logo

bar

‘केन्द्रबाटै उम्मेदवार छान्दा पार्टी पराजित भयो’

नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

कांग्रेसका २१ जिल्लाका सभापतिले आफूहरूको भूमिका खोसेर उम्मेदवारमा मनोमानी गर्दा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको निष्कर्ष निकालेका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा दुई दिनसम्म चलेकोे कांग्रेस जिल्ला सभापतिहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।

भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै गुटका जिल्ला सभापतिको उपस्थिति थियो । दुवै गुटका जिल्ला सभापतिहरूले पार्टी नेतृत्वले भूमिका खोस्दा पार्टीले अपेक्षित परिणाम निकाल्न नसकेको निष्कर्ष निकालेका हुन् । पार्टीले हार बेहोरको विषयमा उनीहरूले छिट्टै जिल्ला सभापतिको भेला र महासमितिको बैठक डाक्न पनि माग गरेका छन् ।

 

‘यस अघिका निर्वाचनमा जिल्लालाई नै उम्मेदवार छान्ने भूमिका दिने गरिए पनि यसपटक दिइएन । प्रदेश सभा र प्रतिनिधिसभामा पनि केन्द्रले नै उम्मेदवार तोक्दा जित्ने उम्मेदवार छानिएनन्,’ कांग्रेसका सिन्धुपाल्चोक सभापति विकास लामाले भने, ‘जिल्ला सभापतिहरूको अधिकार खोस्दा पनि पार्टीले हारेको छ । यसको समीक्षा गर्नका लागि छिटो जिल्ला सभापतिको भेला बोलाउन र महासमितिको बैठक बोलाउन माग गरेका छौँ ।’

सकेसम्म राष्ट्रिय सभाको निर्वाचन अघि र सम्भव नभए निर्वाचनलगत्तै जिल्ला सभापतिको भेला डाक्नका लागि नेतृत्वसँग माग गरिएको धादिङ जिल्ला सभापति रमेश धमलाले बताए । विधानले १४ सदस्यीय संसदीय बोर्ड गठन गर्ने भने पनि विधान मिच्दै सदस्य थपिएको, कार्यसम्पादन समितिमा सदस्य बढाइएको भन्दै सभापतिहरूले असन्तुष्टि जनाएका थिए ।

सबै जिल्ला सभापतिको भेला गर्ने तयारी
जिल्ला सभापतिहरूले सबै जिल्लाका सभापतिको भेला बोलाउने गरी थप छलफल गर्ने भएका छन् । कांग्रेस काभ्रेका सभापति मधु आचार्यका अनुसार भेला बोलाउने विषयमा छलफल गर्न ४ माघमा उपलब्ध जिल्ला सभापतिबीच छलफल राखिएको छ । सो छलफलले जिल्ला सभापतिहरूको भेला बोलाउने विषयमा पार्टी नेतृत्वलाई दबाब दिने जानकारी आचार्यले दिए ।

भेलामा सहभागी कांग्रेस सभापति
भेलाको संयोजक बर्दिया सभापति सञ्जय गौतमले गरेका थिए । भेलामा सिन्धुपाल्चोक सभापति विकास लामा, मुगुका खड्गबहादुर शाही, जुम्लाका दीपबहादुर शाही, रुपन्देहीका अब्दुल रज्जाक, भक्तपुरका दुर्लभ थापा, मनाङका टेकबहादुर गुरुङ, जाजरकोटका दीपकजंग शाह, दोलखाका रुद्रबहादुर खड्का, रामेछापका लवश्री न्यौपाने, कास्कीका कृष्ण केसी, सिन्धुलीका उज्ज्वलप्रसाद बराल, पाँचथरका नरेन्द्र केरुङ, गोरखाका हरिबहादुर घले सहभागी थिए ।

त्यस्तै, हुम्लाका जयपति रोकाय, धादिङका रमेश धमला, संखुवासभाका दीपनकुमार श्रेष्ठ, रुकुमका प्रेमप्रकाश वली, ताप्लेजुङका लिला बोखिम, खोटाङका नरेशकुमार श्रेष्ठ र बाजुराका कविराज पण्डित पनि भेलामा सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु