logo

bar

सरकार र डा. गाेविन्द केसीबीच पाँचबुँदे सहमति, केसीले अनशन तोड्दै

अर्जुन अधिकारी काठमाडौं, २८ पुस | पुष २८, २०७४

सरकार र पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीबीच पाँचबुँदे सहमित भएकाे छ । सहमतिपछि डा. केसीले भोलि (शनिबार) अनशन तोड्ने भएका छन् ।

शिक्षामन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग त्रिवि शिक्षण अस्पतालमै डा. केसीले वार्ता गरेका थिए । वार्तामा सरकार र डा. केसीबीच पाँचबुँदे सहमति भएकाे हाे । मन्त्री बाेहाेरा नेतृत्वकाे सरकारी टाेलीमा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले पनि सहभागी थिए ।

मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले अनशन अन्त्य गर्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा. केसीले विगत ५ दिनदेखि अनसनरत छन् ।

सहमतिकाे पहिलाे बुँदामा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने उल्लेख छ ।

यस्तै, सर्वोच्च अदालतको २३ पुसकाे मुद्दा नं ०७०–WO–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीशप्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने  दाेस्राे बुँदामा लेखिएकाे छ ।

तेस्राे बुँदामा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने । आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा (सिनेट)को विशेष बैठक बोलाउने उल्लेख छ ।

चाैथाेमा त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने उल्लेख छ ।

अन्तिममा डा. गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने भनिएकाे छ ।

यस्ता छन् सहमतिका बुँदा

१) चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने ।
२) श्री सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–WO–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।
३) त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने । आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा (सिनेट)को विशेष बैठक बोलाउने ।
४) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने ।
५) डा गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने ।

तपाईको प्रतिक्रिया