logo

bar

‘राँगाको मासुसँग भात खाइन्थ्यो’

नयाँ पत्रिका काठमाडौं | पुष २२, २०७४

एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी स्कुल पढ्ने वेला झापा विद्रोहको समय थियो । ०३७ बाट अनेरास्ववियुको राजनीति थालेका भट्टराईले आफ्नो विद्यार्थी जीवनबारे गज्जबका महेश तिमल्सिनालाई यसरी सुनाए :

विद्यार्थीजीवनको सुरुवात ताप्लेजुङबाटै

ताप्लेजुङको हाल मैयाखोला गाउँपालिकामा अवस्थित नारायणी स्कुलबाट मेरो विद्यार्थीजीवनको सुरुवात भयो । त्यहाँ कक्षा सातसम्म अध्ययन गरेँ । त्यसपछि संखुवासभाको मादी माविमा कक्षा ८ मा भर्ना भएँ । त्यहीँबाट ०४० मा एसएलसी दिएँ । द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण
भएको थिएँ ।

कलेजको सुरुवात महेन्द्ररत्न क्याम्पसबाट

एसएलसीपछि कलेज अध्ययन गर्न काठमाडौं आएँ । गाउँबाट एक्कासि काठमाडौं आउँदा सुरुसुरुमा अलि अप्ठ्यारो महसुस भयो । तर, साथीभाइहरूसँग घुलमिल भएपछि सजिलो भयो । ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा आइएड अध्ययनका लागि भर्ना भएँ । जुन कलेजमा शिक्षाशास्त्र संकायमा मात्रै पढाइ हुने भएकाले म पनि शिक्षाशास्त्र संकायमै भर्नाभएँ ।

शिक्षक बन्ने सपना, राजनीतिमा चासो

त्यसवेला गाउँमा शिक्षकको धेरै सम्मान हुन्थ्यो । त्यसैले मेरो इच्छा पनि शिक्षक बन्ने थियो । परिवारले पनि शिक्षक बन्दिए हुन्थ्यो भन्ने चाहेको थियो । यसरी शिक्षक बन्ने सपना बोकेर म महेन्द्ररत्न क्याम्पसमा गएँ । तर, त्यहाँ गएपछि वातावरण अर्कै बन्यो । पञ्चायतविरोधी आन्दोलनहरू चलिरहेका थिए । राजनीतिक दलहरू प्रतिबन्धित थिए । तर, विद्यार्थी संगठनहरू थोरै मात्रामा भए पनि स्वतन्त्रता थियो ।

त्यसकारणले गर्दा कलेजमा अध्ययन गर्दा राजनीतितर्फ ध्यान केन्द्रित हुन थाल्यो ।  यही क्रममा ०४१ मा भएको स्ववियु निर्वाचनमा अखिलका तर्फबाट उपसभापतिमा उठेँ । त्यस्तै, ०४३ मा भएको अर्को स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित भएँ । यसरी क्याम्पसमा भर्ना भएदेखि नै अखिलको गतिविधिमा सामेल हुँदै जाँदा पढाइमा भन्दा पनि राजनीतितर्फको झुकाब बढ्दै गयो ।

जेलमा प्रहरीको पिटाइले शौचालय जान सकिनँ

यसरी राजनीतिमै धेरै समय बित्दै गयो । त्यसवेला पञ्चायतविरोधी आन्दोलन चलिरहेको हुनाले प्रहरीसँग लुकीलुकी बेलुका भित्तेलेखनमा हिँड्थ्यौँ । त्यसवेला झापा आन्दोलनका केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायतका नेताहरू जेल पर्नुभएको थियो ।

त्यसैले हामीचाहिँ राजबन्दीहरूलाई रिहा गर भन्दै नारा लगाउँथ्यौँ । त्यस्तै, एकपटक पोल्यान्डबाट ल्याइएको विषाक्त दूध बहिष्कार गर्नुपर्छ भन्ने जुलुसमा लाग्दा मलाई ०४२ मा प्रहरीले पक्राउ ग¥यो । त्यसवेला मलाई हनुमानढोकामा एक महिना थुन्यो । जुनवेला प्रहरीको ठूलो यातना भोग्नुपरेको थियो । यसरी प्रहरीको कुटाइले शौचालय जानै नसक्ने अवस्था पनि भयो ।

केन्द्रीय कारागारमा केपी ओलीसँगको पहिलो भेट

एक महिना हनुमानढोकामा राखेपछि मलाई केन्द्रीय कारागारमा चलान गरियो । त्यही वेला मैले पहिलोपटक केपी ओलीलाई भेटेँ । उहाँलगायतका थुप्रै नेतालाई त्यहाँ भेटेँ । केपी ओली र हामी एउटै कोठामा सुत्थ्यौँ । यसरी केही समय जेल परेपछि छुटेँ । त्यसपछि मेघालयबाट नेपालीलाई लखेटियो । त्यसरी नेपालीलाई लखेट्न पाइँदैन भनेर आन्दोलन गरियो । त्यसवेला पनि मलाई प्रहरीले गिरफ्तार ग¥यो र जेल परेँ ।

मलाई पक्राउ गर्न प्रहरीले रातारात सहर नै उठायो

०४५, ०४६ को आन्दोलन सुरु भयो । जुन वेला म स्नातक तह अध्ययनका लागि कीर्तिपुर गइसकेको थिएँ । त्यसवेला म अनेरास्ववियुको केन्द्रीय सदस्य थिएँ । उपत्यकामा आन्दोलनको संयोजन गर्ने जिम्मा मलाई दिइएको थियो ।

फागुन ७ गतेदेखि आन्दोलन सुरु हुने थियो । त्यसका लागि सबै विद्यार्थी संगठनले न्युरोडबाट आ–आफ्ना पार्टीको झन्डा बोकेर निस्कने योजना थियो । हामीले सबै झन्डा कीर्तिपुर क्याम्पसमा बनाएर विभिन्न ठाउँमा पठायौँ । तर, प्रहरीले पछ्याइरहेको थियो । त्यसवेला म होस्टलमा बस्थेँ ।

आन्दोलनको अघिल्लो दिन भएकाले प्रहरीले पक्राउ गर्न सक्छ भनेर म होस्टलमा नबसेर नयाँबजार साथीको कोठामा बस्न गएँ । म कहाँ छु भन्ने प्रहरीलाई थाहा थिएन । त्यसैले त्यो रात प्रहरीले पूरै कीर्तिपुर बजार घेराबन्दी ग¥यो । अनि राति १२ बजेदेखि कीर्तिपुर नयाँबजारका मान्छेलाई उठायो । घरबेटीदेखि कोठामा बस्ने सबैलाई गिरफ्तार ग¥यो । सबैलाई गाडीमा हालेर महेन्द्र पुलिस क्लबमा ल्यायो । त्यहाँ म, हितकाजी गुरुङ, अर्जुन सुब्बालगायतलाई राखेर अरूलाई छाड्यो ।

नेविसंघ र अखिलको झगडा हुँदा मेरो टाउको फुट्यो

बहुदल आएपछि नेविसंघ र अखिलबीच धेरै झगडा हुन थाल्यो । ०४९ को स्ववियु चुनाव भइसकेपछि मतगणनाको क्रममा कीर्तिपुरमा ७ दिनसम्म नेविसंघ र अखिलको झगडा भएको छ । त्यस्तै, एकपटक पुतलीसडकमा नेविसंघ र अखिलबीच झगडा हुँदा मेरो टाउको फुटेर ६ वटा टाँका लगाइएको थियो ।

राँगाको मासुसँग भात खाइन्थ्यो

मैले विद्यार्थी राजनीति गर्ने वेलामा अहिलेकोजस्तो महँगो बजार थिएन । हामी खर्च पनि कम गथ्र्यौं । त्यसवेला कलेजमा खाजा खाने भनेको चिया, तरकारी, समोसा हो । त्यो पनि नियमित हुँदैनथ्यो ।

कोठामा आएर पनि दाल, भात, तरकारी, अचार मिलाएर खाने वातावरण थिएन । त्यसवेला राँगाको मासु सस्तो हुन्थ्यो । राँगाको मासुमा रस राखेर भात खाइन्थ्यो । तर, अहिले विद्यार्थी राजनीति गर्ने विभिन्न संगठनका विद्यार्थी नेताको जीवनशैली कुनै व्यवसायीको भन्दा कम छैन ।

मास्टर्स पाटन क्याम्पसबाट गरेँ

०५१ मा स्नातकोत्तर तहको अध्ययनका लागि पाटन क्याम्पसमा गएँ । मैले स्नातकोत्तर समाजशास्त्रमा गरेको छु । तर, नियमित कलेज जाने वातावरण भएन । जसकारण म पाटन क्याम्पसको विद्यार्थी हुँ भन्ने धेरैलाई थाहा छैन ।

राजनीतिमा लागेकाले प्रेम गर्ने ध्यान नै भएन

कलेजजीवनमा कतिपयले एक–अर्कालाई मन पराएर प्रेम सम्बन्धमा रहन्थे । मैले पनि कसैलाई मन पराउँथेँ, मलाई पनि कसैले मन पराउँथे होला । तर, राजनीतिमा लागेका कारणले त्यतातर्फ ध्यान नै गएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु