logo

bar

किमसँग वार्ता गर्न तयार इन

एजेन्सी सिउल, २७ पुस | पुष २७, २०७४

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दुई कोरियाबीचको सम्बन्ध सुधार्न आफू उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न तयार भएको जनाएका छन् । मंगलबार ऐतिहासिक रूपमा दुई कोरियाबीच उच्चस्तरीय वार्ता भएको थियो । वार्ता सकारात्मक रूपमा सम्पन्न भएपछि आफू पनि छिमेकी नेतासँग वार्ता गर्न तयार रहेको इनले बुधबार स्थानीय समाचार संस्थाहरूलाई बताएका हुन् ।

प्रायद्वीपकेन्द्रित दक्षिण कोरिया
दक्षिण कोरियाका राष्ट्रपति इनले कोरियाली प्रायद्वीपमा देखिएको अशान्ति र आपसी सम्बन्ध विस्तार गर्न दुई कोरियाली नेताबीच वार्ता हुनुपर्ने धारणा राखेका छन् । ‘यदि हामी दुई नेताबीचको भेटवार्ताले कोरियाली जनताको भलो हुन्छ भने म निसर्त वार्तामा बस्न तयार छु,’ इनले भने, ‘यसका लागि २४ घन्टा नै खुला छु ।’ नयाँ वर्षको अवसरमा इनले दिएको भाषणमा दुई कोरियाबीचको सम्बन्ध सुधार्नका लागि ‘कोरिया समिट’ आवश्यक भएको सुझाब दिएका थिए ।

विन्टर ओलम्पिकले जगाएको आशा
फेब्रअुरीमा दक्षिण कोरियाको प्योङच्याङमा विन्टर ओलम्पिक खेलकुद प्रतियोगिता हुँदै छ । ओलम्पिक खेलकुद आयोजना गर्ने सहर प्योङच्याङ उत्तर कोरियाबाट केवल ३६ किलोमिटर पूर्वमा पर्छ । उत्तर कोरियाले ओलम्पिकमा सहभागिता जनाउने वाचा गरेपछि सम्बन्ध विस्तारको एउटा खुड्किलो भएको राष्ट्रपति इनले बताएका छन् । ‘उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू विन्टर ओलम्पिकमा पठाउने भनेको छ, यी दुई मुलुकबीचको सम्बन्ध विस्तारका लागि कोसेढुंगो साबित हुन सक्छ,’ उनले भने । मंगलबार दुईपक्षीय वार्ता विशेषगरी खेलकुदमै केन्द्रित भएको थियो।

समस्या आणविक परीक्षण
उच्चस्तरीय वार्तामा धेरै विषयमा छलफल भएको एजेन्सीले जनाएका छन् । विशेषगरी उत्तर कोरियाले एक वर्षदेखि आणविक परीक्षणमा तीव्रता दिएको विषयमा केही वार्ता नै नभएको एजेन्सीहरूले दाबी गरेका छन् । दक्षिण कोरियाले आणविक परीक्षणबारे प्रसंग उठाए पनि उत्तर कोरियाली नेताहरूले त्यसको जवाफ फर्काएनन् । आणविक विषय उठाइएपछि उत्तर कोरियाली नेताहरूको व्यवहार फरक भएको जनाइएको छ । उत्तर कोरियाली वार्ता प्रतिनिधिहरूले त्यस विषयमा आफूहरूसँग उत्तर दिने अधिकार नभएको बताए ।

सामूहिक मार्चपासको प्रस्ताव
उच्चस्तरीय वार्तामा दक्षिण कोरियाका प्रतिनिधिहरूले उत्तर कोरियालाई विन्टर ओलम्पिकमा संयुक्त मार्चपास गर्ने प्रस्ताव राखेका छन् । सन् २००६ को विन्टर ओलम्पिकमा पनि सम्बन्ध नराम्रो भएपछि दुई कोरियाले मार्चपासमा संयुक्त रूपमा सहभागिता जनाएका थिए । ‘हामीले विन्टर ओलम्पिकमा संयुक्त मार्चपासको प्रस्ताव राखेका थियौँ तर उत्तर कोरियाली पदाधिकारीहरूले त्यसमा केही बोलेनन्,’ दक्षिण कोरियाली वार्ता प्रतिनिधिका प्रमुख री सोङ ग्वोनले भने ।

तपाईको प्रतिक्रिया