logo

bar

एनआरएन युएईको वनभोजमा सचेतना कार्यक्रम

लक्ष्मण खनाल युएई, २२ पुस | पुष २२, २०७४

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

संघले फेब्रुअरी महिनालाई जनचेतना महिना घोषणा गर्दै युएईमा रहेका विभिन्न क्षेत्रहरुमा नेपाली श्रमिकहरुलाई भैपरिआउने समस्याहरुको न्यूनीकरण र समाधान गर्न सचेत बनाउने उद्देश्यका साथ अभियान सुरु गरिएको संघका प्रवक्ता मनु क्षेत्रीले बताए ।

राष्ट्रिय समन्वय परिषद युएई फुजेरा क्षेत्रीय समितिले आयोजना गरेको वनभोज कार्यक्रमबाट जनचेतना अभियान सुरु भएको हो । जनवरी ५ शुक्रबार युएईको फुजेरामा रहेको माधव पार्कमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैदेशिक रोजगारीको शिलशिलामा फुजेरामा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा गोपाल कँडेल, निमेश गिरी र दिपक खड्काले एनआरएनको उद्देश्यमाथि प्रकाश पार्दै युएईमा रहेका नेपालीहरुले गर्नु पर्ने सुरक्षा सावधानी, स्वास्थ्यमा हुन सक्ने समस्याहरु, सडक दुर्घटनाबाट बच्ने उपाय, लागु औषधबाट हुन सक्ने क्षति र दुर्घटनालगायतका विषयमा चर्चा गरिएको थियो ।

साथै युएईमा रहेका नेपालीहरुलाई युएईको श्रम कानुनको विषयका विषयमा जानकारी दिएको थियो । संघका युवा संयोजक नविन पौडेलले सुरक्षित रेमिट्यान्सका बारोक जानकारी दिएका थिए ।

अभियानको रुपमा फुजेराबाट सुरु भएको जनचेतनामुलक कार्यक्रम युएईका सात वटै प्रान्तमा लगिने संघका अध्यक्ष रमेश श्रेष्ठले बताए । यसअघि संघले डिसेम्बर महिनालाई खेलकुल महिना घोषणा गर्दै विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।

संघका क्षेत्रीय अध्यक्ष विरेन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा अध्यक्ष रमेश श्रेष्ठ र विषेश अतिथिहरुमा मध्यपूर्व सहसंयोजक गोपाल कँडेल, सल्लाहकार तथा अनुशासन विभाग प्रमुख निमेश गिरी, सल्लाहकार दिपक खड्का रहेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय उपाध्यक्ष शेर सुनार र केन्द्रीय सचिव राजेश बोहोराले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु