logo

bar

ग्रामीण स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन

मानदत्त रावल/नयाँ पत्रिका जुम्ला, २९ पुस | पुष २९, २०७४

ग्रामीण भेगका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन भएपछि स्थानीयलाई राहत पुगेको छ । तिला गाउँपालिका–३ स्थित कुडारी स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीय खुसी छन् । सो क्षेत्रका स्थानीय ल्याब सेवाका लागि सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्नुपर्ने बाध्यता अब टरेको छ ।

तिला गाउँपालिका–४ निवासी विमला शाहीलाई पिसाब पोल्ने समस्या छ । गएको एक–दुई हप्तापहिले उनले प्रत्येक महिना सदरमुकाम गएर पिसाब चेक गराउने गरेकी थिइन् । चिसोका कारण रुघखोकी पनि लागेपछि गएको शुक्रबार विमला कुडारी स्वास्थ्य चौकी पुगिन् । स्वास्थ्य चौकीमा रुघाखोकीको औषधि मात्र नभई दिसा पिसाब चेक गर्ने ल्याब सेवा सञ्चालन भएको सुन्दा हर्षित भइन् ।

स्थानीयस्तरकै स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनले सामान्य आयस्तर भएका नागरिकलाई राहत भएको उनको भनाइ छ । रुघाखोकीको उपचार गराउन आएकी उनले पिसाब पनि चेक गराउन पाउँदा निकै खुसी लागेको बताइन् । तिला गाउँपालिका–३ मा रहेको कुडारी स्वास्थ्य चौकीले ल्याब सेवा सञ्चालन गरेसँगै यहाँका स्थानीयले राहत महसुस गरेका छन् ।

त्यस्तै, तिला–३ की देवीकन्या भट्टराईले पनि स्वास्थ्य चौकीमा नै सबै चेकजाँच हुने थाहा पाएपछि त्यहीँ गएर उपचार गराइन् । पहिले सदरमुकाम जान बिहानैदेखि तयार हुनुपर्ने, समयमै नपुगेपछि चेकजाँच नहुने, खर्च महँगो लाग्ने समस्याबाट हिजोआज छुटकारा मिलेको उनको अनुभव छ ।

बिहान १० देखि साँझ ५ बजेसम्म जुनसुकै समयमा गए पनि सहजै स्वास्थ्य चौकीबाट सबैखाले सेवा पाइने स्थानीय कर्ण हमालले बताए । उनले पनि स्वास्थ्य चौकीको ल्याबबाट रगत चेक गरएका छन् । रगतमा समस्या, दिसा, पिसाब, तथा मिर्गौलामा समस्या भएका बिरामीहरू ल्याब सेवाबाट लाभान्वित भएको कुडारी स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार राष्ट्रिय ल्याब सेवा टेकु काठमाडौंको चार लाख र तिला गाउँपालिकाको एक लाख गरी पाँच लाखको लागतमा ल्याब सञ्चालन भएको छ ।

सिंहदरबार गाउँमा पुगेको अनुभूति

स्थानीयलाई ठूलो राहत
३ नम्बर वडामा पर्ने कुडारी स्वास्थ्य चौकीले स्वास्थ्य सेवामा फड्को मारेकोप्रति वडाध्यक्ष रावतले खुसी व्यक्त गरे । अरू सेवा तथा विकास निर्माणबाट नभए पनि ल्याब सेवाले स्थानीयलाई सिंहदरबार गाउँमा आएको अनुभूति भएको उनको बुझाइ छ । सदरमुकाम जाँदा हुने खर्चबाट पनि स्थानीयलाई राहत भएको छ ।

गाउँपालिका अध्यक्ष रतनाथ योगीले केही समयपछि स्वास्थ्य चौकीबाटै विशेषज्ञ सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको बताए । उनले भने, ‘गाउँपालिकाले स्वास्थ्य शिक्षाका क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको स्विकार्दै अब त्यसतर्फ ध्यान केन्द्रित हुनेछ । स्थानीयमा आफ्नै गाउँठाउँमा ल्याब सेवा सञ्चालनले निकै उत्साह छाएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु