logo

bar

स्वरले चिनिएका ‘एरेन्ज किङ’

कृष्ण कट्टेल काठमाडौं | पुष २२, २०७४

झन्डै दुई दशकअघि अर्घाखाँचीको किमडाँडा गाँजरीमा थुप्रै स्कुले बालबालिकामध्ये एक अनौठो बालक, जो रेडियो काँधमा भिरेर गीत सुन्दै सुन्दै विद्यालय जान्थ्यो ।  विद्यालयनजिक पुगेपछि झाडीमा रेडियो लुकाउँथ्यो । बेलुका घर फर्किंदा उही रेडियोमा गीत सुन्दै घर फर्किन्थ्यो ।

उनै बालक हुन् २ हजारभन्दा बढी गीतका संगीत संयोजक एवं गायक कमल सौराग । हुन त उनले गाएका ‘दैलामुनि जौँ, भन्देऊ न निष्ठुरी तिमी कहाँ छौ’देखि ‘घुम्ती नरपानी’लगायत आधा दर्जन बढी चर्चित लोक तथा दोहोरी गीतका गायक हुन् उनी । उनलाई गायक भनिरहँदा २ हजारभन्दा बढी गीतको संगीत संयोजकको उनको परिचय ओझेलमा पार्नुहुन्न ।

कतिपय देशमा गीत लेख्ने, संगीत गर्ने र गाउने तीन विधाकै स्रष्टा कलाकार उत्तिकै चर्चामा हुन्छन् । तर, केहीबाहेक नेपालका गीतकार तथा संगीतकारले पाउनुपर्नेजति चर्चा र प्रशंसा बटुल्न नसकेको देखिन्छ, गायकगायिकाको तुलनामा ।

अझ ‘एरेन्जर’ जसले विविध बाजाहरूको संयोजन गर्छ । धुन बटुल्छ, संगीतमा बुट्टा भर्छ र श्रुतिमधुर संगीत तयार गर्छ, उसैलाई भने कमैले मात्र चिनिरहेका हुन्छन् । आज हामीले चर्चा गर्दै गरेका गायक सौरागले गाएका गीत उल्लेख नगरिरहने हो भने झट्ट उनलाई कमैले चिन्ने थिए । तर, उनै गायक सौरागले २ हजारभन्दा बढी गीतमा संगीत संयोजन गरिसकेका छन्, जसलाई पनि हामीले समेट्नैपर्ने हुन्छ ।

‘रेडियो खास आफ्नै थियो त ?’ मेरो जिज्ञासाअघि मुस्कुराए कोमल मनका लाग्ने गायक कमल । ‘होइन । माइला बाको हो । मेरो घरभन्दा पारिपट्टि स्कुल जाने बाटोमै माइला बुवाको घर थियो । जाँदा उहाँकै रेडियो भिरेर स्कुल जान्थेँ । फर्किंदा झाडीमा लुकाएको रेडियो झिकेर गीत सुन्दै घर फर्किन्थेँ,’ उनले भने ।

अनामनगरस्थित उनकै कार्यकक्षअघि पुग्दा गायक कमल गीतसंगीतकै कामबाट दिनको सुरुवाती गरिरहेका थिए । बिहानको चिसो मौसमको पर्वाह नगरी उनको एकटक नजर कम्प्युटरमा थियो । सायद इन्टरनेटबाट गीतसंगीत नै सुन्दै थिए । ‘दैलामुनि जौ तपाईंको पहिलो गीत हो र दाइ ?’ मेरो प्रश्न उनीतर्फ हुत्तियो । ‘होइन दोस्रो एल्बम हो ।’

म : ‘अनि पहिलो नि ?’
उनी : ‘घुम्ती नरपानी’

‘यो पनि राम्रै चल्यो क्यारे है दाइ’ मेरो अड्कल सही भएको संकेत गर्दै थियो उनको हाउभाउले । भने ‘एकदमै । अर्घाखाँचीको चर्चित ठाउँ हो घुम्ती नरपानी । सोही नामसहितको गीत बनाइयो, निकै चल्यो ।’ योसहित गीतकार राजकुमार बगरको शब्द तथा कमल सौरागकै लय तथा स्वरमा रहेको ‘दैलामुनि जौ’ले राम्रै आम्दानी ग¥यो ।

लाखभन्दा बढी क्यासेट चक्का बिक्री भएका आफ्नै यी एल्बमबारे सम्झिँदै कमल भन्छन्, ‘०६४ सालसम्म क्यासेट चक्काको राम्रै व्यापार हुन्थ्यो । सिडीको बजार पनि केही समय चल्यो । त्यसपछि त मेमोरीकार्ड, पेनड्राइभलगायतका प्रविधिबाट सित्तैमा गीतसंगीत कपी हुन थाल्यो । फेरि युट्युबको जमाना आयो । अहिले त कलाकारलाई आम्दानी खासै छैन ।’

‘तपाईं गायक बढी कि एरेन्जर ?’ ‘कामको हिसाबमा मैले एरेन्ज धेरै गरेको छु,’ उनले भने । करिब ६० वटाजति मात्रै गीत गाएका रहेछन् उनले । तर, एरेन्ज गरेको गीतको संख्या भने २ हजार नाघ्छ ।
उनले आफूले गाएका कतिपय गीतको म्युजिक भिडियोमा आफैँले अभिनय गरेका छन् । ०५८ सालपछि उनी चलचित्र क्षेत्रमा ‘हिरो’ बन्न काठमाडौं आएका रहेछन् । भन्छन्, ‘स्कुलबाट भागी–भागी फिल्म हेर्न गइन्थ्यो ।

राजेश हमालको फिल्म चलेको छ भनेपछि त झनै क्लासमा बसिरहने कुरै हुन्नथ्यो । यसरी सानैदेखि गायनसँगै चलचित्र क्षेत्रमा धेरै रुचि थियो ।’ ‘पछि किन चलचित्रमा जम्नुभएन त दाइ ?’ मेरो जिज्ञासामा उनी केही मधुर देखिए । भने, ‘काठमाडौं आएर केही समय चलचित्र क्षेत्रकै अग्रजहरूसँग संगत गर्न थालेँ । चलचित्रमा खेल्न उल्टै पैसा माग्नेहरू पनि भेटेँ । धेरै पैसा चाहिनेजस्तो लागेर त्यतैतिर पूरै समय बिताउन नसकिने मैले महसुस गरेँ । त्यही भएर
गीतसंगीतमै लागियो ।’

अध्ययनकै क्रममा उनी मसालको सांगीतिक टोलीमा थिए । त्यसवेला मुलुकमा सशस्त्र द्वन्द्व थियो । मसाल अर्धभूमिगत राजनीतिक पार्टी थियो । जनवादी गीत गाउँदै मसालको ‘रक्तिम’ नामक सांगीतिक समूह गाउँघर पुग्ने गथ्र्यो ।

सोही समूहमा पनि जोडिएका थिए कमल । यति मात्र नभई विद्यालयस्तरीय सांगीतिक कार्यक्रममा अत्यन्तै रुचाइएका र सधैँ पुरस्कृत हुने कलाकार थिए उनी । भन्छन्, ‘रक्तिम परिवारमा लागियो । जनवादी गीतहरू गाउँदै हिँड्दा माओवादीका मान्छे सम्झेर पक्राउ पनि गरे । पटक–पटक प्रहरीले हामीलाई पक्राउ ग¥यो । तर, त्यसवेला द्वन्द्वमा होमिएको माओवादी र मसाल अलग–अलग थिए ।’

बाल्यकालदेखि नै संगीतमा रुचि भएर हालसम्म पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफूलाई उभ्याइरहेका गायक सौरागको वास्तविक नाम भने कमल सुनार हो । विद्यालय पढ्दा शिक्षक–शिक्षिकाले उनलाई एउटा विद्यार्थीभन्दा पनि राम्रो गीत गाउने छात्रका रूपमा चिन्थे । भन्छन्, ‘पढाइमा म त्यति जेहेनदार थिइनँ । तर, सबै शिक्षक–शिक्षकादेखि साथीभाइ गाउँघरकाले राम्रो गीत गाउने कलाकारकै रूपमा चिन्थे ।’

आज मात्रै नभएर भोलिका दिनमा समेत सांगीतिक क्षेत्रमा आफ्नो निरन्तर उपस्थिति जनाउने जमर्को कमल सौरागको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म विभिन्न क्षेत्रमा सांगीतिक कार्यक्रमको सिलसिलामा पुगेका गायक सौराग संगीतप्रेमीको माया सद्भावले टाढा हुन नसकिने बताउँछन् । भन्छन्, ‘अहिलेसम्म यिनै बाजाहरूसँग साइनो गाँसियो । गाउँदागाउँदै यहाँसम्म आइपुगियो । जानेकै यस्तै छ, छोडेर अन्त जाने त सोच्न पनि सकिन्न ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु