logo

bar

अार्यघाटकाे कथा : ६ वर्ष अरूको किरिया बस्नेदेखि चार पूर्वप्रधानमन्त्रीको शव जलाउनेसम्म

नयाँ पत्रिका | पुष २२, २०७४

शब्द : महेश तिमल्सिना
तस्बिर : कृष्ण पौड्याल

६ वर्ष अरूको किरिया बस्नेदेखि चार पूर्वप्रधानमन्त्रीको शव जलाउनेसम्मकाे कथा-

घाट मानिसको अन्तिम गन्तव्य हो । उसको पार्थिव शरीरको अन्त्येष्टि त्यहीँ गरिन्छ । काठमाडौं उपत्यकामा अन्त्येष्टि गर्ने ठाउँमध्येको एक हो पशुपति आर्यघाट । जहाँ दिनहुँ दर्जनौँ मानिसको अन्त्येष्टि गरिन्छ । अरूको पार्थिव शरीर अन्त्येष्टि (शव दहन) गरेकै भरमा कतिपयको दैनिकी चलेको छ । तिनैमध्येका एक हुन् काठमाडौं थानकोटका ज्ञानप्रसाद आचार्य । उनी उमेरले ६७ पुगे । तैपनि, आफूलाई ठिटै सम्झन्छन् र निरन्तर शव जलाउने काम गर्दै आएका छन् ।

आचार्यले पशुपति आर्यघाटमा शव जलाउन थालेको ३१ वर्ष भयो । कतिपयले यो पेसालाई घृणित रूपमा लिन्छन् । त्यसमा आचार्यको गुनासो छ । भन्छन्, ‘मैले शव जलाउने काम गरेर धर्म कमाइरहेको छु ।’ पहिले शव जलाउनेले महिनामा ३० हजारसम्म आम्दानी गर्थे । तर, विद्युतीय शवदाहगृह सञ्चालनमा आएपछि कमाइ घटेको आचार्य बताउँछन् ।

विद्युतीय शवदाहगृह सञ्चालनमा नआउन्जेल उनीहरूले दैनिक काम पाउँथे । अहिले दुई दिनमा एक दिन मात्र काम पाउँछन् । जसले गर्दा कमाइ घटेको दुःखेसो पोख्छन्, काभ्रेका नारायण सत्याल । उनीहरूजस्तै पशुपति आर्यघाटमा शव जलाउने पेसा गर्नेको संख्या २६ छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत घाट सेवा समितिमा रहेर उनीहरू शव जलाउने काम गर्छन् ।

ज्ञानप्रसादले सामान्य नागरिकदेखि राजनेतासम्मको शव जलाएका छन् । उनले प्रधानमन्त्री भएर देश चलाइसकेका कांग्रेसका नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पार्थिव शरीर जलाएका छन् ।

शव जलाउन दाउरामा भन्दा मेसिनमा सस्तो

आर्यघाटको दक्षिणतर्फ वागमती किनारमा दुईवटा ठूला शवदाह मेसिन फिट गरिएका छन् । आर्यघाटमा शव ल्याइसकेपछि मेसिनको छेउमा राखेर पुरोहितमार्फत परम्परागत कर्म गर्न पनि पाइन्छ । त्यसपछि शवलाई मेसिनभित्र हालेर बाहिरबाट स्विच दबाइन्छ । यसरी एउटा शव जलाउन कम्तीमा ४५ मिनेट लाग्छ । साथै, चितामा दाउरा ठोसिरहनुपर्ने झन्झट पनि हुँदैन । विद्युतीय शवदाहमा शव जलाउँदा दाउरामा भन्दा सस्तो पर्छ । त्यसैले हिजोआज धेरैले शव दहनका लागि मेसिन नै रोज्न थालेका छन् । दाउराबाट जलाउँदा १० हजारसम्म खर्च लाग्न सक्छ । तर, मेसिनमा जलाउन तीन हजार रुपैयाँ मात्रै लाग्ने गर्छ । आर्यघाटमा राखिएका दुईवटा मेसिनबाट दैनिक ४० सम्म शव जलाउन सकिन्छ ।

