logo

bar

‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता

नयाँ पत्रिका काठमाडौं, २१ पुस | पुष २१, २०७४

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७ दशमलव २२ अंक बढेको छ । कारोबारमा आएका १० समूहमध्ये सात समूहको परिसूचक बढेपछि नेप्से बढ्न पुगेको हो । अघिल्लो दिन प्रोफिट बुकिङका कारण करेक्सन भएको बजार यस दिन शून्य दशमलव ५१ प्रतिशत बढेर १ हजार ४ सय २३ दशमलव ८३ बिन्दुमा पुगेको छ । लगानीकर्ता अन्योलमा रहेका कारण यस दिनको बजार उतार–चढावपूर्ण रह्यो । बजारले कुन दिशा लिने हो भन्ने निश्चय गर्न नसकेका कारण लगानीकर्ताहरू अन्योलमा देखिएका छन् । अधिकांश लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । निर्वाचन सकिएको एक महिना भए तापनि सरकार बन्न ढिलाइ भइरहेका कारण बजार प्रभावित भइरहेको राजनीतिलाई बजारसँग जोडेर हेर्ने लगानीकर्ताको भनाइ छ ।

नेप्सेमा सुधार आएसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । यस दिन १ सय ५९ कम्पनीको ५ हजार १ सय ५० पटकको कारोबारमा ५३ करोड ५० लाख ९२ हजार २ सय १८ रुपैयाँबराबरको १३ लाख ४९ हजार ७ सय २९ कित्ता सेयर खरिद–बिक्री भएको छ । यो अघिल्लो दिनको तुलनामा ८ करोड ९५ लाख रुपैयाँ बढी हो । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा १२ अर्ब बढेर १६ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ५९ अंक बढेर २ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३६ दशमलव ७२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबार रकमका आधारमा यस दिन एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर अगाडि रहेको छ । यस दिन सो कम्पनीको १२ करोड २६ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर खरिद–बिक्री भएको छ । ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको प्रभु बैंकको यस दिन ५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्य यस दिन करिब १० प्रतिशत बढेको छ । एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य यस दिन १० प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार ट्रेडिङ, होटेल र विकास बैंक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । ‘अन्य’ समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव १ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशत, माइक्रो फाइनान्स समूहको शून्य दशमलव ४८ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ४४ प्रतिशत, वित्त समूहको शून्य दशमलव २६ प्रतिशत, बिमा समूहको शून्य दशमलव २५ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव २२ प्रतिशत बढेको छ । कारोबारमा आएको ट्रेडिङ समूहको परिसूचक १ दशमलव ४८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४६ प्रतिशत र होटेल समूहको शून्य दशमलव ३१ प्रतिशत घटेको छ ।

 कन्काईको बुक क्लोज
कन्काई विकास बैंक लिमिटेडले माघ २ गते बुक क्लोज गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । बैंकको साधारणसभा माघ १६ गते हुने भएको छ ।

 सेयर सूचीकृत
बिहीबार नेप्सेमा सेन्चुरी कमर्सियल बैंक लिमिटेडले सेयर सूचीकृत गरेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड र सेती फाइनान्स लिमिटेडलाई प्राप्त गरेको थियो । यस दिन बैंकले ५१ लाख ६३ हजार ९ सय ४२ दशमलव ५० कित्ता सेयर सूचीकृत गरेको हो ।

 मूल्य समायोजन
बिहीबार नेप्सेले कर्णाली डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको छ । बैंकको २ सय २५ प्रतिशत हकप्रद सेयरपछिको समायोजन मूल्य नेप्सेले १ सय ४० रुपैयाँ तोकेको छ । समायोजनका लागि बैंकको औसत आधार मूल्य १ सय ८७ रुपैयाँ तोकिएको थियो ।

 आइपिओ निष्कासनका लागि आशाको आवेदन
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्न पुस १९ गते आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद निष्कासनका लागि सिनर्जीको आवेदन
सिनर्जी फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ बराबर शून्य दशमलव २५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि पुस १९ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ११ लाख ८६ हजार २२ दशमलव ४७ कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको हो । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सन्राइजको संस्थापक सेयर लिलामी
सिद्धार्थ लगानी वृद्धि योजना १ ले आफ्नो स्वामित्वमा रहेको सन्राइज बैंक लिमिटेडको ४९ हजार ६ सय ८७ कित्ता संस्थापक सेयर (सूचीकरण भइनसकेको ६ हजार ४ सय ८१ कित्ता बोनस सेयरसहित) बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । यस योजनाको अवधि समाप्त भएकाले सो योजना खारेजीमा लैजाने कार्य अगाडि बढाउन सो सेयर बिक्री गर्न लागेको हो । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता आवेदन दिनुपर्नेछ । सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस २० गतेदेखि माघ २४ गतेसम्ममा सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ ।

 सिन्धुको अवितरित हकप्रद सेयरको बाँडफाँड
सिन्धु विकास बैंकले सिलबन्दी बोलपत्रमार्फत खरिद आह्वान गरेको अवितरित हकप्रद सेयर पुस १९ गते बाँडफाँड गरेको छ । बैंकले पुस ४ गतेदेखि पुस १२ गतेसम्म संस्थापक समूहको २८ हजार ५ सय ७० कित्ता र सर्वसाधारण समूहको १ लाख ४१ हजार १ सय २ दशमलव ६० कित्ता सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री खुला गरेको थियो । बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी पुस २३ गतेदेखि गरिनेछ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया