logo

bar

तत्काल प्रदेश प्रमुख नतोके राष्ट्रिय सभा निर्वाचन प्रभावित हुन्छ : अायाेग

नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

निर्वाचन आयोगले यथासम्भव चाँडो प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गर्दै सरकारलाई पत्र पठाएको छ । तत्काल प्रदेश प्रमुख नियुक्त नभए राष्ट्रिय सभा सदस्य निर्वाचन तालिकामा असर पर्ने भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले प्रदेश सभा सदस्य निर्वाचन नतिजा घोषणा गरी सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था रहेको सम्झाउँदै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गरेको हो । शुक्रबार विज्ञप्तिमार्फत आयोगले समयमै प्रदेश प्रमुख नियुक्त हुन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचन मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया प्रारम्भ भइसकेको छ,’ आयोगले पठाएको पत्रमा भनिएको छ, ‘तर, हालसम्म प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभा सदस्य निर्वाचन नतिजा घोषणा गरी सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने कानुनी बाध्यता पूरा गर्न सकिएको छैन ।’

आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रमसमेत स्वीकृत गरिसकेको छ । जसअनुसार ७ माघमा मतदाता नामावली प्रकाशन गर्ने, १० माघमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र १५ माघमा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया