logo

bar

उत्तर र दक्षिण कोरियाका प्रतिनिधिबीच भेटवार्ता

एजेन्सी सिउल, २५ पुस | पुष २५, २०७४

दक्षिण कोरिया र उत्तर कोरियाबीच तय भएको उच्चस्तरीय वार्तापूर्व दुई कोरियाका प्रतिनिधिबीच भेटवार्ता भएको छ । मंगलबारका लागि तय गरिएको उच्चस्तरीय वार्ताअघि दुई कोरियाका प्रतिनिधिबीच भेटवार्ता भएको दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले जनाएको छ ।

वार्तापूर्वको तयारी बैठक
दुई कोरियाबीच आज हुने वार्ताका विषयमा छलफल गर्नुपूर्व तयारी बैठक आयोजना गरिएको दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयका प्रवक्ता बेइक तेई हायइनले जानकारी दिए । तयारी बैठकमा दक्षिण कोरियामा यही फेब्रुअरीमा आयोजना हुने हिउँदे ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिताबारे छलफल भएको उनले बताए ।

उत्तर र दक्षिण कोरियाको सिमामा बैठक बसेको थियो । बैठकमा सहभागीका बारेमा भने गोप्य राखिएको छ । बैठकमा कोरियाली प्रायद्वीपमा जारी तनाब र उत्तर कोरियाका आणविक गतिविधिबारे भने चर्चा हुन सकेन । मंगलबार हुने वार्तामा ती विषयमा छलफल हुने जनाइएको छ ।

द्विपक्षीय र आपसी विषयमा छलफल
आज हुने वार्तामा दुई कोरियाको आन्तरिक विषयभन्दा पनि कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका विषयमा केन्द्रित हुने जनाइएको छ । ‘मंगलबारको वार्ता दक्षिण कोरियामा हुने हिउँदे खेलकुदमा उत्तर कोरियाको सहभागिता, कोरियाली प्रायद्वीपमा शान्ति र पारस्परिक सम्बन्धका विषयमा वार्ता केन्द्रित हुनेछ,’ दक्षिण कोरियाको एकता मन्त्रालयलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरियाली युद्धका क्रममा अलग भएका एउटै परिवारका सदस्यहरूको पुनर्मिलनबारे पनि छलफल हुने सो मन्त्रालयका एक अधिकारीले बताए । वार्तापछि दुई देशबीचको सम्बन्धमा सुधार आउने दक्षिण कोरियाले विश्वास गरेको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘वार्तापछि दुई कोरियाबीचको सम्बन्ध थप मजबुत हुने हाम्रो अपेक्षा छ ।’

दुवै देशका वार्ता टोली गठन
दक्षिण र उत्तर कोरियाबीच आज हुने उच्चस्तरीय अन्तरसरकारी वार्ताका लागि यसअघि नै दुई देशले वार्ता टोली सार्वजनिक गरेका थिए । बहुप्रतिक्षित सो वार्ताका लागि शनिबार र आइतबार क्रमशः दक्षिण कोरिया र उत्तर कोरियाले पाँच–पाँच सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

उत्तर कोरियाले गत बुधबार सार्वजनिक गरेको हटलाइन सेवामार्फत दुवै देशले वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्री चो म्योङ गियोनको नेतृत्वमा सिउलले पाँच सदस्यीय उच्च अधिकारीको नाम सार्वजनिक गरेको थियो ।

वार्ता तयारी तीव्र
दक्षिण कोरियाको प्रस्तावअनुसार मंगलबार यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुन लागेको हो । दुई देशबीचको बहुप्रतिक्षित वार्ताको तयारी तीव्र रूपमा भइरहेको दक्षिण कोरियाली अधिकारीहरूले जानकारी दिएका छन् । जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनपछि यी दुई देशको आन्तरिक राजनीतिक परिस्थिति फेरिएको छ ।

मुनको सकारात्मक पहल
गत वर्षको मे महिनामा दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि मुन जाय इनले उत्तर कोरियासँगको शान्ति वार्तालाई जोड दिँदै आएका छन् । राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण हुनुपर्ने बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्योङयाङविरुद्ध आक्रामक अभिव्यक्ति नदिनसमेत सुझाब दिएका थिए ।

तर, राष्ट्रपति मुनले उत्तरसँग बारम्बार राखेको द्विपक्षीय वार्ता प्रस्तावलाई उत्तरले चासो दिएको थिएन । दक्षिण कोरियाको वार्ता प्रस्ताव र विश्व समुदायको आग्रहलाई बेवास्ता गर्दै दक्षिण कोरियाले शृंखलाबद्ध रूपमा क्षेप्यास्त्र प्रहार गरेको थियो । तर नयाँ वर्षको सम्बोधनमा उत्तर कोरियाका नेता किम जोङ उनले नाटकीय ढंगले दक्षिण कोरियासँग वार्ता गर्ने प्रस्ताव गरेका थिए । मंगलबार हुने वार्तालाई अन्तर्राष्ट्रिय समुदायले समेत विशेष चासोका साथ हेरेको छ ।

अन्तर्राष्ट्रिय समुदायको स्वागत
आज हुने दुई देशबीच हुन लागेको उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघलगायत विश्व समुदायले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका छन् । वार्ताले दुई कोरियाबीच पूर्ण रूपमा शान्ति स्थापना हुने गुटरेजले कामना गरेका छन् । वार्ताको चीन र रसियाले पनि स्वागत गरेको छ ।

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई कोरियाबीच हुन गइरहेको वार्ताको स्वागत गरेका छन् । उनले भनेका छन्, ‘म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु