logo

bar

मलाई उमाजस्तै छोरी देऊ

सञ्जीव मण्डल/नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

संस्मरण –

घटना बिर्सिसकेको थिएँ । तर, आज (बिहीबार) बिहान करिब ८ः३० बजे मित्र ध्रुव झाजीको फेसबुक स्टाटसले सम्झाइदियो । आजकै दिन जनकपुर कार्यक्षेत्र बनाएकी मिथिलाञ्चलकै होनहार पत्रकार उमा सिंहको हत्या भएको थियो ।

स्मृतिमा अनेक कुरा खेल्न थाले । उमा सिंहसँग रेडियो टुडे (जनकपुरबाट प्रसारण हुने एफएम रेडियो) मा बिताएका पल सम्झनामा आए । उमालाई हाम्रो बीचबाट चुँडेर लगेको त्यो दिनका हरेक घटना फ्ल्यासब्याकमा आए ।

उमामाथि आक्रमण भएको पहिलो खबर मलाई उपेन्द्र भगत नागवंशीले दिनुभएको थियो । धारिलो हतियारले आक्रमण गरी क्षतविक्षत् बनाइएकी उमालाई केयर मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । सूचना पाउनेबित्तिकै अस्पताल दौडिएँ । अस्पताल गम्भीर घाइते उमालाई बचाउने हरसम्भव प्रयासमा जुटेको थियो ।

म उमानजिकै पुगेँ । अर्धचेत अवस्थाकी उमाले सोधिन्, ‘सञ्जीवजी हमरा कि भैयल (सञ्जीवजी मलाई के भयो) ?’ उनको अवस्था देखेर आत्तिएको म सहज उत्तर दिन सक्ने अवस्थामा थिइनँ । तैपनि ढाडस दिएर भनेँ, ‘सामान्य चोट लागेको छ । केही हुँदैन । ठीक भइहाल्छ ।’ मेरो त्यो ढाडस मात्र थियो । त्यसपछि उनीसँग कुनै संवाद हुन सकेन । उमाको त्यो अन्तिम सोधनी अहिले पनि कानमा गुञ्जिरहेको छ ।

उपचारका क्रममा ब्लडको अभाव देखियो । उमाको ब्लडग्रुप ‘ओ नेगेभिट’ थियो । तत्काल केही पिन्ट रगत जसरी पनि जुटाउनुपर्ने दबाबमा हामी थियौँ । रातिको लगभग नौ बजेतिर म र ध्रुवजी ब्लडको खोेजीमा निस्कियौँ । जनकपुरका थुप्रै ल्याब पुग्यौँ । तर, अधिकांश बन्द भइसकेका थिए । तिनका सञ्चालकको घरघर धाउन थाल्यौँ । तर, ब्लडको पत्तो लागेन ।

राजदेवी युवा कमिटीका तत्कालीन अध्यक्ष राकेश नेपाली (अहिले निधन भइसकेको) का दाइ चन्द्रदीपईश्वर नेपालीसँग सम्पर्क भएपछि उहाँले ‘ओ नेगेटिभ’ ब्लडग्रुप भएका तीनजनाको नाम र घरको ठेगाना दिनुभयो ।

स्व. उमा सिंह

 

अब ती मान्छेका घर खोज्न थाल्यौँ । तीनजनामध्ये पहिलो व्यक्तिको घर पत्ता लाग्यो । तर, उनी घरमा थिएनन् । दोस्रो व्यक्तिको घर पुग्यौँ । उनी घरमा थिए, तर मदिरा सेवन गरेर सुतिरहेका । मदिरा सेवन गरेका व्यक्तिको रगत प्रयोग हुन नसक्ने भएकाले हामी निराश भएर अर्को व्यक्तिको खोजीमा लाग्यौँ ।

हामी रगतको खोजीमा भौँतारिरहेका थियौँ । मेरो आफ्नै परिवारका एक सदस्य (ठूली भाउजू)को ग्रुप पनि ‘ओ नेगेभिट’ हो भन्ने मलाई पत्तो थिएन । दाइ वसन्तकुमार मण्डलसँग ब्लड खोज्न भाैँतारिरहेको कुरा मोबाइल फोनमा भएपछि दाइले भाउजूको ब्लड गु्रुप ‘ओ नेगेटिभ’ भएको थाहा भयो ।

त्यसपछि भाउजूलाई अस्पताल लगियो र एक पिन्ट रगत तुरुन्तै निकालियो । भाउजूबाट निकालिने रगतले मात्र उमालाई आवश्यक रगतको मात्रा पूरा हुने थिएन । अरू फेला परेका थिएनन् । उमाजीको अवस्था झन्झन् खराब हुँदै थियो ।

थप उपचारका लागि सुविधासम्पन्न अस्पताल रिफर गर्नुपर्ने सुझाब उपचारमा संलग्न चिकित्सकले दिए । रगत अभावकै बीच उमाजीलाई काठमाडौं लैजाने कुरा भयो ।

वरिष्ठ पत्रकार बृजकुमार दाइ र अनुराग गिरी सरले मलाई र रेडियो टुडेमा काम गर्ने बटुकनाथ झा भाइलाई एम्बुलेन्समा उमाजीलाई काठमाडौं लैजाने जिम्मा सुम्पिनुभयो ।

हामीले तत्काल काठमाडौं हिँड्ने तयारी गर्‍यौँ । चिकित्सकले रगत र स्लाइन चढाइदिएपछि एम्बुलेन्स अघि बढ्यो । जनकपुर–ढल्केबर सडकखण्ड निर्माणाधीन थियो ।

बाटामा धेरै खाल्डाखुल्डी थिए । म उमाजीको स्वास्थ्यको चिन्ताका कारण एकाग्र भएर उहाँलाई हेरिरहेको थिएँ ।

बाटोमा उमाजीले एक–दुईपटक जिउ तन्काउँदै केही भन्न खोज्नुभयो । तर, बोल्न सक्नुभएन । उहाँको पछिल्लो शारीरिक गतिविधिबाट म झस्किएँ ।

मैले तत्कालै एम्बुलेन्स चालकलाई आउँदै गरेको लालगढ स्वास्थ्य चौकीमा एम्बुलेन्स हुल्न भनेँ । स्वास्थ्य चौकीले उमाजी हाम्रो बीचमा नरहेको पुष्टि गरिदियो । मेरो होसहवास गुम्यो । छाँगोबाट खसेजस्तो भएँ ।

आफूलाई सम्हाल्ने कोेसिस गर्दै उमाजीलगायत हामी सबैका प्रिय दाइ सहदेव कार्की, पत्रकार महासंघ धनुषाका अध्यक्ष उमेश साहलाई खबर सुनाएँ । उमाजी नरहेको खबर डढेलोझैँ फैलियो । सबै स्तब्ध भए, मिथिलाञ्चल शोकमा डुब्यो । आज नौ वर्ष बितेछ ।

मैले एक असल सहकर्मी गुमाएको । पत्रकारिता क्षेत्रले होनहार प्रतीभा गुमाएको । अनि, जनकपुरधाम र मिथिलाञ्चलले सधैँ सत्यको पक्षमा कलम चलाउने, आवाज बुलन्द गर्ने निर्भीक जानकी गुमाएको ।
उहाँसँग कार्यक्षेत्रमा बिताएका थुप्रै याद मनमा छन् । कान्तिपुरमा लेख प्रकाशित हुँदा फुरुंग भएर उफ्रँदै देखाउँदै हिँडेको हिजोझैँ लाग्छ ।

आमपाठक र स्रोतालाई सुसूचित गराउने पत्रकारिताको धर्म निर्वाह क्रममा आउने डरधम्कीलाई सहजै झेल्ने गरेका ति निर्भीक आँखा झलझली सामुन्ने आइरहेका छन् । यो शोकको घडीलाई म शक्तिमा बदल्ने प्रण गरिरहेको छु र भन्दै छु, ‘हे भगवान्, मलाई उमाजस्तै छोरी देऊ ।’

तपाईको प्रतिक्रिया