logo

bar

एसेज सिरिज अस्ट्रेलियाद्वारा ४–० ले कब्जा

एजेन्सी मेलबर्न, २५ पुस | पुष २५, २०७४

उस्मान खुवाजाको संयमित इनिङ, मार्स दाजुभाइको शतक तथा पाट कमिन्स र नाथन लियोनको सानदार बलिङको मद्दतमा अस्ट्रेलियाले अन्तिम एसेज टेस्ट इनिङ र १ सय २३ रनले आफ्नो पक्षमा पार्दै सिरिज ४–० ले कब्जा गरेको छ ।

अस्ट्रेलियाविरुद्धको एसेज टेस्टको अन्तिम दिनको खेल ९३ रनमा ४ विकेटबाट सुरु गरेको इंग्ल्यान्ड सुरुवातबाटै निष्प्रभावी देखियो । दोस्रो इनिङमा इंग्ल्यान्ड १ सय ८० रनमै अलआउट भएपछि सिरिज अस्ट्रेलियाले सहजै आफ्नो पक्षमा पार्‍यो ।

इंग्ल्यान्डको खराब ब्याटिङ
अन्तिम टेस्टमा सान्त्वना जितको खोजीमा रहेको इंग्ल्यान्ड उत्कृष्ट इनिङ खेल्न असफल रह्यो । ब्याटिङमा निष्प्रभावी देखिएको इंग्ल्यान्ड अन्तिम टेस्टमा सहज रूपमा अस्टे«लियालाई जित सुम्पिन बाध्य भयो ।

इंग्ल्यान्डलाई रोक्न अस्ट्रेलियाका लागि पाट कमिन्सले ४ विकेट लिए । इंग्ल्यान्डका कप्तान जोए रुटले ५८ रनमा रिटायर्ड हर्ट हुँदै मैदान छाड्दा अन्य खेलाडीको कुनै महत्वपूर्ण योगदान रहेन । इंग्ल्यान्डका एलेस्टर कुकले १० रन जोड्दा मार्क स्टोनम्यान शून्य रनमा आउट भए । जेम्स भिन्सले १८ र डविड मालन ५ रनमा पेभेलियन फर्किएका थिए । पहिलो इनिङमा इंग्ल्यान्ड ३ सय ४६ रनमा अलआउट हुँदा अस्ट्रेलियाले ७ विकेटको क्षतिमा ६ सय ४९ रन जोडेर इनिङ समाप्तिको घोषणा गरेको थियो ।

अस्ट्रेलियाका तीन ब्याट्सम्यानको शतक
अस्ट्रेलियाका लागि तीन ब्याट्सम्यानले शतक प्रहार गरे । तेस्रो दिन उस्मान खुवाजाले १ सय ७१ रनको शतकीय पारी खेले । चौथौ दिन मिचेल र सउन मार्स दाजुभाइले सानदार शतकीय इनिङ खेले । सउनले १ सय ५६ रन जोड्दा मिचेलले १ सय १ रनको योगदान दिएका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए । इंग्ल्यान्डका लागि जोए रुटले ८३ र डविड मालनले ६२ रनको योगदान दिनु सर्वाधिक रनका रूपमा रह्यो । बलिङतर्फ पाट कमिन्सले ४ विकेट लिँदा मिचेल मार्स र जोस हेजलउडले २–२ विकेट हात पारे ।

कमिन्स खेलको म्यान अफ द म्याच र कप्तान स्टेभिन स्मिथ म्यान अफ द सिरिज घोषित भए । यसअघि लगातार तीन टेस्टमा जित निकाल्दै सिरिज कब्जा गरेको अस्ट्रेलियाले चौथो टेस्ट बराबरी खेलेको थियो । चौथो टेस्टको बराबरीले क्लिनस्विपबाट इंग्ल्यान्ड जोगियो ।

तपाईको प्रतिक्रिया