक्रस सोसाइटी बैतडी शाखाका मन्त्री तेजप्रकाश भट्टले बताए । ‘सबै तह र तप्कालाई खटाई अबको पाँच वर्षभित्र यो हानिकारक कुरीति अन्त्य गरिनेछ,’ उनले भने ।

बालविवाह न्यूनीकरणका लागि बनाइएको रणनीतिक योजना सार्वजनिक गर्दै ओआरडिएसका लोकेशलाल शाहले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए । ‘एक समूह सक्रिय भएर मात्रै यो कुरीति अन्त्य हुनै सक्दैन,’ उनले भने, ‘यसको अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक छ ।’

पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बालविवाह कानुनविरुद्धको कार्य भए पनि अहिले कुनै उजुरी नपरेको बताए । बालविवाह न्यूनीकरणका लागि सदरमुकामकेन्द्रित कोठे कार्यक्रमभन्दा पनि ग्रामीणस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै, महिला विकास अधिकृत अनिता बुढाऐरले बालविवाहले समग्र महिलाको जीवनमा समस्या ल्याउने भएकाले यसको रोकथामका लागि सबै लाग्नुपर्ने बताइन् । ‘बालविवाहले महिलालाई चौतर्फी हिंसामा पारेको छ,’ उनले भनिन्, ‘सबै मिलेर बालविवाह रोक्न सक्यौँ भने समाजमा हुने अधिकांश हिंसा रोकिन्छ ।’

पञ्चवर्षीय रणनीतिक योजना तयार पार्न यसअघि जिल्लाका राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, सञ्चारकर्मी, प्रहरी, धार्मिक अगुवाहरू, शिक्षक, किशोरकिशोरीलगायत सरोकारवालाहरूसँग छुट्टाछुट्टै जिल्लास्तरीय सम्मेलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया