logo

bar

सदरमुकाममै अवैध स–मिल सञ्चालन

जीवनाथ दाहाल/नयाँ पत्रिका उदयपुर, २९ पुस | पुष २९, २०७४

वन उपभोक्ता समूहका अध्यक्ष नै दोषी

जिल्ला सदरमुकाम गाईघाटमा अवैध रुपमा स–मिल सञ्चालनमा छन् । स–मिल वन क्षेत्रबाट कम्तीमा तीन किलोमिटर टाढा रहनुपर्ने भए पनि त्रियुगा नगरपालिका–६ स्थित लालपत्ता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द राउतले वन क्षेत्रमै मिल सञ्चालन गरेको पाइएको छ । उक्त मिलबाट ठूलो परिणाममा अवैध काठ बरामद भएपछि यस्तो रहस्य खुलेको हो ।

राउतले सञ्चालन गरेको शिवम् स–मिलबाट स्रोत नखुलेको करिब दुई सय क्युफिट सिसौ जातको काठ फेला परेको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ । बरामद गरिएको काठको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले बताए । ‘अवैध काठ रहेको सूचना प्राप्त हुनासाथ सहायक वन अधिकृत शत्रुधन ठाकुरलाई अनुसन्धान अधिकृत तोकेर छानबिन सुरु गरेका छौँ,’ उनले भने ।

मिलको इजाजतसमेत खारेज गरिने भण्डारीले बताए । उनका अनुसार इजाजतपत्रको अनुसन्धान गरी वास्तविकता बुझेर थप कारबाही अगाडि बढाइनेछ । लालपत्तास्थित प्रहरी चौकीको तीन सय मिटरको दूरीमा नै लामो समयदेखि अवैध स–मिल सञ्चालन हुँदासमेत सम्बन्धित पक्ष मौन रहेको स्थानीयको भनाइ छ ।

मिल सञ्चालनका लागि राउतले कसरी इजाजत प्राप्त गरे भन्ने अझै अन्योल रहेको भण्डारीले बताए । लामो समयदेखि अवैध रूपमा सञ्चालनमा रहेको मिलबाट नियमित रूपमा सिरहा, सप्तरीलगायतका अन्य जिल्लामा काठ निर्यात हुने गरेको थियो । स्थानीयले पटक–पटक मिलबाट अवैध रूपमा काठ बिक्री वितरण गरेको भन्दै जिल्ला वन कार्यालयमा गुनासो गरे पनि बेवास्ता गरेको बताएका छन् । अवैध स–मिल दुई वर्षअघिदेखि सञ्चालनमा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु