logo

bar

गाडी गुड्ने भएपछि खुसीले स्थानीय गद्गद्

उपेन्द्र खनाल/नयाँ पत्रिका तनहुँ, २९ पुस | पुष २९, २०७४

तनहुँको सदरमुकामनजिकै रहेको रिसिङ गाउँपालिकाका ग्रामीण भेगका बासिन्दा सवारीसाधन सहज उपलब्ध नहुँदा कठिनाइ भोगिरहेका छन् । गाडी गुड्ने पुल नहुँदा झोलुंगे पुलबाट खाद्यान्नलगायतका सामग्री बोकेर लैजानुपर्ने बाध्यता छ । मादी नदीमाथि व्यास–१४ र रिसिङ–३ जोड्ने पुल निर्माण हुने भएपछि ठूलो राहत मिल्ने भएको हो ।

मादी नदीमाथिको व्यास नगरपालिका–१४ र रिसिङ गाउँपालिका–३ जोड्ने पुलको निर्माणकार्य धामाधम भइरहेको छ । पुल नहुँदा पैदलयात्रा गरेर हिँड्न बाध्य ग्रामीण भेगका स्थानीयलाई पुलले यातायात आवागमनमा सहज हुने भएको छ । तनहुँको दक्षिणी भेगमा पुल निर्माणसँगै विकासले गति लिने स्थानीयले विश्वास गरेका छन् ।

सेती नदीमा पुल नबन्दा तनहुँको दक्षिणी भेगका स्थानीयलाई सडक सञ्जालमार्फत गाउँमा पुग्न असुविधा भएको हो । उक्त क्षेत्रमा पुल निर्माणसँगै रिसिङ, दुबुङ, गोमानताल, गुम्लेक र ग्वास्लुङको तल्लो भागका बासिन्दा लाभान्वित हुने रिसिङ गाउँपालिकाका स्थानीय समाजसेवी नन्दु थापाले बताए । उनले भने, ‘विशेष गरेर रिसिङ, देवघाटको वैदी, नरमलगायतका क्षेत्रका स्थानीयले पुलबाट लाभ लिनेछन् ।’

रिसिङ गाउँपालिका जोड्ने निर्माणाधीन पुल । तस्बिर : उपेन्द्र खनाल/नयाँ पत्रिका

रिसिङ गाउँपालिका जान सेती नदीमा झोलुंगे पुल प्रशस्तै भए पनि मोटरेबल पुलको अभावमा गाउँपालिकाका विभिन्न वडामा यातायात सहज रूपमा पुर्‍याउन सकिएको छैन । पुल नबन्दा यस क्षेत्र विकासमा पछाडि परेको निष्कर्ष निकाल्दै ‘आरसिसी तीन स्पान’ डिजाइनको पुल निर्माण गर्न लागिएको हो ।

हालसम्म सेती नदीमा पुल नबन्दा रिसिङ गाउँपालिकाका स्थानीय हिँडेर सदरमुकाम दमौली आवातजावत गर्न बाध्य बनेका छन् । पुल निर्माणले ग्रामीण भेगका स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । देवघाटको कोटा, वैदीलगायत नवलपरासीको उत्तरी क्षेत्रका बासिन्दासमेत पुल निर्माणबाट लाभान्वित हुनेछन् ।

उक्त पुल ९ करोड ५१ लाखको लागतमा निर्माण हुन लागेको हो । पुलको फाउन्डेसन अर्थात् जगको काम सम्पन्न भएको र बीचमा गाडी हिँड्ने स्थानका काम सकिएको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी कर्णसिंह खत्रीले जानकारी दिए । ‘पुलको निर्माणकार्य धमाधम भएको छ, आउँदो असारमा काम सकिन्छ,’ उनले भने, ‘पुल निर्माणपश्चात् तनहुँको दक्षिणी क्षेत्रमा विकासको पूर्वाधार लम्कन सहज हुन्छ ।’

उक्त मोटरेबल पुल ०७१ मा सुरु भएर ०७५ असार मसान्तसम्ममा निर्माण सपन्न हुने पश्चिमाञ्चल सडक डिभिजन कार्यालयले जनाएको छ । पुल निर्माणको जिम्मा चितवनको एड्भेन्चर कन्स्ट्रक्सनले लिएको छ ।

 

 

तपाईको प्रतिक्रिया