logo

bar

के चल्दै छ किमको दिमागमा ?

करिश्मा वासवानी | पुष २८, २०७४

आखिर त्यस्तो अवस्था के आइपर्‍यो र उत्तर कोरिया दक्षिण कोरियासित कुराकानीका लागि तयार भयो ? यस प्रश्नको उत्तर तत्कालका लागि प्रस्ट रूपमा कसैसित पनि छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सायद लाग्दो हो कि उनकै कारण दुई कोरियाली देश कुराकानीका लागि तयार भएका हुन् । तर, के साँच्चै उत्तर कोरियाले अमेरिकाकै कारण यस्तो गरिरहेको छ या किम जोङ उनसित कुनै अन्य व्यावहारिक कारण पनि हुन सक्लान् ? पंक्तिकारको विचारमा उत्तर कोरिया आर्थिक कारणले गर्दा नै दक्षिण कोरियाप्रति नरमपन देखाइरहेको छ । उत्तर कोरियाको जिडिपीको सबैभन्दा ठूलो हिस्सा कपडा, कोइला र सी फुड निर्यातबाट आउने गरेको छ । उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धका कारण उसका अर्थ व्यवस्थामाथि कति असर परेको छ भन्ने पत्ता लगाउन निकै कठिन छ । किनकि, ०१७ को उसको विकास दर अझैसम्म मापन हुन सकेको छैन ।

नाकाबन्दीको सकस
‘अनविलिङ द नर्थ कोरियन इकोनोमी’ नामको पुस्तकका लेखक यङ यान किमको भनाइलाई मान्ने हो भने उत्तरको ‘निर्यातमा ०१६ को तुलनामा ३० प्रतिशतसम्मको गिरावट’ आएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक सहयोग रहेको छ । कतिपय मानिसका अनुसार चीनको सहयोग नपाएको भए प्योङयाङ अहिलेसम्म उभिन सम्भव थिएन । तर, अब भने चीनमा गरिने निर्यातमा पनि ३५ प्रतिशतको कमी आएको समाचार छ । यसको सीधा अर्थ उसको आर्थिक विकास दरको एकतिहाइ हिस्सा समाप्त भएको छ । यङ यान किमको तथ्यांकमा डिसेम्बरमा लगाइएको नाकाबन्दी सामेल गरिएको छैन । पछिल्लो वर्षको अन्तिम महिनामा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले विदेशमा काम गरिरहेका उत्तर कोरियाली नागरिकलाई २४ महिनाभित्र आफ्नो देश फर्किन आदेश दिएको छ ।

किम जोङ उनले आफ्नो शासन जोगाइराख्न आवश्यक ठानेजति आणविक शक्ति हासिल गरिसकेका छन् । अब उनको ध्यान नाकाबन्दीलाई प्रभावहीन गराउन सक्ने मजबुत अर्थ व्यवस्थाको दिशामा केन्द्रित छ ।

किम जोङ उनको भाषण
उत्तर कोरियाली आप्रवासीबाट आउने रेमिट्यान्स उत्तर कोरियाका लागि विदेशी मुद्राको दोस्रो सबैभन्दा ठूलो स्रोत हो । कतिपय जानकारले यस नाकाबन्दीपछि उत्तर कोरियाको नगद आम्दानीमा ८० प्रतिशतसम्म कमी आउन सक्ने अनुमान गरेका छन् । यस्तो अवस्था अर्थ व्यवस्थाका लागि निकै खराब खबर हो । यसलाई राम्ररी बुझ्न किम जोङ उनको नयाँ वर्षको भाषण सुन्नु ठीक हुन्छ । पूरै भाषणमा उनले ‘अर्थ व्यवस्था’ शब्दको प्रयोग त्यति नै पटक गरेका छन्, जतिपटक ‘परमाणु’ शब्दको ।

किमको फुर्तीको कारण
उत्तर कोरियालाई निर्यात या विदेशमा काम गरिरहेका नागरिकबाट विदेशी मुद्रा प्राप्त हुन सकेन भने पैसा कमाउने एक मात्र माध्यम पर्यटन बचेको छ । आफ्नो भाषणमा किम जोङ उनले तटीय पर्यटन क्षेत्रको चर्चा गरेका छन् । ०१८ मा देशमा पर्यटनलाई प्राथमिकता दिन चाहेको उनले बताएका छन् । तर, यी पर्यटक कहाँबाट आउँछन् यहाँ ? भियना विश्वविद्यालयका प्राध्यापक रुडिगर बताउँछन्— यसअघि त यो काम दक्षिण कोरियाबाटै हुने गथ्र्यो । १९९९ देखि २००८ बीच हजारौँ दक्षिण कोरियाली नागरिक उत्तर कोरिया घुम्न गएका थिए । त्यस क्रममा दुवै देशबीचको सम्बन्ध पनि राम्रो थियो । सायद दक्षिण कोरियासित सम्बन्ध सुध्रियो भने फेरि त्यस्तै दिन आउन सक्ने अपेक्षा किम जोङले गरेका हुन सक्छन् । उनको फुर्तीको पछाडि यही एक कारण हुन सक्छ ।

आणविक शक्ति बनिसक्यो उत्तर कोरिया
एकपछि अर्को मिसाइल परीक्षण गरेर उत्तर कोरियाले आफ्नो एकसेएक आणविक हतियार बनाउन सक्षम भएको पुष्टि गरिसकेको छ । अमेरिका र डोनाल्ड ट्रम्पले हल्ला त मच्चाए तर नाकाबन्दी लगाउनुका अतिरिक्त उत्तर कोरियाको आणविक परीक्षण रोक्ने कुनै काम गर्न सकेनन् । परिणामतः आफूले जे चाह्यो, उत्तर कोरिया त्यही गर्दै गयो । किम जोङ उनले आफूलाई आवश्यक पर्नेजति सबै हतियार बनाइसकेका छन् । साथै, उनले यस्तो आणविक शक्ति हासिल गरिसकेका छन्, जसलाई उनले आफ्नो शासन जोगाइराख्न आवश्यक ठानेका छन् । अब उनको दृष्टि नाकाबन्दीलाई प्रभावहीन गराउन सक्ने मजबुत अर्थ व्यवस्था बनाउने दिशामा केन्द्रित छ ।

हिउँदे ओलम्पिक
यस्तो अवस्थामा दक्षिण कोरियासित कुराकानी गर्नुमा किम जोङ उनलाई कुनै घाटा छैन । यद्यपि, अझै पनि आफ्नो अर्थ व्यवस्था सुधार्न आणविक कार्यक्रम रोक्ने पक्षमा किम जोङ उन छैनन् भन्ने पनि कसैले भुल्नु हुँदैन । दक्षिण कोरियाले भनेको छ— अघिल्लो महिना आयोजना हुने हिउँदे ओलम्पिकका क्रममा उसले केही प्रतिबन्ध हटाउने विषयमा विचार गर्न सक्छ । तर, यो दाउ पनि चलेन भने उत्तर कोरिया पैसा कमाउने अन्य तरिका पनि निकाल्न सक्छ । तीव्र गतिमा लोकप्रिय भइरहेको ‘क्रिप्टोकरेन्सी’ यस्तो एउटा माध्यम हुन सक्छ ।
(वासवानी बिबिसीकै संवाददाता हुन्)
बिबिसी डट कम-हिन्दीबाट

तपाईको प्रतिक्रिया