logo

bar

साढे तीन महिनापछि अदालत स्थापना

मनीष खड्का/नयाँ पत्रिका रुकुम(पूर्व), २९ पुस | पुष २९, २०७४

जिल्ला स्थापनाको साढे तीन महिनापछि रुकुम(पूर्व)मा जिल्ला अदालत र जिल्ला जनस्वास्थ्य कार्यालय स्थापना भएका छन् । १९ असोजदेखि नयाँ जिल्लाका रूपमा काम सुरु भएको रुकुम(पूर्व)मा शुक्रबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले जिल्ला अदालत र प्रतिनिधिसभा सदस्य कमला रोकाले जिल्ला जनस्वास्थ्य कार्यालयको उद्घाटन गरेका हुन् ।

सदरमुकाम सिस्ने गाउँपालिका–५ रुकुमकोटको चोकबजारमा अदालत र जनस्वास्थ्य कार्यालयको स्थापना भएको हो । अदालत भाडाको घरमा राखिएको छ भने जिल्ला जनस्वास्थ्य कार्यालय स्वास्थ्य चौकी भवनमा राखिएको छ ।

१९ असोजदेखि रुकुम(पूर्व) नयाँ जिल्लाका रूपमा काम सुरु भए पनि दरबन्दी स्वीकृत नहुँदा कार्यालय स्थापनामा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । मन्त्रालय तथा विभागबाट दरबन्दी स्वीकृत हुन धेरै समय लागेको र आवश्यक भौतिक व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय लागेको उनको भनाइ छ ।

‘रुकुम (पूर्व)ले नयाँ जिल्लाको मान्यता पाए पनि आवश्यक दरबन्दी पाउन ठूलो संघर्ष गर्नुप¥यो,’ उनले भने, ‘मन्त्रालय तथा विभागमा धाउँदा–धाउँदा केही ढिला भयो ।’ अझै जिल्ला कारागार, जिल्ला हुलाकलगायत कार्यालय स्थापना हुन बाँकी रहेको उनको भनाइ छ । त्यस्तै विषयगत कार्यालय नहुँदा सेवा प्रवाहमा निकै समस्या रहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

जिल्ला अदालत उद्घाटनका क्रममा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले संविधान र कानुनको दायरामा रहेर न्याय सम्पादन गर्न निर्देशन दिएका छन् । निष्पक्ष रूपमा न्याय सम्पादन गरेर अदालतप्रति नागरिकको विश्वास बढाउन उनको आग्रह छ ।

जिल्ला अदालत र जिल्ला जनस्वास्थ्य कार्यालय स्थापनापछि अब रुकुम पूर्वका नागरिकलाई अदालत र जनस्वास्थ्य कार्यालयबाट हुने कामका लागि रुकुम(पश्चिम)मा आउनुपर्ने बाध्यता हटेको छ । क्रमशः सबै कार्यालय स्थापना भई आफ्नै जिल्लामा सेवा पाउन थालेपछि रुकुम(पूर्व)का नागरिक हर्षित भएका छन् ।

जिल्ला अदालत रुकुम(पूर्व)को उद्घाटन गर्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली ।
तस्बिर : नयाँ पत्रिका

तपाईको प्रतिक्रिया