logo

bar

स्वास्थ्यलाई ध्यान दिँदै रक्सी छाडेँ : मुकारुङ

नुनुता रार्इ काठमाडाैं | पुष २५, २०७४

गज्जब मेरो फिटनेस : श्रवण मुकारुङ, कवि

पहिला रक्सी धेरै पिउँथे
पहिला खुब धेरै रक्सी पिइन्थ्यो । उमेरसँगै स्वास्थ्यको ख्याल गर्नुपर्ने भएकाले अहिले रक्सी चट्टै छोडेँ । यो स्वास्थ्यका लागि सबैभन्दा ठूलो शत्रु हो । अहिले प्रेसर पनि छ । कहिलेकाहीँ कार्यक्रममा एकदम थोरै मात्रामा पिउने गरेको छु । त्यो पनि हामी राईहरूको संस्कारमा रक्सी प्रसादका रूपमा प्रयोग हुन्छ । त्यस्तै प्रसादका रूपमा पिउन आग्रह हुँदा पिउने हो । नत्र पिउँदिनँ । पहिलाजस्तो साथीभाइसँग भेट भएपछि पिउने बानी त्यागेको छु । आफ्नो स्वास्थ्यप्रति सचेत हुनैपर्छ ।

योगा गर्छु
म दैनिक योगा गर्छु । कपालभाती, अनुलोम विलोम गर्छु । यो स्वास्थ्यका लागि फाइदाजनक पनि पाएँ । टाउको दुख्ने, ग्यास्ट्रिक पोल्नेजस्ता समस्याहरू कम भएको छ । मैले यो कतै योगा सेन्टरमा गएर गरेको पनि होइन । घरमै बसेर टिभीमा रामदेवको कार्यक्रम हेरेर सिकेको हुँ । योगाभन्दा बाहेक कोठामा नै सामान्य उफ्रिने गर्छु । यसले मलाई स्फूर्ति दिन्छ ।

खानपिनमा ध्यान दिन्छु
खानपिनमा ध्यान दिने गरेको छु । टन्न भइन्जेल खाँदिनँ । अझै दुई–तीन गाँस खाउँखाउँ लाग्दालाग्दै उठ्ने गरेको छु । खाना टन्न खानुहुँदैन । कम तर छिटो–छिटो खानुपर्छ भन्ने मान्यतालाई सामान्य पछ्याउने कोसिस गरिरहेको छु । त्यस्तै, मसालेदार तरकारी कम खान्छु । चिल्लो कम, पिरो सामान्य मात्र हुन्छ ।

खसी, राँगाको मासु खाँदिनँ
मेरो प्रेसर हाई भएको कारण खसी र राँगाको मासु खान मिल्दैन । डाक्टरको सल्लाहले छाडेको हुँ । पहिला धेरै मासु खाने बानी थियो, तर अहिले बंगुर र कुखुराको मात्र मासु खान्छु । यो पनि नियमित खाँदिनँ । हप्तामा एक वा दुईपटक खान कोसिस गर्छु । यद्यपि कहिलेकाहीँ त्यस्तै संयोग प¥यो भने हप्तामा चारपटक पनि खानुपर्ने हुन्छ ।

सागसब्जी बढी खान्छु
अहिले स्वास्थ्यका लागि भनेर हरियो सागसब्जी बढी खाइन्छ । हिजोआज मेरो भान्सामा सागसब्जी धेरै पाक्ने गरेको छ । मौसमअनुसार हरियो सागपात खाइन्छ । स्वास्थ्यका लागि फाइदा पुग्नेखालका सागसब्जी खोजेर पनि खाइन्छ । पालुंगो, कुरिलोजस्ता सागहरू खोजेर थोरै भए पनि खाने गर्छु ।

पानी धेरै पिउँछु
जति बढी पिउँदा पनि स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने भनेको पानी हो । अझ भनौँ स्वास्थ्यका लागि अमृत हो पानी । त्यसैले बिहान उठेदेखि साँझ सुत्नेवेलासम्म कम्तीमा चार लिटर पानी पिउँछु । अफिसमा पनि मेरो टेबलमा पानीको ग्लास अनिवार्य हुन्छ ।

ग्रिन टी पिउँछु
म नियमित ‘ग्रिन टी’ पिउँछु । इलामको अर्गानिक ‘ग्रिन टी’ नियमित रूपमा पिउँछु । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । कहिलेकाहीँ सादा पानी पिउन मन नलागे पनि ‘ग्रिन टी’ पिउँदा पानीको मात्रा पनि पुग्छ । जाडो मौसममा ठीक पनि हुन्छ ।

नियमित स्वास्थ्य जाँच हुँदैन
नियमित स्वास्थ्य जाँचचाहिँ हुँदैन । प्रेसर हाई भएकाले कम्तीमा पनि मासिक रूपमा जाँच गराउनुपर्ने हो, तर त्यो भइरहेको छैन । लगभग तीन महिनाअघि भएको थियो । त्यसपछि गरेको छैन । मेरो कमजोर पक्षमध्ये एक हो यो । स्वस्थ रहनका लागि गर्नुपर्ने अन्य सामान्य प्रक्रियाहरू भए पनि नियमित स्वास्थ्य जाँचलाई भने निरन्तरता दिन सकेको छैन ।

तपाईको प्रतिक्रिया