logo

bar

दोस्रो एकदिवसीयमा पनि न्युजिल्यान्ड विजयी

एजेन्सी नेल्सन | पुष २६, २०७४

न्युजिल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले मंगलबार भएको दोस्रो एकदिवसीयमा ८ विकेटको फराकिलो हार व्यहोरेको छ । पाँच खेलको सिरिजमा पाकिस्तान दोस्रो खेलको पराजयसँगै २–० ले पछि परेको छ ।

सिरिजको दोस्रो खेलको दोस्रोे इनिङ वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियमअनुसार न्युजिल्यान्डले २५ ओभरमा १ सय ५१ रनको नयाँ लक्ष्य पायो । उक्त लक्ष्य न्युजिल्यान्डले २३.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

न्युजिल्यान्डले १४ ओभरको खेल खेल्दा वर्षा भएको थियो । वर्षा हुनुअघि न्युजिल्यान्डले ६५ रनमा २ विकेट गुमाएको थियो । वर्षा रोकिएपछि नयाँ लक्ष्य पूरा गर्न न्युजिल्यान्डलाई ११ ओभरमा ८६ रन आवश्यक थियो, जुन न्युजिल्यान्डले ७ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्दै जित आत्मसात गर्‍यो । न्युजिल्यान्डले वर्षापछि कुनै पनि विकेट गुमाएन ।

यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो ।

तीन खेलाडीको अर्धशतक
टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले खराब सुरुवातका बाबजुद मध्यम स्कोर तयार गरेको थियो । ओपनरद्वय अजर अली र इमाम उल हक क्रमशः ६ र २ रनमा पेभिलियन फर्किए भने बाबर अजाम पनि १० रनमै आउट हुँदा पाकिस्तानले ३९ रनमा ३ विकेट गुमाउन पुगेको थियो । तर, मध्य र पछिल्ला क्रमका तीन ब्याट्सम्यानले अर्धशतक पूरा गरेपछि पाकिस्तान सम्मानजनक स्कोर तयार पार्न सफल भयो । उसका लागि मोहमद हाफिज, सदाव खान र हसन अलीले अर्धशतक पूरा गरेका थिए । हाफिजले ७१ बलमा ८ चौकाको मद्दतमा ६० रन बनाउँदा सादव खानले ६८ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाएका थिए । पाकिस्तानका लागि तेस्रो अर्धशतकका रूपमा हसन अलीले ५१ रन प्रहार गरे । अलीले ३१ बलमा ४ चौका र ४ छक्काको विस्फोटक इनिङ खेलेका थिए । पाकिस्तानका ६ ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेनन् । न्युजिल्यान्डका लोक्की फर्गुसनले ३ विकेट लिँदा टिम साउदी र टोड आस्लीले समान २ विकेट लिए ।

तेस्रो विकेटका लागि शतकीय साझेदारी
न्युजिल्यान्डका ओपनर मार्टिन गुप्तिल र रोस टेलरले तेस्रो विकेटका लागि १ सय ४ रनको अविजित साझेदारी गरे । गुप्तिलसँग ओपनिङका लागि आएका कोलिन मुन्रो शून्य रनमा आउट हुँदा केन विलियम्सनले गुप्तिललाई केही समय साथ दिए । विलियम्सन पनि १९ रनको अवस्थामा पेभिलियन फर्किएपछि न्युजिल्यान्डको इनिङ टेलर र गुप्तिलले सम्हालेका थिए । टेलरले ४३ बलमा ४५ रन बनाउँदै अविजित रहँदा ४ चौका प्रहार गरेका थिए । सुरुवातबाटै क्रिजमा रहेका गुप्तिलले भने ८६ रनको संयमित, अविजित इंनिङ खेलेका थिए । ७१ बल खेलेका गुप्तिलले ५ चौका र ५ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए ।

तपाईको प्रतिक्रिया