logo

bar

व्यावसायिक रूपमै भित्रियो चिनियाँ इन्टरनेट

गोपाल साउद/नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

इन्टरनेटमा भारतीय एकाधिकार हट्यो, शुल्क पनि घट्ने

चीनको बाटो भएर नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथले पहिलोपटक व्यावसायिक प्रवेश पाएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक जोडिएको एक वर्षपश्चात् शुक्रबारदेखि व्यावसायिक सञ्चालनमा आएको हो ।

यससँगै नेपाल चीनको बाटो भएर विश्व इन्टरनेट बजारसँग जोडिएको छ । यसअघि स्याटेलाइटमार्फत विभिन्न मुलुकबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्रिरहेको भए पनि अप्टिकल फाइबरमा भने भारतीय एकाधिकार रहेको थियो । अब भने भारत तथा चीन दुवैतर्फबाट स्थलमार्ग भएर अन्तर्राष्ट्रिय इन्टरनेट बजारसँग सम्पर्क कायम भएको छ ।

गत वर्षको जेठमै दुई देशका टेलिकम कम्पनीबीच कायम अप्टिकल फाइबर नेटवर्कको सफल परीक्षण सम्पन्न भएको थियो । तर, केरुङ क्षेत्रमा पहिरो गएर संरचनामा क्षति पुगेका कारण व्यावसायिक सुरुवातमा ढिलाइ भएको । दुई कम्पनीबीच ब्यान्डविथ आदान–प्रदानका लागि ०७३ मंसिरमै व्यावसायिक सम्झौता भएको थियो ।

अब ब्यान्डविथमा हुने प्रतिस्पर्धाले नेपालमा इन्टरनेटको शुल्क सस्तो हुने अपेक्षा गरिएको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चाइना टेलिकमसँगको सम्पर्कबाट थप भरपर्दो तथा सस्तो इन्टरनेट सेवा उपलब्ध गराउन सकिने बताइन् । ‘यसबाट नेपालमा इन्टरनेट सस्तोसमेत हुनेछ,’ उनले भनिन् ।

क्रस बोर्डर कनेक्टिभिटीको उद्घाटनका लागि आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक देशव्यापी रूपमा इन्टरनेट पूर्वाधार निर्माणमा कोसेढुंगा सावित भएको बताए । यसबाट दुई देशबीचको सहयोगलाई जनस्तरमा पु¥याउन भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराउनुका साथै दुई देशबीचको व्यावसायिक सम्भावनालाई थप उजागर गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा चाइना टेलिकम ग्लोबलका वाङ योङ लिनले फाइबर लिंकमार्फत नेपाल चीन र हङकङ हुँदै युरोप, मध्य एसिया, उत्तर–पूर्वी एसिया र अमेरिकासम्म जोडिएको बताए ।

कति आउँदै छ, चिनियाँ ब्यान्डविथ ?
नेपाल टेलिकम नेपालमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याउने दोस्रो कम्पनी हो । हाल नेपाल टेलिकमले विराटनगर, वीरगन्ज र भैरहवा नाका भएर भारतका विभिन्न सेवा प्रदायकसँग २५ जिबिपिएस ब्यान्डविथ खरिद गर्दै आएको छ । कम्पनीले चीनबाट तत्कालका लागि एक दशमलव ५ जिबिपिएस गतिको ब्यान्डविथ भित्र्याउन सुरु गरेको छ ।

यस्तो छ नेपाललाई चिनियाँ  इन्टरनेटको फाइदा
सस्तो तथा भरपर्दो इन्टरनेट कनेक्टिभिटीका लागि अप्टिकल फाइबर सबैभन्दा उपयुक्त माध्यम हो । यसअघि भारतको बाटो भएर मात्र अप्टिकल फाइबरमार्फत अन्तर्राष्ट्रिय ब्यान्डविथ नेपाल भित्रिरहेकोमा अब भने वैकल्पिक मार्गका रूपमा चीनतर्फको सम्पर्क कायम भएको छ ।

जसबाट भारततर्फको इन्टरनेट सम्पर्कमा कुनै समस्या आएमा चीनतर्फको विकल्प प्रयोग गर्न सकिन्छ । चीनबाट कायम भएको अप्टिकल फाइबरको लम्बाइ भारतको भन्दा कम छ । जसले गर्दा इन्टरनेट दुनियासँग छिटो सम्पर्क कायम गर्न सहज हुनेछ ।

इन्टरनेटको अन्तर्राष्ट्रिय सञ्जालमा भारतको बाटो भएर १ सय २८ मिलिसेकेन्ड लेटेन्सी रहेकोमा चीनतर्फबाट भने ७३ मिलिसेकेन्ड मात्र छ । इन्टरनेटको मुख्य सर्भरमा सम्पर्क हुन लाग्ने समय नै लेटेन्सी हो । जसले गर्दा नेपाली प्रयोगकर्तालाई इन्टरनेटको अन्तर्राष्ट्रिय सञ्जालमा जोडिन भारतभन्दा दोब्बर छिटो हुनेछ ।

इन्टरनेटको अन्तर्राष्ट्रिय हबका रूपमा रहेको सिंगापुरको दूरी भारतको भन्दा चीनबाट १ सय ३० किलोमिटर छोटो रहेको नेपाल टेलिकमकी ब्याकबोन ट्रान्समिसन निर्देशनालयकी प्रबन्धक संगीता पहाडीले जानकारी दिइन् ।

इन्टरनेट शुल्क घटाउने कम्पनीको योजना
टेलिकमले तत्कालका लागि चाइना टेलिकमबाट परीक्षणकालका रूपमा कम्पनीले १ दशमलव ५ जिबिपिएस गतिको ब्यान्डविथ लिएको छ । हाल चीनसँग कायम नेटवर्कले १० जिबिपिएससम्मको इन्टरनेट ब्यान्डविथ आपूर्ति गर्न सक्छ । त्यसलाई अपग्रेड गरेमा २० जिबिपिएस गतिसम्मको ब्यान्डविथ आयात गर्न सकिने टेलिकमका प्राविधिकहरूको भनाइ छ ।

टेलिकमकी प्रबन्धक पहाडीका अनुसार हालको परीक्षणकाल स्थिर रहेमा चीनबाट १० जिबिपिएस ब्यान्डविथ आयात गरिनेछ । हाल भारतबाट आइरहेको ब्यान्डविथभन्दा चीनतर्फबाट आउने ब्यान्डविथ तुलनात्मक रूपमा सस्तोसमेत छ । चीनबाट ल्याउने ब्यान्डविथको मात्रा बढेसँगै टेलिकमले इन्टरनेटको शुल्कसमेत घटाउने योजना बनाइरहेको टेलिकम अधिकारीहरू बताउँछन् ।

फेसबुक, गुगल चल्ला कि नचल्ला ?
चीनमा गुगल, फेसबुकलगायतका वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ । तर, त्यसको असर नेपाल भित्रिने ब्यान्डविथमा नपर्ने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । ‘ब्यान्डविथ भित्र्याउन चीनको बाटो मात्र प्रयोग गरिएको हो,’ उनले भनिन्, ‘त्यसको खरिद कार्य भने ग्लोबल आइटी ट्रान्जिट रहेको हङकङबाट हुन्छ, जसले गर्दा चीनले इन्टरनेटप्रति लिएको नीतिले नेपालमा असर गर्दैन ।’ उत्तरतर्फको फाइबर सञ्चालनमा आएपछि टेलिकमको इन्टरनेट सेवाको गुणस्तरमा थप सुधार हुनुका साथै ‘लेटेन्सी’ समेत कम हुन्छ ।

वैकल्पिक रुटको यस्तो छ तयारी
हाल एडिएसएसमार्फत चीनसँग जोडिएको टेलिकमले वैकल्पिक नेटवर्कका रूपमा नेपाली सेनाले निर्माण गरिरहेको रसुवागढी–गल्छी सडकखण्डमा भूमिगत अप्टिकल फाइबर निर्माणको योजना बनाएको छ । त्यस्तै, वैशाख ०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त तातोपानी क्षेत्रको अप्टिकल फाइबर मर्मतको समेत योजना रहेको टेलिकमकी प्रबन्धक पहाडीले बताइन् ।

‘चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले अगाडि बढाएको संवादमा चिनियाँ पक्ष सकारात्मक रहेको भन्ने सुनेका छौँ,’ उनले भनिन्, ‘कम्पनीले विद्युत् प्राधिकरणको तातोपानी क्षेत्रको प्रसारण लाइनमार्फत तातोपानीसम्मको कनेक्टिभिटी कायम गर्ने कार्यक्रम अगाडि सारेको छ ।’

यसरी सम्भव भयो चिनियाँ इन्टरनेट

  •  मंसिर ०६० मा नेपाल–चीनबीच आर्थिक तथा प्राविधिक सम्झौता
  • साउन ०६५ मा अरनिको राजमार्ग भएर काठमाडौंदेखि खासासम्म १ सय ५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको ।
  •  पुस ०६९ भित्रै १० जिबिपिएस गतिको केनेक्टिभिटी तयार पार्ने लक्ष्य,
  • नेपाल टेलिकम र चाइना टेलिकमबीच झाङुम–तातोपानी ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन कायम गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर,
  • पुस ०७० मा नेपाल टेलिकम र चाइना टेलिकम कर्पोरेसनबीच वैकल्पिक रुटका रूपमा नेपाल–चाइना केबुल ट्रान्समिसन सिस्टम निर्माणसम्बन्धी सम्झौता,
  • वैशाख ०७२ मा आएको भूकम्पका कारण तातोपानी क्षेत्रको रुट क्षतिग्रस्त,
  •  ०७२ मै भारतले नाकाबन्दी लगाएपछि नेपालले इन्टरनेट ब्यान्डविथका लागिसमेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु,
  •  संसदीय समिति र सरकारद्वारा टेलिकमलाई चीनतर्फबाट समेत दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थल आबद्धता कायम गर्न निर्देशन,
  •  वैशाख ०७३ मा नेपाल टेलिकम र चाइना टेलिकमका दुवैतर्फका नेटवर्कको सफल परीक्षण सम्पन्न,
  •  भदौ ०७३ केरुङ नाकामार्फत चाइना टेलिकम ग्लोबलको अप्टिकल फाइबर नेटवर्कसँग कनेक्टिभिटी कायम,
    ०७३ मंसिरमा दुई सेवा प्रदायकबीच आइपी सेवाका लागि व्यावसायिक सम्झौता,

तपाईको प्रतिक्रिया