मीतलाई जलाउँदा भावुक भएँ (ज्ञानप्रसाद आचार्य)

मेरो जन्मघर काठमाडौंको थानकोट हो । सुकुम्बासी हुँ । मसँग सम्पत्तिको नाममा केही छैन । थानकोटको एउटा सार्वजनिक चउरमा सानो झुपडीमा बस्दै आएको छु । उमेर ६७ वर्ष भयो । मैले घाट सेवामा काम गर्न थालेको ३१ वर्ष पुग्यो । यसरी हेर्दा मेरो आधा जीवन घाटमै बित्यो । म पशुपति घाट सेवा समितिमा आउँदा त्यो वेला शव जलाउने मानिस खोज्दै हिँड्नुपथ्र्यो ।

मरेको मान्छेसँग सँगै सुत्न सक्छु

मैले काम गर्न सुरु गर्दा एक केजी दाउराको एक रुपैयाँ ६० पैसा थियो । अहिले १० रुपैयाँ भएको छ । म घुम्दैफिर्दै पशुपतिमा आएको थिएँ । त्यो वेलामा शव जलाउने मान्छे पनि नपाइने भएकाले काम ग¥यो भने पैसा पाइँदोरहेछ भन्ने लाग्यो । अनि यो काम गर्न सुरु गरेँ । पहिलो दिन शव जलाउँदा निकै गाह्रो भयो । काम नगरी खान नपाइने हुँदा जसरी भए पनि काम गरेँ । तर, काम गर्ने वेलामा मलाई कहिल्यै पनि डर लागेन । अहिले पनि मरेको मान्छेसँग सँगै सुत् भने म सुत्न सक्छु । त्यस्तै, मलाई घिन र लाज पनि लाग्दैन । घिन र लाज मानेर पनि के गर्नु ? आफ्नो जीविकोपार्जनका लागि काम गर्नैपर्ने रहेछ । त्यसैले मलाई धेरैजसोले थप पैसा पनि दिएर जान्छन् ।

सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मको शव जलाएको छु

मैले यस घाटमा सामान्य नागरिकदेखि प्रधानमन्त्रीको पार्थिव शरीरसम्म जलाएको छु । बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका चर्चित नेताहरूको शव जलाएको छु । त्यस्तै, राजा वीरेन्द्रको हत्या भएका वेला पनि मैले नै जलाउनुपर्छ भनेका थिए । तर, मलाई त्यो दिन निकै डर लाग्यो, म आइनँ ।

मीतलाई जलाउँदा भावुक भएँ

एकपटक मैले आफ्नै मीतलाई जलाउनुप¥यो । त्यो वेला म निकै भावुक भएँ । मीतको शरीर जलाउँदा मेरो आँखामा आँसु थामिएन । त्यस्तै, शवमा दागबत्ती दिने वेला कतिपयले रुवाबासी गर्छन् । त्यस्तो वेलामा मेरो पनि आँसु थामिँदैनन् । अनि सँगै रोएर उनीहरूलाई सम्झाउँछु । कतिपयले हाम्रो पेसालाई घृणाका रूपमा हेरिदिन्छन् । तैपनि यति लामो समय यही पेसामा बिताएँ । अहिले पनि म हप्तामा एकपटक घर जान्छु । मेरो एउटा छोरा, एउटी छोरी र दुईवटी श्रीमती छन् ।

विद्युतीय शवदाहले कमाइ घटाइदियो

अहिले पहिलाकोजस्तो कमाइ छैन । बिजुलीबाट शव जलाउँछन् । पहिला यो मेसिन नहुँदा दिनमा एउटा शव जलाइन्थ्यो भने अहिले दुई दिनमा एउटा शव जलाउन पाइन्छ । त्यसैले हाम्रो आधा कमाइ घटेको छ । जसले गर्दा अब न ढोकामा न डोकामा हुने वेला भएको छ । सरकारले केही गरिदिन्छ कि भन्ने आशा छ ।

शव उठेर आउँछ कि भनेर डर लाग्थ्यो (गणेशप्रसाद ढकाल )

मेरो घर काभ्रेको देउपुरमा पर्छ । अहिले ५१ वर्षको भएँ । काठमाडौं आएको लगभग ४० वर्ष भयो । सुरुमा कसरी पैसा कमाउन सकिन्छ र आफ्नो जीवनलाई सरल बनाउन सकिन्छ भन्ने थियो । सुरुसुरुमा त कुनै व्यवसाय अथवा जागिर गरेर जीविकोपार्जन गर्ने सोचमा थिएँ । तर, सोचेकोजस्तो भएन । एक वर्षजति जागिर खोज्दै काठमाडौंका गल्लीहरू भौँतारिएँ । एक दिन विरक्त लागेर पशुपतिनाथको दर्शन गर्न आएँ । यहाँ केही साथीहरूसँग चिनजान गरेँ । साथीहरूले यहीँ काम गरौँ पैसा कमाइन्छ भन्न थाले । जागिर नपाएर भौँतारिइरहेका वेला पैसा पाइन्छ भनेपछि ०३९ बाट शव जलाउने काम गर्न सुरु गरेँ । यसरी मेरो जागिर खाने सपना सपना नै भयो ।

शव उठेर आउँछ कि भन्ने डर

सुरु–सुरुमा शव जलाउने काम गर्नुपर्दा दुःख लाग्थ्यो । तर, के गर्नु खानका लागि भए पनि काम गर्नु परिहाल्यो । सुरुसुरुमा निकै डर पनि लाग्यो । पहिला त म शव जलाउने दाउरा बोकेर अरूले शव जलाएको हेर्र्थें । त्यसवेला शव पोल्दापोल्दै उठेर आउने पो हो कि भन्ने लाग्थ्यो । ८–९ महिनासम्म यस्तो भयो । आफ्नो दैनिकी नै यस्तै भएपछि काम नगरी सुख थिएन । शव जलाउने काम आफैँमा पनि घिनलाग्दो काम हो जस्तो लाग्छ, तर पनि गरिरहेको छु । सुरुसुरुमा चाहिँ मलाई शव जलाउँदा निकै घिन लाग्थ्यो । अझै भन्ने हो भने खाना खाने समयमा चाहिँ घिन मानीमानी खाइन्थ्यो । तर, अहिले बानी परिसक्यो ।

मासिक ३० हजार कमाउँथेँ

पहिला हामीलाई कामको निकै चापाचाप हुन्थ्यो । तर, अहिले विद्युतीय शवदाह आएपछि भने हाम्रो काममा कमी आएको छ । पहिला मैले दैनिक काम हुँदा मासिक ३० हजारसम्म कमाउँथेँ । तर, अहिले १५ देखि २० हजारसम्म कमाउँछु । मेरो परिवारमा तीन छोरी, एउटा छोरा र श्रीमती छन् । जे होस् यो कमाइले बिहानबेलुका छाक टार्न र छोराछोरी पढाउनलाई धानेको छ । हाम्रो पेसामा काम गरे पैसा पाइन्छ नत्र पाइँदैन । हाम्रो कुनै जागिरे जिन्दगी होइन । त्यसैले कहिलेकाहीँ आफ्नै आफन्त वा नजिकको मान्छेको पनि शव जलाउनुपर्ने हुन्छ । त्यो वेलामा मनभित्र पीडा लुकाएर पनि शव जलाउँछु ।

रुँदै छिमेकीको शव जलाएँ

मैले रुँदै आफ्नै छिमेकीको शव जलाएको छु । यसरी हामीले आफ्नो कर्तव्य सम्झेर काम गरिरहेका हुन्छौँ, तर हामी सधैँ अपहेलनामा पर्नुपरेको छ । सरकारले हाम्रो काम, मर्कालाई बुझेर हामीलाई ज्यालादारीमा भन्दा पनि तलबमा राखिदिए हुन्थ्यो भन्ने आशा राखेको छु ।

आधा जीवन पशुपतिमै बिताएँ (कृष्णबहादुर मगर)

म काठमाडौंको बत्तीसपुतलीमा जन्मेको हुँ । तर, मेरो पुख्र्यौली घर भने गोरखा हो । पहिला हाम्रो बत्तीसपुतलीमा थुपै्र रोपनी जग्गा थियो । जुन मेरो बुवाले बेचेर खाइदिनुभयो । त्यसपछि मैले बाल्यकालमै निकै दुःख पाएँ । म ६ वर्षको उमेरमा पशुपति आएँ । सुरुसुरुमा चढाएका पैसा टिप्थेँ । यसरी नै यहाँ रमाउन थालेँ र मेरो वासस्थान नै पशुपति मन्दिरपरिसर हुन थाल्यो ।

पुरानाले पिट्दा सहेर बस्थेँ

अरूले फालेका पैसा टिप्दाटिप्दै अलि ठूलो भएपछि शव जलाउने दाउरा बोक्न थालेँ । त्यसवेला यहाँ काम गरेर अलि पुराना भएकाहरूले पिट्थे । तर, पिटाइ खाँदा पनि सहेर बस्नुपर्ने बाध्यता थियो ।
यसरी दाउरा बोक्दाबोक्दै जनजाति समुदायका मानिसको शव जलाउन थालेँ । अहिले पनि म तिनै समुदायका मानिसको शव जलाउँछु । म विशेषगरी मगर, गुरुङ, राईहरूको शव जलाउँछु । कतिपय साथीहरू पहिलोपटक शव देख्दा डर लागेको अनुभव सुनाउनुहुन्छ, तर म पहिल्यैदेखि यहाँ बसेको हुनाले शव देख्दा डर लागेन ।

शव जलाउँदाजलाउँदै उठेजस्तो लाग्यो

पहिलोपटक शव जलाउँदा भने निकै डर लागेको थियो । एकपटक दाउरा उचित तरिकाले नमिल्दा जलाउँदाजलाउँदै शव उठेजस्तो लाग्यो । त्यसपछि त मलाई झनै डर लाग्यो । यसरी डर लागे पनि काम गरेर खानुपर्छ भन्ने सोच आएकाले इमानदारीपूर्वक काम गरेँ । मेरो दाइ पनि यहीँ काम गर्नुहुन्थ्यो । उहाँ बितेको २ वर्ष भयो । उहाँको शव म आफँैले जलाएँ । यसरी एउटै कोखबाट जन्मेको दाजुको शव जलाउनुपर्दा लडिबुडी गरेर रोएको छु ।

जीवनको लामो समय पशुपतिमै बिताएँ । पहिला पशुपतिमा अहिलेकोजस्तो मानिसको चापाचाप थिएन । त्यसवेला रात परेपछि चकमन्नै हुन्थ्यो । मेरो उमेर सानै भएर पनि होला बेलुका भएपछि डर लाग्थ्यो । कसरी रात बिताउने होला भनेर पिरोलिन्थेँ । वास्तवमा भन्ने हो भने मेरोजस्तो जिन्दगी अहिले यहाँ काम गर्ने साथी कसैले पनि झेल्नुपरेको छैन । यहाँ काम गर्दागर्दै केही समय ड्राइभर भएर गाडी पनि चलाएँ । तर, मलाई त्यहाँ पनि सन्तुष्टि मिलेन । पहिल्यैदेखि पशुपतिको मोहले नछाडेकाले फेरि शव जलाउने काममा नै सामेल भएँ ।

६ वर्षको उमेरदेखि पशुपति क्षेत्रमै छु

मैले जीवनको ४५ वर्ष पशुपतिमा बिताइसकेँ । ६ वर्षको उमेरदेखि यहाँ छु । सुरुमा शव जलाउँदा ७५ रुपैयाँ पाउँथेँ । अहिले एक हजार ८० रुपैयाँ पाउँछु । मेरा दुईवटी श्रीमती छन् । दुईवटा छोरालाई बोर्डिङमा पढाएको छु । एउटी छोरी विदेशमा छिन् । यति पैसाले हामीलाई गुजारा चलाउन गाह्रो छ । तीन–चार घन्टा आगोमा काम गर्नुपर्छ जसले गर्दा हामीलाई निकै दुःख छ । तर, हाम्रो दुःख बुझिदिने कोही छैन । अब सरकारले हामीलाई स्थायी गरिदिने हो भने पक्कै पनि हाम्रो जीवन सहज हुने थियो ।

६ वर्ष अरूको किरिया बसेँ (नारायण सत्याल)

मेरो घर काभे्रको दाप्चा हो । परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । त्यसैले पारिवारिक आर्थिक अवस्थालाई मजबुत बनाउने उद्देश्यले ०५९ मा काठमाडौं आएँ । गाउँबाट काठमाडौं आएपछि पहिला एक–दुई वर्ष मैले बाहिरै काम गरेँ । त्यसपछि त्यहाँको पारिश्रमिक सन्तोषजनक नभएपछि पशुपतिमा आबद्ध भएँ ।

यहाँ मेरो दाइ, काकाहरू शव जलाउने काम गर्नुहुन्थ्यो । उहाँहरूले यहाँ काम ग¥यो भने राम्रो पैसा कमाइन्छ भनेपछि म पनि यतै आएँ । जोकोही पनि मानिसले सुखसँग आफ्नो जीविका चलाउँ, धेरै पैसा कमाउँ, परिवारलाई सुखसँग पालौँ भन्ने सोचेको हुन्छ । तर, सबै कुरा सोचेकोजस्तो कहाँ हुँदो रहेछ र । मेरो पढाइको स्तर पनि त्यति धेरै थिएन र आफूले लगानी गरेर कुनै व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नभएकाले म यो पेसा रोज्न आइपुगेँँ ।

किरिया बस्दा ४ हजार पाइन्थ्यो

सुरुसुरुमा गाउँका काका, दाइ पर्नेहरूले गरेका काम हेर्थें । यहीक्रममा पशुपतिमा किरिया बस्ने काम गर्न थालेँ । म करिब ६ वर्षजति अरूको किरिया बसेँ । त्यसरी किरिया बसेबापत त्यो वेलामा ४ हजार रुपैयाँ पाइन्थ्यो । तर, त्यो असाध्यै गाह्रो काम हो । १३ दिनसम्म नुन नखाई बस्दा निकै कठिन हुन्थ्यो । म पूर्वआइजिपी हेमबहादुर सिंहको बुवा बितेको वेलामा किरिया बसेको थिएँ । त्यो वेलामा उहाँको बुवाको छोरासरह भएर किरिया बसेँ । यसरी मैले प्रहरी र सेनाको उच्च पदमा रहेकाहरूको आमाबुवा बित्दा धेरैको किरिया गरेको छु । उनीहरूको आदेशअनुसार चल्नुपथ्र्यो । त्यस्तै, उनीहरूले लगाएको धोती कपडाहरू आफैँले धोइदिनुपथ्र्याे । त्यसकारण किरिया बस्दा पनि निकै गाह्रो हुन्थ्यो ।

सपनामा शव जलाएको देख्न थालेँ

६ वर्ष किरिया बस्ने काम गरेपछि ०६७ मा मलाई शव जलाउनेतर्फ ल्याइयो । सुरुमा शव जलाउँदा मलाई निकै डर लाग्यो । साथै, शव छुनलाई घिन पनि लाग्ने हुन्थ्यो । काम गरेको ४ महिनाजति त खाना खान नै घिन लाग्यो । म माछामासु पनि खान्छु । त्यसैले मासु खाने वेलामा चाहिँ त्यही शव जलाएको याद आएर मैले धेरैपटक खाँदाखाँदै छाडेको छु ।

यसरी खान लागेको भाग नै छाड्नुपर्दा कहिलेकहीँ कस्तो काम गरेँछु भन्ने पनि लाग्थ्यो । त्यस्तै, सुरुसुरुमा शव जलाउँदा सपनामा पनि शव जलाएको नै देख्न थालेँ । त्यसैले केही समय त मलाई निकै डर लाग्यो । काम गर्दै जाँदा कामको अनुभव पनि हुँदै गयो । जुनसुकै काम सजिलैसँग सम्पन्न हुँदैन । त्यसमा पनि शव जलाउने काम आफैँमा कठिन काम हो । अझ जन्डिस र क्यान्सर भएका मानिस जलाउन प¥यो भने निकै गाह्रो हुन्छ ।

सुशील कोइरालाको शरीर जलाएको ज्याला चार महिनापछि

यसरी आफ्नो काम गर्दै जानेक्रममा मैले विभिन्न मानिसलाई जलाएँ । तर, सबैलाई त चिन्न सम्भव हुँदैन । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको शरीर ग्रुपमा मैले पनि जलाएको थिएँ । उनको शव जलाएको ४ महिनापछि मात्र मैले ज्याला पाएँ । हाम्रो समाजमा कामलाई सानो–ठूलो भनेर विभाजन गर्ने चलन छ । तर, त्यो राम्रो होइन । जोसुकै मानिसले आफूले जुन काम गर्न लागेको छ, त्यसमा दत्तचित्त भएर लाग्नुपर्छ । यसो ग¥यो भने थप सुविधा पनि पाउन सकिन्छ । त्यसैले कहिलेकहीँ मैले गरेका काम राम्रो लागेर कतिपयले थप पैसा दिनुहुन्छ । त्यो पैसाचाहिँ हामीले कतै बुझाउनुपर्दैन । मैले शव जलाएर बक्सिसस्वरूप ५ हजारसम्म पाएको छु । हाम्रो ज्यालादारी काम भएको हुनाले आफूले काम गरेअनुसारको पैसा पाइन्छ । यो हाम्रो पेसा हो, त्यसैले कहिलेकाहीँ नजिकका आफन्तको पनि शव जलाउनुपर्ने हुन्छ ।

साथीको शव जलाउँदा भक्कानिएँ

मैले पनि आफ्नो अत्यन्तै मिल्ने साथीको शव जलाएको छु । त्यसवेला म निकै भक्कानिएको थिएँ । त्यस्तै, कहिलेकाहीँ नचिनेकै भए पनि बच्चाको, भर्खरै विवाह भएको मानिसको शव जलाउनुपर्दा मन कटक्कै खान्छ । तर, सबैलाई पर्ने यही नै हो, जन्मेपछि एक दिन मर्नैपर्छ भनेर मन बुझाउँछु । मानिसले पेट पाल्नका लागि एउटा रोजीरोटी गर्नै परिहाल्यो । तर, कहिलेकाहीँ कोही धनीमानी मरेर जलाउन पाएचाहिँ पैसा पाइन्थ्यो
भन्ने लाग्छ ।

धन र धर्म दुवै कमाउन शव जलाएँ

मान्छे मरेर कोही पीडामा परिरहेको हुन्छ, हामीलाई चाहिँ मान्छे मरे काम गर्न पाइन्थ्यो, पैसा कमाउन पाए हुन्थ्यो भन्ने लाग्दाचाहिँ कहिलेकाहीँ कस्तो पेसा गरिएछ भनेर धिक्कार लाग्छ । तर, आफ्नो भाग्यको कुरा हो । किनकि यहाँ कोही कसैले यहाँ आएर यो काम गर्छु भनेर पनि पाइँदैन र गर्दिनँ भनेर पनि पाइँदैन । यो पेसामा पैसा नलिई काम ग¥यो भने ठूलो फल पाइन्छ रे भन्ने धर्मग्रन्थमा उल्लेख छ । मेरो ससुरा बाजे पनि पण्डित हुनुहुन्छ । त्यसैले उहाँलाई सोधेर मात्र यो पेसा सुरु गरेको थिएँ । उहाँले पनि यसै भन्नुभएको थियो ।

मैले धन पनि धर्म पनि हुने भएर यो पेसा अँगालेको थिएँ । तैपनि कतिपयले यसलाई घृणित पेसाका रूपमा लिइदिँदाचाहिँ साह्रै दुःख लाग्छ । जोसुकै मानिसले जुन काम गरे पनि आखिर निर्भर हुनुपर्ने भनेको त पारिश्रमिकमा नै हो ।

पहिला विद्युतीय शवदाहगृह सञ्चालनमा नआउँदा सजिलैसँग जीविकोपार्जन चलेको थियो । तर, अहिले काम गर्न कुर्नुपर्छ । त्यसैले पछिल्लो समय जीविकोपार्जनका लागि अलि कठिन भएको छ । तर, अरूले जे भने पनि मैले यही पेसाबाट आफ्नो परिवारलाई राम्रोसँग पालेको छु । तैपनि सरकारले हाम्रो दुःखलाई हेरेर हामीलाई स्थायी गर्नतर्फ पहल गरिदिए हुन्थ्यो भन्ने चाहन्छु ।

ज्यामी, पेन्टरपछि यो पेशामा आएँ (पुष्प पौडेल)

मेरो जन्म काभे्रमा भएको हो । म अहिले ५५ वर्षको भएँ । ०४४ देखि काठमाडौंमा बसोवास गर्दै आएको छु । त्यसवेला घरको आर्थिक अवस्थाले विभिन्न काम खोज्दै काठमाडौं प्रवेश गरेको थिएँ । यसरी काठमाडौं आएपछि सुरुसुरुमा ज्यामी काम गरेँ । त्यसपछि केही समय पेन्टिङ पेसा पनि गरेँ । म पशुपति क्षेत्रभित्रै बस्थेँ । यहाँ शव जलाउनेमा धेरैजसो काभ्रेकै साथीहरू भएकाले उहाँहरूसँग चिनजान भयो । चिनजान भएपछि ०४९ मा किरियापुत्रीका रूपमा काम गरेँ । त्यसवेला किरियापुत्री बसेबापत ४ हजार रुपैयाँ पाइन्थ्यो । म बस्न त थुप्रैको किरिया बसेँ । तर, प्रज्ज्वलशमशेरको आमा बित्दा किरिया बसेकोचाहिँ अझै पनि याद छ । लामो समय किरियापुत्रीका रूपमा काम गरेपछि ०६७ देखि शव जलाउने काम गर्न थालेँ ।

सरकारले हाम्रो स्वास्थ्यमा ध्यान देओस् भन्ने चाहन्छु

शव जलाउन थालेको दुई महिनाजति भएको थियो । त्यही वेलामा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई बित्नुभयो । उहाँको शव जलाउँदा म पनि थिएँ । यसरी सुरुसुरुमा शव जलाउँदा निकै गाह्रो भयो । कतिपय साथीहरूले डर लाग्यो भन्नुहुन्थ्यो, तर म पहिल्यैदेखि यहीँ बसेको हुनाले डर लागेन । सुरुसुरुमा अप्ठ्यारोचाहिँ भयो । शव जलाउने काम आफैँमा घिनलाग्दो काम हो । जसले गर्दा कहिलेकाहीँ जलाउँदाजलाउँदै पेट फुट्ने हुन्थ्यो । त्यस्तो वेलामा चाहिँ निकै घिन लाग्थ्यो । विशेषगरी खाना खाने वेलामा अलि अप्ठ्यारो महसुस भयो । तर, बिस्तारै बानी प¥यो । मैले शव जलाउँदा सुरुसुरुमा ६ सय ३० रुपैयाँ पाउँथेँ । अहिले एक हजार ८० पाउँछु । पछिल्लो समय जीविकोपार्जन गर्न अलि गाह्रो भएको छ । त्यस्तै, धुवाँ, धुलोमा नै हामीले आधा जीवन बिताइसकेका छौँ । त्यसैले सरकारको ध्यान हाम्रो स्वास्थ्यतर्फ पनि परिदिए हुन्थ्यो भन्ने चाहन्छु ।

तपाईको प्रतिक्रिया