logo

bar

एजुकेसन कर्नर : इस्लिङ्टन कलेजमा रोजगारसहित एमबिए

नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

कमलपोखरीस्थित इस्लिङ्टन कलेजले अनुसन्धान रोजगारसहितको एमबिए कार्यक्रम सुरु गरेको छ । कलेजले चीन र थाइल्यान्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्थासहित दुईवर्षे एमबिए कोर्स सुरु गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कलेजले युकेको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको सम्बन्धनमा यसै शैक्षिक सत्रदेखि एमबिए कार्यक्रम सुरु गरेको हो । यो कोर्स अध्ययनपछि नेपाललगायत विश्वका कुनै पनि मुलुकमा व्यवसाय, अध्ययन तथा अनुसन्धान गर्न सहयोग हुने कलेजका अध्यक्ष तथा सिइओ सुलभ बुढाथोकीको दाबी छ ।

अनुसन्धानमा आधारित दुईवर्षीय कोर्सअन्तर्गत नेपालबाट विदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामग्रीको विषयमा सूक्ष्म अध्ययन गर्ने यो कोर्सको विशेषता हो । व्यापारसँग सूक्ष्म अध्ययन गर्ने उद्देश्यसहित नयाँ विषयको सिइओ बुढाथोकीले जानकारी दिए । उनका अनुसार नेपालको बैंकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी व्यवसाय सञ्चालन गर्न सहजता हुने उनको भनाइ छ ।

देश र विदेशको सम्पूर्ण व्यावसायिक विषयको अध्ययन तथा अनुसन्धान गर्न सुरु गरिएको एमबिए कार्यक्रम नेपालमा पहिलो भएको कलेजको दाबी छ । म्यानेजेरियल लेभलमा दुई वर्ष रोजगारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यो विषयका लागि विश्वप्रसिद्ध चीनको अलिबाबा डटकम र युनिभर्सिटी अफ द थाइल्यान्ड चेम्बर अफ कमर्ससँग सहकार्य गरिएको छ । नेपाल र विश्वको आयात र निर्यातको अवस्था, नेपालको अन्य मुलुकसँग बजार विस्तार सम्भावनालगायत अनुसन्धानात्मक विषय सिक्ने चाहना यो कोर्सले पूरा गर्छ । चाइनामा अध्ययन सम्पन्न गरेपछि दुई साता थाइल्यान्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था यो कोर्समा छ । व्यापारमा फड्को मारिसकेको थाइल्यान्डको चेम्बरसँग विश्वकै व्यापारको विषयमा अध्ययन गर्ने अवसर मिल्नेछ । एकेडेमिक पेपर, बिजनेस प्रपोजल, थेसिस बुझाउनुपर्दा अनुसन्धानात्मक विषयलाई केन्द्रित गरिएको हुन्छ ।

दुईवर्षीय कोर्स पूरा गरिसकेपछि नेपालमै रोजगारी सिर्जना गर्ने कि विदेश जाने भन्ने विषय छनोट गर्ने अधिकार विद्यार्थीलाई नै हुन्छ । अनुसन्धानमा आधारित विषय भएकाले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्सको अध्ययन गर्ने अवसर पाउनेछन् । यो कोर्स अध्ययन गर्न पाँच लाख ५० हजार र चीन तथा थाइल्यान्डमा अतिरिक्त कोर्स अध्ययन गर्न करिब आठ लाख ५० हजार रुपैयाँ लाग्ने कलेजले जनाएको छ ।

२२ वर्षअघिदेखि नेपालमै बेलायती शिक्षाको अध्ययन गर्ने अवसर इस्लिङ्टन कलेजले दिएको छ । सन् १९९६ मा इन्फोमेटिक्स अनि सन् २०१० मा इस्लिङ्टन कलेजको नामबाट सञ्चालित कलेजले सूचना प्रविधि र व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको अध्यापन गराइरहेको छ ।

तपाईको प्रतिक्रिया