logo

bar

अस्ट्रेलियामा तापक्रमवृद्धिबारे वैज्ञानिकहरूले अनुसन्धान गर्ने

एजेन्सी क्यानबेरा | पुष २८, २०७४

अस्ट्रेलियाली वैज्ञानिकहरूले जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएका छन् । पछिल्लो समयमा अस्ट्रेलियाको तापक्रम अस्वाभाविक रूपमा वृद्धि भएपछि वैज्ञानिकहरूले यसबारे अनुसन्धान गर्न लागेका हुन् । अस्ट्रेलियाको औद्योगिक अनुसन्धान संस्थाका वैज्ञानिकहरूको एउटा समूहले दक्षिणी समुद्रमा उच्च तापबारे अध्ययन गर्न लागेका हुन् ।

यसै साता सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो । सो तापक्रम ८० वर्षयताकै सबैभन्दा उच्च रहेको जनाइएको थियो । अस्वाभाविक तापक्रमलाई अस्ट्रेलियाका अधिकारीहरूले जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गरेका छन् । समुद्रको गहिराइसम्म पुगेर गरिने अनुसन्धानका लागि वैज्ञानिकहरूले रोबोटको प्रयोग गर्ने भएका छन् ।

वैज्ञानिकहरूले दक्षिणी समुद्रमा पाँच हजार मिटर गहिराइमा पुगेर जलवायु परिवर्तन र तापक्रमबारे अनुसन्धान गर्न लागेका हुन् । सो अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक स्टिभ रिन्टाउलले भने, ‘हामीले यस्तो अनुसन्धान पहिलोपटक गर्न लागेका छौँ र उक्त समुद्रको दक्षिण गोलार्धले ताप बहन गर्न सक्ने क्षमता र कार्बनडाइअक्साइडको अवस्थाबारे तथ्य पत्ता लगाउनेछौँ ।’

वैज्ञानिकहरूका अनुसार समुद्रका कारण विश्वको तापक्रम प्रभावित हुने गर्छ । अनुसन्धानले जलवायु परिवर्तनको वर्तमान अवस्था र आगामी पुस्तामा यसले पार्न सक्ने प्रभावबारे नयाँ तथ्य पत्ता लगाउने आशा गरिएको छ । जलवायु परिवर्तनका कारण विश्वमा पछिल्ला केही वर्षहरूमा विश्वव्यापी उष्णता बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु