logo

bar

थानेश्वरको उद्धारका लागि आवश्यक ब्लडमनी जुट्याे

लक्ष्मण खनाल युएई | पुष २०, २०७४

चार बष देखि साउदी अरबियाको जेलमा रहेका मध्यबिन्दु नगरपालिका नवलपरासीका थानेश्वर भुषालको उद्दारको लागि आवश्यक ब्लडमनी संकलन भएको छ । एकलाख पचास हजार साउदी रियल (करिब ४५ लाख नेपाली रुपैयाँ) संकलन भएको हो ।

प्रवासी नेपाली समन्वय समितिको सक्रियतामा सुरु भएको थानेश्वर भुषाल बचाउ अभियानले ब्लडमनी तिर्न आवश्यक रकम संकलन गरेसंगै भुषाल छिट्टै छुट्ने समितिका अध्यक्ष कुलप्रसाद कार्कीले नयाँ पत्रिकालाई बताए । भुषालको लागि आवश्यक रकम संकलन भईसकेको बताउँदै अब उनको उद्दारको लागि रकम संकलन अभियान बन्द गर्न पनि उनले अनुरोध गरेका छन् ।

 

साउदी, कतार, बहराइन, युएई, अष्ट्रेलिया, कुवेत, नेपाल लगायत विभिन्न देशमा रहेका नेपाली समाजसेवी, संघसंस्था, व्यवसायीहरुको सहयोगले आवश्यक रकम संकलन भएको कार्कीले बताए । भुषालको लागि आवश्यक रकम करिब ४५ लाख भएपनि खातामा जम्मा भैसकेको रकम र विभिन्न व्यक्तिहरुले प्रतिबद्धता गरेको रकम ४६ लाख ३५ हजार दुइसय त्रिचालिस रहेको बताउँदै कार्कीले बाँकी रहने करिब एकलाख पैतिस हजार रुपियाँ भुषाल जस्तै समस्यामा परेका अन्य व्यक्तिहरुको उद्दारमा सहयोग गरिने जानकारी दिए ।

कार्कीका अनुसार भुषालको उद्दारको लागि आवश्यक रकम आगामी हप्ता नेपाल सरकारलाई हस्तान्तरण गरिने र सरकार मार्फत उनको ब्लडमनी तिरेर छिट्टै जेलमुक्त गरिनेछ ।

के कारण जेल परेका थिए भुषाल ?
बैदेशिक रोजगारीको लागि करिब ६ बर्ष पहिले साउदी गएका नवलपरासीका ३७ वर्षिय थानेश्वर भुषाल साउदीमा गाडी चलाउने काम गर्थे । सवारी चलाउने क्रममा सडक दुर्घटना हुँदा एकजना भारतीय नागरिक र एकजना साउदी नागरिकको ज्यान गएको थियो ।

दुर्घटना भएपछि साउदी अरेबियाको जेद्दा अदालतले भुषाललाई दोषी ठहर गर्दै १ लाख पचास हजार साउदी रियल (करिब नेपाली ४५ लाख रुपैयाँ) ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो ।

भुषालको परिवारको आर्थिक अवस्था कमजोर भएको र उनको उद्दारको लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले आर्थिक सहयोग संकलन अभियान शुरु गरेर विभिन्न देशमा रहेका नेपालीहरु बीच समन्वय गरेको थियो ।

तपाईको प्रतिक्रिया