logo

bar

गण्डकी र धौलागिरिका सार्वजनिक यातायात ठप्प

रोहितराज पराजुली/नयाँ पत्रिका कास्की, २८ पुस | पुष २८, २०७४

यातायात व्यवसायी आन्दोलित

मनपरी भाडा असुल्ने र मिटर नचलाउने १८ ट्याक्सीलाई प्रहरीले कारबाही गरेसँगै गण्डकी र धौलागिरिका यातायात व्यवसायी आन्दोलित भएका छन् । उपभोक्ता ठग्नेलाई प्रहरी प्रशासनले कारबाही गरेपछि यातायातसम्बद्ध संघसंस्थाले त्यसको विरोधमा बिहीबार गण्डकी र धौलागिरि अञ्चलमा सार्वजनिक यातायात ठप्प पारेका हुन् ।

मिटरमा ट्याक्सी चलाउन नमान्ने र मनोमानी तरिकाले भाडा असुल्ने गरेको उपभोक्ताको उजुरीपछि १८ ट्याक्सीचालक पक्राउ परेका थिए । पक्राउ परेकाहरूको समर्थन र प्रहरी प्रशासनको विरोधमा व्यवसायीले कालो प्लेटका सवारी साधन दुई अञ्चलमा बन्द गरेका हुन् ।

यात्रुलाई सास्ती
सार्वजनिक यातायातका साधन नचल्दा त्यसको प्रत्यक्ष मार लामो तथा छोटो दूरीका यात्रुलाई परेको थियो । गन्तव्य पुग्न घरबाट निस्किएका यात्रु सार्वजनिक यातायात नचल्दा बीच बाटोमै अलपत्र परेका थिए । पोखराभित्र विन्ध्यवासिनी बस समितिले भने व्यवसायीको आन्दोलनका बाबजुद बस चलाएको थियो ।

उपभोक्ता ठगी आरोपमा पक्राउ परेकाहरूको विरोधमा बुधबार ट्याक्सी व्यवसायी र चालकले पोखराका मुख्य चोकमा ट्याक्सी तेस्र्याएर आन्दोलन गरेका थिए । जसको कारण सडकमा निजी सवारीसाधनको जाम लागेको थियो । चोकचोकमा ट्याक्सी राखी आन्दोलन सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सडकमा अवरोध गर्ने १६ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

चालकलाई पक्रेर ज्यादती गरेको आरोप
प्रहरी प्रशासनले ट्याक्सीचालकलाई पक्रेर ज्यादती गरेको ट्याक्सी व्यवसायीको भनाइ छ । बुधबार सा“झ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघस“गै स्थानीय यातायात समितिहरूको बैठकले बिहीबार गण्डकी र धौलागिरि अञ्चलभर सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले समेत मातहतका सवारीसाधन बिहीबार नचलाउने निर्णय गरेको थियो । समितिका महासचिव योगेन्द्र केसीले प्रहरी प्रशासनको दादागिरीविरुद्ध सवारीसाधन नचलाउने निर्णय भएको जानकारी दिए । यातायातसम्बद्ध समितिले मिटरमा चलाउन हुन्न नभनेको पनि केसीले बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिस“गै पोखरा बस व्यवसायी समिति, स्थानीय शृंगा यातायात व्यवसायी समिति, व्यास बस व्यवसायी समिति, बेगनासताल बस व्यवसायी समिति, लेखनाथ समिति, ट्याक्सी व्यवसायी समिति पोखरामातहतका ट्याक्सी, गण्डकी ट्रक व्यवसायी समिति, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतका सार्वजनिक सवारीसाधन बिहीबार चलेनन् ।

यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी, नेपाल यातायात मजदुर संघ कास्की र अखिल नेपाल यातायात मजदुर संघ कास्कीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेकालाई बिनासर्त रिहा गर्न र समस्याको समाधान छिटोभन्दा छिटो गर्न प्रशासन र यातायात व्यवसायीसमक्ष आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु