logo

bar

नक्कली सेयर कारोबार गर्ने ब्रोकरलाई १० लाख जरिवाना

नयाँ पत्रिका काठमाडौं, २६ पुस | पुष २६, २०७४

नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनी लि., नेसनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि.को नक्कली सेयर कारोबार गर्ने ब्रोकर कम्पनी र सञ्चालकलाई कारबाही गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्रसम्बन्धी ऐनअनुसार सो कम्पनीहरूलाई कारबाही गरिएको बोर्डले जानकारी दिएको छ । बोर्डले चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली सेयर खरिदबिक्रीमा अग्रवाल सेक्युरिटिज प्रालिलाई तथा नेसनल हाइड्रोपावर कम्पनी लि.को नक्कली सेयर कारोबार भएको सम्बन्धमा श्रीहरि सेक्युरिटिज प्रालिलाई १०–१० लाख रुपैयाँ जरिवाना गरेको छ ।

उनीहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनको दफा ७ फ को उपदफा (१) खण्ड (ख) को उल्लंघन गरेकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (दोस्रो संशोधनसहित) को दफा ७ फ को खण्ड (ख) बमोजिम कारबाही गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी यी दुवै कम्पनीलाई ग्राहकको विवरण सही नराखेको भन्दै ५०–५० हजार जरिवाना गर्ने निर्णय गरेको छ । सेयर खरिद–बिक्रीको झुटो विवरण पेस गर्ने श्रीहरि सेक्यिुरिटी र अग्रवाल सेक्युरिटीका कार्यकारी प्रमुखलाई पनि ५०–५० हजार जरिवाना गर्ने निर्णय धितोपत्र बोर्डले गरेको छ । साथै, सेक्युरिटिज प्रालिलाई पनि ग्राहकको पूर्ण विवरणसहितको अभिलेखमा कमजोरी भएको भन्दै रु. ५० हजार जरिवानासहित सचेत गराएको छ ।

बोर्डले बजार अनुगमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत पहिलो कारबाही गरेको हो । यस्ता कारबाहीले सम्पत्ति शुद्धीकरण तथा धितोपत्रसम्बन्धी कसुरको न्यूनीकरण हुने तथा दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया