logo

bar

दिनेशले बनाए राष्ट्रिय रेकर्ड

नयाँ पत्रिका कास्की | पुष २९, २०७४

१९ वर्ष पुरानो राष्ट्रिय रेकर्ड तोड्दै नेपाली सेनाका दिनेश श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत २३औँ पुरुष राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको १०५ केजी तौल–समूहमा स्नाचतर्फ १९ वर्षअघिको कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । रेकर्डसँगै श्रेष्ठले स्वर्ण जितेका छन् ।

आठौँ साफ सन् १९९९ मा मदन शिवभक्तिले १०५ केजी तौलमा राखेको कीर्तिमान नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिपमा तोडे

१२१ केजी उचाल्दै कीर्तिमान
श्रेष्ठले शुक्रबार अन्तिम दिन १२१ केजी भार उचाल्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । यसअघि, मदन शिवभक्तिले १९ वर्षअघि १०५ केजी तौल–समूहमा १२० केजीको कीर्तिमान कायम गरेका थिए । शिवभक्तिले सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रेडर्क बनाएका थिए । स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले सय केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कांस्य हात पारे ।

कमल र तारादेवी स्ट्रङगेस्टम्यान
च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाका कमलबहादुर अधिकारी र महिलामा नेपाल प्रहरीकी तारादेवी पुन स्ट्रङगेस्ट खेलाडी बनेका छन् । उत्कृष्ट लिफ्टर खेलाडीमा नेपाली सेनाकी सञ्जु चौधरी रहिन् । विजयी खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसैगरी, राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीले पनि पाँच हजार रुपैयाँ पाए । प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान बनेका छन् । तीनदिने प्रतियोगितामा तीन विभागीय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीको सहभागिता थियो ।

श्रेष्ठ क्लिन एन्ड जर्कमा पनि अगाडि
राष्ट्रिय कीर्तिमान बनाएका श्रेष्ठ प्रतियोगिताअन्तर्गत क्लिन एन्ड जर्क र कुलमा पनि स्वर्ण जित्न सफल भए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार वहन गर्दै स्वर्ण जिते । नेपाल प्रहरीका गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कांस्य हात पारे ।

च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजीमाथि तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरेका छन् । उनले स्नाचमा सातौँ राष्ट्रिय खेलकुदमा राखेको १२४ केजीमा सुधार गर्दै १२५ केजी भार वहन गरे । पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी उचालेका थिए ।

तपाईको प्रतिक्रिया