logo

bar

कर्मचारी र जनप्रतिनिधिकै छैन स्वास्थ्य बिमा

मिलनप्रकाश ढुङ्गाल/नयाँ पत्रिका बैतडी, २९ पुस | पुष २९, २०७४

बैतडीका अधिकांश जनप्रतिनिधि र सरकारी कर्मचारीले स्वास्थ्य बिमा गराएका छैनन् । जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको एक वर्ष पुगिसक्दा पनि निजामती कर्मचारी र जनप्रतिनिधिले बिमा नगराएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जिल्ला प्रबन्धक जनक साउदले बताए ।

हालसम्म बैतडीमा सात सय चार परिवारका तीन हजार चार सय ४० जनाले स्वास्थ्य बिमा गराएका छन् । अन्य जिल्लाको तुलनामा बैतडीवासीले बिमाप्रति रुचि नदेखाएको साउदले बताए । ‘शिक्षित व्यक्तिले समेत बिमा नगराउँदा नकारात्मक असर प¥यो कि जस्तो लाग्यो,’ जिल्ला प्रबन्धक साउदले भने ।

सरकारी कर्मचारीले अनिवार्य रूपमा बिमा गराउनुपर्ने प्रवधान स्वास्थ्य बिमा विधेयक ०७३ मा उल्लेख छ । तर, ऐन नबन्दा त्यो प्रावधान कार्यान्वयनमा आउन सकेको छैन । ‘सरकारले सञ्चालन गरेको कार्यक्रमलाई गति दिन सरकारी कर्मचारी र जनप्रतिनिधिले सकारात्मक भूमिका खेल्नुपर्ने हो । तर, उनीहरूले नै बिमा गराएको देखिँदैन,’ साउदले भने ।

जनप्रतिनिधिलाई अभिमुखीकरण
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत जनप्रतिनिधिलाई स्वास्थ्य बिमाबारे अभिमुखीकरण दिइरहेको छ । जनप्रतिनिधिमार्फत नगरपालिका, गाउँपालिका र वडाका हरेक नागरिकलाई बिमा गराउन अभिप्रेरित गराउने उद्देश्यले अभिमुखीकरण तालिम दिन लागिएको समितिले जनाएको छ ।

‘बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अभिमुखीकरण तालिम दिन लागिएको हो,’ जिल्ला प्रबन्धक जनक साउदले भने, ‘यसले जनप्रतिनिधिलाई पनि स्वास्थ्य बिमा कार्यक्रमप्रति जिम्मेवार बनाउने विश्वास लिएका छौँ ।’

समितिले अहिलेसम्म जिल्लाका पुरचौडी र दशरथचन्द नगरपालिकाका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिएको छ । क्रमिक रूपमा सबै स्थानीय तहमा अभिमुखीकरण गरिने जनाइएको छ । अभिमुखीकरणपछि जनप्रतिनिधिले सरकारी कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने बताएका छन् ।

‘स्वास्थ्य बिमाबारे नागरिकलाई सचेत बनाउन नगरपालिकाले पनि कुनै न कुनै रूपमा भूमिका खेल्छ,’ दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले भने ।

२२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम
नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारलाई सरल तथा सहज बनाउन गत वर्षको १ पुसदेखि बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको थियो । बैतडीसहित देशभरका २२ जिल्लामा यो कार्यक्रम सञ्चालनमा आएको छ ।

५ जनाको परिवारले दुई हजार पाँच सय वार्षिक बिमा गरे प्रतिव्यक्ति ५० हजारसम्मको उपचार निःशुल्क रूपमा पाउने व्यवस्था छ । यदि ५ सदस्यभन्दा बढीको परिवार संख्या भए चार सय २५ का दरले थप रकम तिर्नुपर्ने र प्रतिव्यक्ति १० हजारसम्मको उपचार खर्च दिने गरिएको स्वास्थ्य बिमा समितिका दर्ता अधिकारी विष्णु जोशीले बताए ।

आर्थिक अभावले उपचार गराउन नसक्नेका लागि स्वास्थ्य बिमाले निकै सहज भएको बिमित सदस्यहरूको भनाइ छ । ‘पत्नीको उपचारका लागि मसँग पैसा थिएन, स्वास्थ्य बिमा गराएपछि श्रीमतीको उपचार गरेँ,’ पुचौँडी नगरपालिका–५ का धनबहादुर धानुकले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु