logo

bar

किन पर्छ चाया ?

नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

मानिसको तालुको छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । यसरी तालुमा छाला मर्ने र नयाँ पैदा हुने क्रम जारी रहँदा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ । टाउकोमा अत्यधिक चाया पर्दा अरूका अगाडि लाजमर्दो स्थिति पैदा हुने, आत्मविश्वास गुम्ने र आत्मबल पनि कमजोर हुने अवस्था आउने हुन्छ । त्यसैले, चायालाई सही रूपमा व्यवस्थापन गर्नु राम्रो हुन्छ :

डा. सबिना भट्टराई
केएमसी, सिनामंगल

चाया पर्ने कारण
चाया पर्नुको सही कारण अहिलेसम्म पत्ता लागेको छैन । तर, हाम्रो तालुमा पिटिरोस्पोरम ओभली नामक फंगसको मात्रामा वृद्धि भयो भने चाया पर्छ भन्ने सवालमा छालासम्बन्धी धेरै विशेषज्ञ सहमत छन् । यसबाहेक चाया पर्ने केही कारण खुलाइएका छन् । हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, नुहाउन अल्छी गर्नु र अस्वस्थ शरीर, टाउकोमा धेरै पसिना आउने समस्या, अस्वस्थ खानपानलगायत चाया पर्ने कारण हुन् । यसैगरी, कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग, चिसो मौसम तथा घरभित्र तातो बनाउन पारिएको सुक्खा वातावरण, मानिसमा उत्पन्न भएको लामो समयदेखिको तनाव, थकान र चिन्ता, शरीरमा आउने एलर्जी वा हाइपरसेन्सिटिभिटीले पनि चाया निम्त्याउँछ ।

कसलाई बढी सताउँछ ?
चाया जुनसुकै उमेरमा पनि पर्न सक्छ । तर, यो विशेषगरी १२ देखि २० वर्षको उमेरमा बढी देखा पर्छ । सामान्यतः जाडो मौसममा यसले बढी सताउँछ । चिल्लो कपाल र चिल्लो तालुमा चाया बढी पर्छ । मानिसको तालु र कपालबाट धेरै तेल वा चिल्लो पदार्थ उत्पादन भयो भने चाया पर्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मानिसमा देखिने केही रोगका कारण पनि चाया पर्ने गरेको पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा बढी चाया पर्ने गर्छ । यसका लागि केटोकोनाजोल प्रयोग गर्न सकिन्छ ।

चिकित्सकलाई देखाउने अवस्था
चायाका कारण तालु नै रातो भयो, चिलाउन थाल्यो, त्यहाँबाट रगत आयो वा पोल्न पनि थाल्यो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने, यस्तो समस्या अनुहारसम्म सर्न पनि सक्छ । यदि तालुको केही भागको छाला खुइलिन थाल्यो, कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ ।

छालाको स्याहार गर्ने तरिका
चायालाई पूरै निर्मूल पार्न सकिँदैन, तर यसको असरलाई निश्चित रूपमा कम गर्न भने अवश्य सकिन्छ । त्यसका लागि तनाव कम गर्दै लैजाने प्रयास गर्नुपर्छ । नियमित रूपमा कपाल स्याम्पुले धुनुपर्छ । कपाल सज्जा गर्ने विभिन्न किसिमका रसायनयुक्त साधन प्रयोग नगर्नु राम्रो हुन्छ । स्वस्थ खानेकुरा सेवन गर्ने, विशेष गरेर जंकफुड नखाने, चर्को घामबाट बच्ने र हिँड्नै परे पनि छाताको सहारा लिने गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु