logo

bar

ब्राडम्यानको रेकर्ड अफगानिस्तानका बहिरले तोडे

एजेन्सी, नयाँदिल्ली, २७ पुस | पुष २७, २०७४

अफगानिस्तानका युवा ब्याट्सम्यान बहिर महबुबले अस्ट्रेलियन लिजेन्ड सर डन ब्राडम्यानको रेकर्ड तोडेका छन् । पहिलो श्रेणी क्रिकेटको सुरुवाती १२ खेलमा बहिरले ब्राडम्यानको रेकर्ड भंग गरेका हुन् ।

बहिरले पहिलो श्रेणीमा १२१.७७ को औसतमा ब्याटिङ गर्दै १ हजार ९६ रन जोडेका छन् । ब्राडम्यानले १२ खेलमा ९५.१४ को औसतमा ब्याटिङ रेकर्ड राखेका थिए । रेकर्ड बनाउने क्रममा बहिरले अमो क्षेत्रीयविरुद्ध २ सय ५६ रनको नटआउट इनिङ खेले । उनले पाँच खेलपछि एकपटक तेहेरो शतकीय प्रदर्शनसमेत गरे ।

१८ वर्षीय बहिरले पहिलो श्रेणी क्रिकेट इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यानका रूपमा आफूलाई उपस्थित गराएका छन् । अमो क्षेत्रीयविरुद्धको २ सय ५६ रनको इनिङ खेल्दा उनले भारतका अमोल मुजुमान्दरको रेकर्ड भंग गर्न सकेनन् । अमोलको नाममा २ सय ६० रन छ । डेढ वर्षभित्र बहिरले ५ शतक तथा २ अर्धशतक लगाएका छन् ।

पहिलो श्रेणीमा १८ वर्ष उमेरमै तेहेरो शतक हान्ने उनी विश्वकै दोस्रो ब्याट्सम्यान हुन् । पहिलो श्रेणीमा पाकिस्तानका जावेद मियाँदादले १६ वर्षको उमेरमै तेहेरो शतक लगाएका थिए । बहिरले क्रिकेट इतिहासकै महान् ब्याट्सम्यानको रेकर्ड तोड्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

‘यो क्षण जीवनकै अविस्मरणीय रह्यो,’ आइसिसीसँग कुराकानी गर्दै बहिरले भने, ‘म लगातार दुई दिन विकेटमा डटेर बसेँ, यसै कारण आज म क्रिकेटमा नयाँ इतिहास रच्न सफल भएँ ।’ अफगानिस्तानको घरेलु क्रिकेटमा धेरै मौका नपाउने उनको गुनासो छ ।

‘अफगानिस्तानको घरेलु क्रिकेटमा स्थान पाउन धेरै गाह्रो छ, यस्तो स्थितिमा मैले हजार रन पूरा गरेँ,’ उनले भने, ‘यो सबै सफलता मेरो मिहिनेतका कारण सम्भव भएको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु