logo

bar

एक सातादेखि तिलौराकोट दरबार क्षेत्र पुनः उत्खनन

डिलाराम भुसाल/नयाँ पत्रिका कपिलवस्तु, २९ पुस | पुष २९, २०७४

प्राचीन तिलौराकोट दरबार क्षेत्रमा पुनः उत्खनन सुरु भएको छ । विश्व सम्पदा सूचीका लागि प्रस्तावित भएसँगै तिलौराकोट दरबार क्षेत्र उत्खननले प्राथमिकता पाएको हो । दरबार क्षेत्रको जियो फिजिक्स सर्भेपश्चात् विभिन्न तीन स्थानमा अन्वेषण तथा उत्खनन सुरु गरिएको हो ।

बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले गत शनिबारदेखि उत्खनन सुरु गरेको छ । अत्याधुनिक प्रविधि प्रयोग गरी पुरातात्विक मूल्य–मान्यताअनुसार उत्खनन थालेको पुरातत्वविद्ले बताएका छन् ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले उत्खनन नभएका तीन स्थानमा छुट्टाछुट्टै ट्रेन्च बनाई उत्खनन गर्न थालेको बताए । उत्खनन १३ फेबु्रअरीसम्म चल्ने उनको भनाइ छ । उत्खनन टोलीले तिलौराकोट र त्यसवरपरका क्षेत्रमा चार चरणमा सफलताका साथ उत्खनन कार्य गरिसकेको छ ।

यस वर्ष तिलौराकोट दरबारको केन्द्रीय भाग, पूर्वी गेट, उत्तरी भागका केही क्षेत्र तथा समयमाई मन्दिरको किनारमा उत्खनन, अन्वेषण र योजना निर्माण गरिने पुरातत्वविद् कृष्ण केसीले बताए । अबको उत्खननबाट प्राप्त प्रमाणले तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन थप मद्दत पुग्ने उनको भनाइ छ ।

यसअघि, तिलौराकोट दरबारभित्र मध्यभाग, पोखरीको दक्षिणतर्फ उत्खनन भइसकेको छ । यस्तै, अघिल्लो वर्ष निग्रोधाम (कुदान)मा उत्खनन गरिएको थियो । यसपटक पनि निकै सूक्ष्म तरिकाले अध्ययन, अन्वेषण गर्ने केसीले बताए । ‘सूक्ष्म उत्खनन, अन्वेषण, भू–भौतिक सर्भे, फिल्ड वाकिङ र भिजिटर सर्भे गरिनेछ,’ उनले भने ।

वाणगंगापारि चेत्रादेई, सगरहवा, कर्मा, अरौराकोट, गोहिटावा, निग्हिवा, सिसहनियामा यसपटक जियो फिजिक्स सर्भे गरिनेछ ।

६ वर्षदेखि उत्खनन
पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् ०१२ देखि तिलौराकोट दरबार क्षेत्रको उत्खनन र अनुसन्धान थालेको थियो । यसअघि, जापनिज फन्ड इन ट्रस्टको सहयोगमा लगातार ४ वर्षदेखि उत्खनन गरिएको थियो । यस वर्ष जापनिज नागरिक कासाईको आर्थिक सहयोगमा उत्खनन थालिएको छ ।

अहिलेसम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको पुरात्वविद् तथा उत्खनन परियोजना सहसंयोजक कोषप्रसाद आचार्यले बताए । तिलौराकोटभित्र र बाहिर गरिएको वैज्ञानिक अध्ययनबाट निकै उपलब्धि मिलेको उनले बताए ।

‘उत्खननबाट फेला परेका प्राचीन सामग्री तथा भग्नावशेषले यसको ऐतिहासिक प्रामाणिकताको क्रमशः पुष्टि हुँदै गएको छ,’ उनले भने । तिलौराकोटमा बुद्धकालीन सयमभन्दा अघि एउटा सुन्दर सहर रहेका प्रमाण धमाधम फेला पर्नुलाई राम्रो संकेत मानिएको उनको भनाइ छ ।

सन् १९६२ मा भारतीय पुरातत्वविद् देबला मित्राले तिलौराकोटमा उत्खनन गरी दोस्रो शताब्दीको सहर भएको प्रतिवेदनमा उल्लेख गरेका थिए । उनले नै उत्खनन गरेका स्थानको थप उत्खनन गरी अध्ययन गरिएपछि सातौँ शताब्दीका प्राचीन खाबाहरू भेटिएका थिए ।

तीन वर्षको उत्खननबाट तिलौराकोट प्राचीन सहर रहेको पुष्टि भएको थियो । उत्खननका क्रममा प्राचीन सुरक्षा पर्खाल, पोखरी, हतियार बनाउने उद्योग, बाटाहरूको भग्नावशेष, मौर्यकालीन चाँदीका सिक्कालगायत वस्तु फेला परेका छन् ।

उत्खननको क्रममा रहेको तिलौराकोट दरबार क्षेत्र अहिलेको उत्खननपछि प्राचीन सहरको झझल्को दिने गरी परिवर्तित हुने वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यको भनाइ छ । ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको छ । यसका लागि आवश्यक प्रमाण र कागजात जुटाउने कामसमेत गर्छौं,’ आचार्यले भने ।

२० जनाको टोली उत्खननमा
उत्खनन टोलीमा दुरह्याम विश्वविद्यालयका १२, पुरातत्वविद् दुई, पुरातत्व विभागका पाँच र लुम्बिनी विकास कोषका पाँच गरी २० जना छन् । तिलौराकोटस्थित प्राचीन कपिलवस्तु दरबार राजा शुद्धोधनको राजप्रासाद तथा भगवान् गौतमबुद्धले २९ वर्षको युवावस्था बिताएको क्षेत्र हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु