logo

bar

‘अन्तरकोरियाली वार्ताले ऊर्जा दिएको छ’

एजेन्सी वासिङ्टन, २८ पुस | पुष २८, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले प्योङयाङ र सिउलबीच सम्बन्ध सुधारमा ऊर्जा प्रदान गरेको धारणा व्यक्त गरेका छन् । उत्तर र दक्षिण कोरियाबीच मंगलबार दुई वर्षपछि पहिलोपटक औपचारिक वार्ता भएको थियो । सो वार्ताबारे राष्ट्रपति ट्रम्पकोे धारणा सार्वजनिक भएको हो ।

वार्ता नै उत्तम विकल्प
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्वीपको तनाब अन्त्यका लागि वार्ता नै उपयुक्त विकल्प भएको बताए । टम्पले भने, ‘कोरियाली प्रायद्वीपमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता हो ।’ ट्रम्पले भने । ट्रम्पले वार्ताको माध्यमबाटै दुई देशलाई अगाडि बढ्न र सबै समस्याको समाधान निकाल्नसमेत आग्रह गरेका छन् ।

उत्तर कोरियाको आणविक कार्यक्रमप्रति क्रुद्ध ट्रम्प पछिल्लो समयमा प्योङयाङप्रति नरम देखिएका छन् । तर, केही विज्ञहरू भने सो वार्ताप्रति सशंकित बनेका छन् । राष्ट्रपति ट्रम्पले उत्तरविरुद्ध कारबाही गर्न सक्ने त्रासका कारण उत्तरले दक्षिणसँग वार्ताको बहाना गरेको उनीहरूले बताउँदै आएका छन् ।

 

कोरियाली युद्धका समयमा अलग भएका दुई कोरियाली परिवारको पुनर्मिलनका लागि सरकारलाई दबाब दिन दक्षिण कोरियाको राजधानी सिउलमा बिहीबार हस्ताक्षर गर्दै सर्वसाधारण । तस्बिर : एजेन्सी

 

राष्ट्रपति मुनको लचकता
पारस्परिक सम्बन्ध विस्तारका लागि दुई देश अझै लचक हुनुपर्ने दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले बताउँदै आएका छन् । दुई वर्षअघि दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएका मुनले उत्तर कोरियासँगको शान्तिवार्तालाई जोड दिँदै आएका छन् । राष्ट्रपति मुनले उत्तर कोरियाविरुद्ध उत्तेजक अभिव्यक्ति नदिनसमेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव दिँदै आएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि मुनले बारम्बार उत्तर कोरियासँग वार्ता प्रस्ताव गर्दै आएका थिए, तथापि उत्तरले वार्ताप्रति खासै चासो दिएको थिएन । तर, नयाँ वर्षको एक सम्बोधनमा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग वार्ता गर्ने संकेत गरेका थिए । उत्तरको ग्रिन सिग्नललाई दक्षिण कोरियाले सही सदुपयोग गरेको थियो ।

नाटकीय सुधार
मंगलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधि पठाउन सहमत भएको छ । वार्तापछि दुई देशको सम्बन्धमा नाटकीय सुधार आएको छ ।

तर, ट्रम्पले उत्तर र दक्षिण कोरियाले अझै बढी पहल गर्नुपर्ने बताएका छन् । बुधबार ह्वाइटहाउसमा नर्वेका प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘वार्ता सकारात्मक भएको दुई देशले बताएका छन् । आगामी दिनमा अन्य नयाँ विषयमा छलफल हुनु आवश्यक छ ।’ उत्तरसँगको सम्बन्ध सुधारका लागिे अझै थप कदम चाल्न ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलाई आग्रह गरे ।

‘उत्तर कोरियाली नेतासँग छिट्टै वार्ता’
यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेतासँग छिट्टै प्रत्यक्ष वार्ता गर्ने बताएका छन् । ‘कोरियाली प्रायद्वीपको विद्यमान समस्या समाधानका लागि कोरियाली नेता किम जोङ उनसँग चाँडै नै प्रत्यक्ष वार्ता हुनेछ,’ राष्ट्रपति मुनले भनेका छन् । कोरियाली प्रायद्वीपको तनाब अन्त्य गर्न दुवै देशको बराबर भूमिका भएको उनले बताएका छन् । राष्ट्रपति ट्रम्पको भनाइको उत्तर कोरियाले कुनै जवाफ दिएको छैन ।

‘मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएर नै छाड्ने बताएका छन् । सीमामा पर्खाल लगाउने विषयमा रिपब्लिकन र डोमोक्र्याटिक्स पार्टीका सांसदहरूबीच बहस बढिरहेका वेला राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल अत्यावश्यक भएको बताए । मेक्सिकोसँग हुने आप्रवाससम्बन्धी वार्तामा पनि पर्खालको विषय महत्वपूर्ण हुने उनले बताए ।

मंगलबार मात्र राष्ट्रपति कार्यालय ह्वाइटहाउसका एक अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भए पनि मेक्सिकासँगको सीमामा पर्खाल लगाउन तत्काल सम्भव नभएको बताएका थिए । राष्ट्रपति ट्रम्पले सीमा पर्खालबारे आफ्नो कार्यक्रममा यथावत् रहेको बताए । यसअघि ट्रम्पले अवैध आप्रवासीलाई संरक्षण दिने कार्यक्रममा लगाएको रोकलाई अदालतले अंकुश लगाइदिएपछि अमेरिकी न्यायप्रणाली कमजोर भएको टिप्प्पणी गरेका थिए ।

उच्चस्तरको वार्ता
उत्तर र दक्षिण कोरियाबीच मंगलबार उच्चस्तरको वार्ता भएको थियो । वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको छ । दक्षिण कोरियामा आगामी फेब्रुअरीमा हुने हिउँदे ओलम्पिकमा उत्तरको सहभागिता, दुई कोरियामा रहेका परिवारको पुनर्मिलन र उत्तर कोरियाका आणविक गतिविधिलगायतका समसामयिक विषयमा दुई देशबीच छलफल भएको थियो ।

वार्तामा आगामी हिउँदे ओलम्पिकको विषयलाई उत्तरले विशेष चासो जनाएको थियो । उत्तर र दक्षिण कोरियाको सीमावर्ती पानमुनजोम गाउँमा भएको सो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै उत्सुकतापूर्वक अवलोकन गरेको थियो ।

वार्तालाई दुवै देशले फलदायी बताएका छन् । दुई देशबीच छिट्टै सैन्य तहमा वार्ता हुने उत्तर कोरियाले बताएको छ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण नियन्त्रण गर्ने विषयमा भने दवै समूह ठोस निष्कर्षमा पुग्न नसकेको दक्षिण कोरियाले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु