logo

bar

डा. गोविन्द केसीको अनशन जारी

नयाँ पत्रिका काठमाडौं, २८ पुस | पुष २८, २०७४

प्रमुख माग : प्रधानन्यायाधीशको राजीनामा र डिनमा डा. अग्रवालको पुनर्वहाली

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसीले अनशन जारी राखेका छन् । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाउन आदेश दिई केसीलाई सामान्य तारेखमा रिहा गरेसँगै बिहीबार उनले अनशन तोड्ने अनुमान गरिएको थियो । तर, केसीले बिहीबार आफू निकटस्थहरूसँग छलफल गरेपछि अनशन जारी राख्ने निर्णय लिएको उनका सहयोगी डा. अभिषेकराज सिंहले बताए ।

डा. गोविन्द केसी

पुराना मागहरूबारे सरकारलाई झकझक्याउँदै केसीले मुख्य दुई नयाँ माग राखी अनशन लम्ब्याएका छन् । प्रधानन्यायाधीशको राजीनामा र आइओएमका डिन डा. जगदीश अग्रवालको पुनर्वहाली नभएसम्म आफ्नो अनशन जारी रहने उनको भनाइ छ ।

डा. केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियान जारी रहेको बताएका छन् । ‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानअन्तर्गत म सत्याग्रहमा रहेको कुरा विदितै छ । सत्याग्रहको क्रममा अदालतको अवहेलनासम्बन्धी मुद्दा लगाएर मलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराई बयान गराइएको र मुद्दाको कारबाही सुरु गरिएको पनि विदितै छ,’ बिहीबार साँझ केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्र छानबिन गरिनुपर्ने बताए ।

केसीले अदालतप्रतिको सम्मान र निष्ठा सधैँ उच्च रहेको बताएका छन् । प्रधानन्यायाधीश पराजुलीको सम्बन्धमा आफूले उठाएका प्रश्नलाई अदालतले गम्भीरतापूर्वक लिई उनलाई न्यायिक छानबिनको दायरामा राखेकोमा उनले प्रशंसा गरेका छन् ।

‘न्यायिक छानबिनपछि सत्यतथ्य निर्णय हुने कुरामा म विश्वस्त छु,’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘पराजुलीको आधारभूत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा उनी कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य छैनन् ।’

केसी डिन बने हामी सहयोग गर्छाैँ : शर्मा
आइओएमका पूर्वडिन प्रा.डा. शशि शर्माले अनशनरत डा. गोविन्द केसीलाई अनशन छाडेर डिन बन्न आग्रह गरेका छन् । उनले आफ्नै साथी पटकपटक डिन भएन भनेर अनशन बसेको राम्रो नभएको भन्दै सबै चिकित्सकको सहयोगमा आइओएमको नेतृत्व लिन आग्रह गरेका हुन् । ‘हामी उनले जस्तो रुवाबासी गर्दैनौँ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘उनलाई डिन मान्न सबै विशेषज्ञ चिकित्सक, कर्मचारी र विद्यार्थी तयार छौँ ।’

‘अबको आन्दोलन केपी ओलीविरुद्ध’
डा. केसी पक्षधरले अबको आन्दोलन एमाले अध्यक्ष केपी ओलीकेन्द्रित हुने बताएका छन् । बिहीबार माइतीघर मण्डलामा गरेको विरोध सभामा केसीसमर्थकले एमाले माफियाको पार्टी भएको आरोप लगाए । स्वास्थ्य उपचारका लागि थाइल्यान्ड प्रस्थान गर्ने क्रममा बुधबार ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ‘निर्वाचन आयोगलाई कानुनी असहजता भए डा. गोविन्द केसीलाई सोध्नु’ भनेर अभिव्यक्ति दिएपछि उनका समर्थक आक्रोशित भएका हुन् । केसीका सहयोगी अधिवक्ता ओमप्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताए ।

अधिवक्ता अर्यालले केसीविरुद्ध पटकपटक ओलीको अभिव्यक्ति आएको बताए । ‘अबको केसीको आन्दोलन एमाले अध्यक्ष ओलीविरुद्ध हो,’ उनले भने, ‘ओलीको नक्कली राष्ट्रवाद हामीले निरन्तर नियालिरहेका छौँ । यस्तो नक्कली राष्ट्रवाद ढालेरै छाड्छौँ ।’ उनले डा. केसीलाई मरे पनि मरोस् भन्ने र विरोध गर्ने मान्छेहरू ओलीको संरक्षणमा रहेको आरोप लगाए ।

लोकमान ढाल्यौँ, अब ओली
केसीका सहयोगी डा. अभिषेकराज सिंहले लोकमानतन्त्रको अन्त्य गरिसकेकाले अब ओलीको पालो आएको बताए । ‘लोकमानलाई ढाल्ने यिनै आन्दोलनकारी हुन्, यसले नै ओली शासन ढालेर देखाउनेछौँ,’ सिंहले भने, ‘हामी उनलाई ज्ञानको पाठ सिकाउँछौँ ।’ सामान्य रूपमा बिरामी भएको अवस्थामा तीन करोड नेपालीले तिरेको करबाट उपचारका लागि विदेश जानु लज्जाको विषय भएको पनि उनले बताए ।

अनशनको चौथो दिन
बिहीबार अनशन तोड्ने कि जारी राख्ने भन्ने विषयमा बिहान साढे ७ बजे डा. केसीले सहयोगीहरूसँग छलफल गरेका थिए । छलफलले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र डिनमा डा. जगदीश अग्रवालको पुनर्वहाली नभएसम्म अनशन जारी राख्ने निर्णय भएको केसीका सहयोगी डा. अभिषेकराज सिंहले बताए । छलफलपछि केसीले ३० मिनेट एमडीका विद्यार्थीलाई पढाए । त्यसपछि अनशनस्थलमा आएर दिनभर आराम गरे । लामो समय पढाएका कारण केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनका सहयोगीका अनुसार केसीको शरीरका मसल दुख्न थालेका छन् । उनी कोहीसँग बोल्न नसक्ने अवस्थामा पुगेका छन् । मुटुको धड्कन बढेको, छाती दुखेको र ब्लडप्रेसर कम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु