logo

bar

नेपाल लगातार दोस्रो खेलमा पराजित

नयाँ पत्रिका काठमाडौं, २७ पुस | पुष २७, २०७४

पाकिस्तानमा जारी पाँचौँ दृष्टिविहीन एकदिवसीय विश्वकप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले बंगलादेशविरुद्ध २ सय ३५ रन बनाएको थियो । उक्त लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

कीर्तनको ६६ रन
नेपाली टिमका कप्तान कीर्तन दुवालले उत्कृष्ट इनिङ खेले । सातौँ नम्बरमा ब्याटिङका लागि क्रिजमा आएका कीर्तनले सम्हालिएर अर्धशतक पूरा गरे । कीर्तनले ७३ बल खेल्दै ३ चौकाको मद्दतमा ६६ रन बनाएका थिए ।

नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनायो । कीर्तनपछि सर्वाधिक रन बनाउने खेलाडीका रूपमा खिमानन्द गैरे रहे । गैरेले ५२ बलमा ३४ रनको योगदान दिँदै नेपालको स्कोरलाई २ सय रन क्रस गराएका थिए ।

ओपनरले राम्रो सुरुवात दिन नसके पनि चौथो नम्बरमा ब्याटिङका लागि आएका पदम बडेलाले ३० रन लिँदै धर्मराएको सुरुवाती इनिङ सम्हालेका थिए ।

मेहमुद रसिदको अविजित अर्धशतकीय इनिङ
२ सय ३५ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि जित दिलाउन मेहमुद रसिदले सर्वाधिक ६० रनको अविजित इनिङ खेले । त्यस्तै, असिगुर रहेमानले ४५ रन जोड्दा ओपनर अब्दुल मलिकले महत्वपूर्ण ३८ रन बनाए । त्यस्तै, बंगलादेशका लागि थप दोहोरो रनका रूपमा अब्दुल्लाह जोविरले २६ रनको योगदान दिए । नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका मेहमुद रसिद म्यान अफ द म्याच घोषित भए ।

सातौँ विकेटका लगि शतकीय साझेदारी
खराब सुरुवात गरेको नेपालले सम्हालिन नपाउँदै लगातार विकेट गुमाउन पुग्यो । एकसमय नेपालले ७२ रन जोड्दा ६ विकेट गुमाएको थियो । यस्तोमा सातौँ विकेटका लागि खिमानन्द गैरे र कप्तान कीर्तन दुवालले १ सय ९ रनको बलियो साझेदारी गर्दै नेपाली इनिङलाई सम्मानजनक अवस्थामा पु¥याए ।

तपाईको प्रतिक्रिया