logo

bar

अलैँचीको मूल्य बढेपछि व्यावसायीलाई राहत

शान्ता कमली लमजुङ २७ पुस | पुष २७, २०७४

अलैँचीको मुल्य घटिरहेका बेला निराश बनेका लमजुङका अलैँची व्यावसायी मुल्य बढेपछि केही राहत महसुस गरेका छन् । अलैँची उत्पादनमा वृद्धि भएपनि मुल्य वृद्धि नहुँदा लमजुङका अलैँची व्यावसायी चिन्तित बनेका थिए ।

मुल्य बढेपछि ब्यापारीहरुले कृषकको घरमै गएर अलैची खरिद गर्न थालेका छन् । बजारमा ल्याउँदा खरिद गर्न नपाइने भएकाले घरमा नै खरिद गर्न थालेको नेपाल अलैँची व्यावसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङ बताए । उनले भने ‘जिल्लामा उत्पादन भएको ८० प्रतिशत अलैंची विक्री भईसकेको छ भने मुल्य वृद्धि भएसँगै बाकी रहेको अलैंचीको माग अत्याधिक छ ’ ।

अध्यक्ष तामाङका अनुसार मुल्य वृद्धि भएसँगै उच्चस्तरको जम्बो जेट (जेजे) अलैँची प्रतिकेजी ११०० रुपैया, दोस्रो तहको मध्यम आकरको (एसडी) अलैँची प्रतिकेजी मुल्य १०५० छ भने तेस्रो तहको सामन्य चलनचल्तीको अलैंचीको मुल्य (सिसी) प्रतिकेजी १००० रुपैया रहेको छ ।

अलैची बिक्री भएसँगै ओरालो लागेको अलैँचीको मुल्य बढेपछी राहत भएको अलैची कृषक सुलबहादुर तामाङले बताए । उनले भने केही दिन अघिसम्म प्रतिकेजी ५ सय ५० देखि ७ सय ५० रुपैयामा आफुले अलैंची विक्री गरेपनि मुल्य बढेसँगै आम्दानी बढ्ने भएपछी खुशी छु ।’

नेपाल अलैँची व्यावसायी महासंघ लमजुङका अध्यक्ष तामाङका अनुसार दुई वर्षयता अन्तराष्ट्रिय बजारमा अलैंचीको मुल्यमा लगातर गिरावट भएको अलैँचीको लामो समयपछि मुल्यवृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेकाले अर्लैचीको मुल्यमा वृद्धि भएको तामाङको भनाई छ । जिल्लाको साविक ४० गाविसमा लगाइएको अलैंची खेतीबाट यस वर्ष जिल्लामा ६०० क्विन्टल अलैंची उत्पादन भएको छ ।  लमजुङका अलैची कृषकले गत वर्ष ८ सय २१ क्वीन्टल अलैची विक्री गरेर करिब १४ करोड रुपैया आम्दानी गरेका थिए । यसवर्ष भने बोटहरु पुराना भएकाले उत्पादनमा हस आएको हो ।

यसवर्ष दोर्दी गाउँपालिका ८ खिन्चोकका मनबहादुर तामाङले आठ क्विन्टल, जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन गरेका छन् भने दोर्दी ८ कै तिर्थ तामाङले साढे ६ क्विन्टल र मस्र्याङ्दी गाउँपालिका ७ छिनखोलाका लाल बहादुर तामाङले साढे ५ क्विन्टल अलैंची उत्पादन गरेका छन् । यस वर्ष अलैंची बिक्रीबाट किसानले ४ करोड ३० लाख आम्दानी हुने भएको छ । वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार जिल्लामा ९ सय ५० हेक्टर जमिनमा अलैंची खेती गरिएको छ ।

हाल नेपालका ३८ जिल्लामा अलैँची खेती विस्तार भईसकेको छ भने विभीन्न क्षेत्रमा अलैंचीको आकर्षण बढ्दो छ । नेपालमा उत्पादित अलैंची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारीमा व्यवसायीहरू छन् । अलेँचीको भण्डारण र सुकाउने तरिका परम्परागत भएकाले केही ठाउँका अलैंचीको गुणस्तरमाथि प्रश्न उठेको व्यवसायी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु