logo

bar

निसानको टेरानो एसयुभी कार आउँदै

अजित अधिकारी/नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

नेपाली बजारमा स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेग्मेन्टको थप अर्को कार प्रवेश हुन लागेको छ । सारडा ग्रुपले निसानको टेरानो कार आइतबार सार्वजनिक गर्न लागेको हो ।

अहिले एसयुभी सेग्मेन्टका कारको बजार सुदृढ बन्दै गएको छ । प्रिमियम ह्याचब्याककै मूल्यमा लक्जरी र सेफ्टी फिचर भएको एसयुभी पाइन थालेपछि उपभोक्ताले प्रयोग बढाएका हुन् । निसानको टेरानो प्रतिस्पर्धी मूल्य ४३ लाखदेखि ५४ लाख रुपैयाँमा उपलब्ध गराउने कम्पनीको रणनीति छ । विश्वका २ सय ८० अवार्ड जितेको यो नै पहिलो कार हो ।

नेपालका लागि अधिकृत आयातकर्ता पायोनियर मोटकर्पोका उप–महाप्रबन्धक ज्ञानेन्द्र चन्दले टेरानोको प्रवेशले निसानको नेपाली बजार हिस्सा विस्तार हुने अपेक्षा लिइएको बताए । भारतमै उत्पादन भएको एसयुभी सेग्मेन्टको कार नेपाली बजारमा निसानले पहिलोपटक ल्याउन लागेको हो।

१ हजार ६ सय सिसीको डिजेल इन्जिनको टेरानो आइतबार नेपाली बजारमा सार्वजनिक हुनेछ । केही समयपछि १ हजार ५ सय सिसीको पेट्रोल इन्जिनयुक्त टेरानो आयात गरी बिक्री सुरु गरिने चन्दले जानकारी दिए ।

‘बजारमा निसानसँग अहिले पनि धेरै मोडल र सेग्मेन्टका कार छन्, जसले बलियो उपस्थिति जनाइरहेका छन्,’ चन्दले भने, ‘यद्यपि भारतमै बनेको एसयुभी कार पहिलोपटक ल्याउन लागेका हौँ । टेरानोले निसानको समग्र बिक्री परिमाण बढाउने अपेक्षा राखेका छौँ ।’ नेपाल आउन लागेको टेरानो आधुनिक प्रविधि युरो ४ मापदण्ड हो, जुन नयाँ संरचनामा निर्माण गरिएको छ ।

माइलेज
डिजेल भर्सनको कारले १९.८७ किलोमिटर प्रतिलिटर र पेट्रोल भर्सनले १३.०४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । ६ स्पिड गियरमा कार दौडाउँदा १९.६१ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । ५ सिटे कारमा २ वटा एयर ब्याग जडान गरिएको छ । बुट स्पेस ४ सय ५ लिटरको भएकाले लामो यात्रामा परिवारसँग निस्कँदा पर्याप्त लगेज राख्न मिल्छ । कारमा क्रुज कन्ट्रोल सुविधा पनि उपलब्ध छ ।

एक्सटेरियर
कार ब्राउन, खैरो, कालो, सिल्भर, रातो र सेतो रङमा उपलब्ध छ । छतमा रुफ टेल्स दिइएको छ, जसले लुक्स प्रिमियम, आकर्षक र झट्ट हेर्दा हेभी बनाउन मद्दत गरेको छ । निसान सिग्नेचरमा फ्रन्ट ग्रिल तयार गरिएको छ, जसले तेस्रो देशको प्रिमियम कारको झल्को दिन्छ । यसमा प्रयोग गरिएको ‘फोर पोड हेडल्याम्पस्’ले अन्यभन्दा चार गुणा बढी प्रकाश वरिपरि र टाढासम्म फाल्छ । साइड ग्लासमा समेत टर्निङ लाइट राखिएको छ । अगाडि र पछाडिको टर्निङ लाइट एलइडी प्रविधिको हो । १६ इन्चको रिममा सुपेरियर र बलियो अलोय ह्विल जडान गरिएको छ । बम्परको एप्रोच एंगल र पछाडिको डिपार्चर एंगल उच्च छ । सोहीकारण कारको तल्लो भाग सुरुकै संरचनामा ठोकिन पाउँदैन र उत्कृष्ट सस्पेन्सनको अनुभव दिलाउँछ । ड्यास बोर्डमा रहेको स्विचबाटै दायाँ र बायाँ रहेका ऐनालाई फोल्ड गर्न मिल्छ ।

इन्फोटेनमेन्ट
कारमा ७ इन्चको नेभिगेसन टच स्क्रिन राखिएको छ । जसमा युएसबी कनेक्सनमार्फत मोबाइलको सबै एप्लिकेसन चलाउन सकिन्छ । म्युजिक सिस्टमलाई स्टेरिङमा रहेको बटनबाटै चलाउन सकिन्छ । ड्यासबोर्ड इन्टेलिजन्स र क्याची छ । स्टेरिङमै राखिएको बटनबाट भ्वाइस कन्ट्रोल सुविधा उपयोग गर्न सकिन्छ । यसका लागि मोबाइललाई ड्यासबोर्डमा रहेको मल्टिमिडिया फंग्सनसँग ब्लुटुथबाट कनेक्सन गर्नुपर्छ । त्यसपछि स्टेरिङमा रहेका बटन थिचेपछि सिस्टमले के गर्न खोजेको हो भनेर सोध्छ । चालकले जसलाई फोन गर्नुपर्ने हो, उसको नाम भनेपछि सिस्टमले आफैँ फोन डायल गरिदिन्छ र चालकले सजिलै कुराकानी गर्न सक्छन् । कारको अगाडिको सिट एड्जस्ट गर्न मिल्छ । ५ वटै सिट लेदरका हुन् । पछाडिको सिटमा कप होल्डर राखिएको छ ।

सुरक्षित फिचर
कारमा अटोम्याटिक ब्रेकिङ सिस्टम (एबिएस) उपलब्ध छ । टेरानोमा थप सुरक्षित यात्राका लागि कम्पनीले इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम (इबिडी) सुविधा पनि दिएको छ । जसले ब्रेकको चापलाई सबै पांग्रामा समान हिसाबले वितरण गरी ब्रेकिङ प्रणालीलाई प्रभावकारी बनाउँछ । ड्राइभिङका लागि उकालो र ओरालो कठिन मानिन्छ । तर, टेरानोमा उकालो–ओरालो यात्रालाई सहज बनाउन ‘हिल स्टार्ट एसिस्ट’ सुविधा छ । जसले उकालो र ओरालोमा कारलाई समान गतिमा दौडाउन मद्दत गर्छ । यो सुविधा उपयोग गर्न चालकले स्टेरिङमा रहेको बटन थिच्नुपर्छ, सिस्टमले कारको गतिलाई आफैँ नियन्त्रण गर्छ ।

कारको टर्निङ रेडियस ५.२ इन्च छ, जुन यो सेग्मेन्टमै कम हो । कम टर्निङ रेडियस भएका कारण घुम्तीमा कारलाई आफ्नै लेनभित्र घुमाउन सकिन्छ र अर्काको लेनसम्म पुगेर टर्निङ गराउने जोखिम मोल्नुपर्दैन । कारको ग्राउन्ड क्लियरेन्स २ सय ५ एमएम छ । यति धेरै ग्राउन्ड क्लियरेन्स भएकै कारण सहरी क्षेत्र मात्र होइन, ग्रामीण, पहाडी र एड्भेन्जर यात्रा गर्न कठिनाइ भोग्नुपर्दैन । ‘अप्टिमम आई भ्यु’ फिचरले चालकलाई अगाडिको सडक राम्रोसँग हेरेर आरामदायी रूपले कार
दौडाउन सघाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु