logo

bar

धनकुटामा फेरि आमहडताल

नयाँ पत्रिका धनकुटा, २८ पुस | पुष २८, २०७४

धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै बिहीबार फेरि आमहडताल गरिएको छ । आमहडतालका कारण जनजीवन प्रभावित भएको छ भने धरानबाट धनकुटा हुँदै संखुवासभा, भोजपुर र तेह्रथुम जाने यातायात प्रभावित भएका छन् ।

धनकुटा हुँदै हिले, पाख्रिवास, लेगुवा, भोजपुरतर्फ सञ्चालन हुने लामो तथा छोटा दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएनन् । त्यस्तै, धनकुटा हुँदै सिँधुवाबजार, मुढेशनिश्चरे, संखुवासभा, वसन्तपुर हुँदै तेह्रथुमतर्फ सञ्चालन हुने सवारीसाधन पनि ठप्प रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रादेशिक राजधानी माग गर्दै गरिएको आमहडताल बुधबार र मंगलबार स्थगित गरिएको थियो ।

प्रादेशिक राजधानीको माग गर्दै भएको आमहडतालका कारण बिहीबार सुनसान रहेको धनकुटाको जिरोप्वाइन्टस्थित सडक । तस्बिर : सन्तोष रुचाल/नयाँ पत्रिका

 

बिहीबार बिहानैदेखि बन्द गराउन सयौँको संख्यामा स्थानीय सडकमा निस्किएका थिए । आन्दोलनकारीले मोटरसाइकलसमेत गुड्न दिएनन् । धनकुटाको जिरोप्वाइन्ट, सरस्वती चोक, आत्मारालगायत दर्जनौँ स्थानमा ढाट राखेर सडक अवरुद्ध गरिएको थियो । बजार, पसल, उद्योगधन्दा, कलकारखानालगायत पनि ठप्प पारिएको छ ।

प्रादेशिक राजधानी माग गर्दै यसअघि धनकुटामा ६ दिन आमहडताल गरिएको थियो । त्यसपश्चात् दुई दिन एक–एक घन्टा चक्काजाम गरिएको थियो । धनकुटाबाहेक अन्यत्र प्रादेशिक राजधानी स्वीकार नगर्ने अडान राख्दै २८ दिनदेखि प्रदर्शन जारी राखेका धनकुटावासीले प्रादेशिक राजधानीका लागि जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने चेतावनी दिँदै आएका छन् ।

प्रशासनिक गौँडा हुँदै पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामसमेत भइसकेकाले प्रादेशिक राजधानी हुनुपर्ने स्थानीयको माग छ । धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेश नम्बर १ का १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्थालगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लावासीको माग छ ।

तपाईको प्रतिक्रिया