logo

bar

प्रधानमन्त्री र अध्यक्षकाे पदीय भागबण्डा टुंगिन बाँकी : माधव नेपाल

शुराेजंग पाण्डे काठमाडाैँ | पुष १९, २०७४

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री र अध्यक्ष पदको भागबण्डा टुंगिन बाँकी रहेकाे बताए । उनले एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्वमा सानो र छरितो टिम रहनेगरी एकताको गृहकार्य भइरहेको पनि बताए । ‘सानो, छरितो र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नेगरी छलफल र गृहकार्य चलिरहेको छ, वुधबार आयोजित साक्षात्कार कार्यक्रममा संचारकर्मीसँग नेपालले भने,‘पदका लागि मारामार गर्ने होइन, छरितो संरचना बनाएर नेताहरुको व्यवस्थापन गर्नुपर्छ, त्यसपछि महाधिवशेन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’

८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय कमटी २ सय सदस्यीय र २१ सदस्यीय पोलिटब्यूरो भएको उदाहरण दिदै उनले नेपालमा पनि एकतापछि सानो कमिटी बनाएर धेरै काम गर्न सक्नेगरी अघि बढ्नुपर्नेमा जोड दिए । मिति तय भइनसके पनि छिट्टै एकता गर्नेगरी दुई पार्टीबीच एकल र द्विपक्षीय सम्बाद जारी रहेकोसमेत नेपालले जानकारी दिए ।

एकता टुट्न सक्ने बजार हल्लामा कुनै सत्यता नरहेको भन्दै उनले समय लाग्नु स्वभाविक भएको बताए । ‘बजारमा थरी–थरीका सक्कली र नक्कली सामान पाइन्छन् । भात पाक्न पनि समय लाग्छ । अझ मिठो परिकार माछा–मासु पकाउनका लागि त समय लाग्छ नै, धैर्य गर्नुपर्छ,’ नेपालले भने,‘वाम गठबन्धन कुनै पनि हालतमा टुट्ने छैन, दुवै पार्टीभित्र हामी खारिएका परिपक्व नेता छौं ।’

एकताका लागि जुनसुकै भूमिकामा बस्न तयार 

वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि जुनसुकै भूमिकामा रहेर योगदान गर्न तयार रहेकोसमेत स्पष्ट पारे । ‘प्रजातन्त्रवादी हौँ भन्ने पार्टीभित्र कोही कसैको मातहतमा जीवनभर बस्न चाहाँदैनन् तर कम्युनिष्टहरु तल–माथि जहाँ बसेर पनि भूमिका निभाउन तयार हुन्छन्’ नेपालले भने, ‘माधव नेपालले जहाँ रहेर पनि देशलाई अघि बढाउन, पार्टीलाई क्रान्तिकारी दिशामा गतिशील ढंगले अघि बढाउने काममा भूमिका खेल्नेछ ।’

जबजको औचित्य झन् उजागर

पार्टीभित्र एकतापछि जबजको ‘च्याप्टर क्लोज’ हुने धारणा आएका बेला नेता नेपालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझ उजागर भएको बताए । माओवादीको एक्काईसौं शताब्दीको जनवाद र जवजबीच विवाद गर्नुपर्ने भिन्नता नै नरहेको जिकिर गरे । उनले जबजलाई समयअनुसार अपडेट गर्दै परिमार्जित गर्न सकिने धारणा राखे ।

‘जबजको सान्दर्भिकता सकिएको हैन, झन् उजागर भएको छ, यसको मेन कम्पोनेन्ट अस्तित्वमा रहिरहन्छ तर कतिपय पार्टमा परिवर्तन हुनसक्छ, संघीयता, समावेशिता पनि पछि थपिएको हो, फेरि पनि विकिसित गर्नुपर्ने हुनसक्छ । माओवादी नै माओवादबाट धेरै अघि बढेर एक्काईसौं शताब्दिको जनवाद भनिसकेको स्थितिमा धेरै विवाद गर्नुपर्ने ठाउँ देखिन्न, कन्टेन्ट मिल्दाजुल्दा नै छन्,’ नेपालले भने,‘अब समाजवादउन्मूख अर्थतन्त्रको विकास गर्ने कार्यक्रमका साथ अघि बढ्नुपर्छ ।’ उहाँहरु (माओवादी)ले जवजलाई कसरी लिनुहन्छ ? छलफलको विषय बन्ला । तर सबैको मर्यादालाई सम्मान गर्दै भावना सम्बोधन गर्नेगरी उपायको खोजी गर्न सकिन्छ ।’

प्रधानमन्त्री र अध्यक्ष टुंगिन बाँकी 

नेता नेपालले एमाले—माओवादीबीचको पार्टी एकतापछि प्रधानमन्त्री, अध्यक्ष लगायतका पदको कसरी बाँडफाँट गर्ने भन्ने विषयमा छलफल भएरहेको तर टुंगिन बाँकी रहेको बताए । उनले भने,‘एमाले र माओवादीभित्र पनि छलफल हुन बाँकी छ, अरु नेताहरुका सन्दर्भमा पनि कुरा गर्नुपर्ने हुनसक्छ, यी सबै काम सहजतापूर्वक टुंगो लाग्छ ।’

कुर्ची छाड्नुपर्ने चिन्ताले देउवालाई रोग नलागोस्

माधव नेपालले कांग्रेसमा चरम सत्तालिप्सा देखिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै धेरै चिन्ता लिएर रोग नबढाउन सुझाव पनि दिए । ‘कांग्रेस जहिले पनि कुर्सी छोडन आलटाल गर्छ । नानीदेखि लागेको बानी अझै हटेको छैन । यो अत्यन्तै गलत सोच हो ।’ माधव नेपालले भने, ‘शेखर, रामचन्द्र र देउवा आत्तिनु पर्दैन, रोग लाग्ला । अब कम्तिमा पाँचवर्ष धैर्य गरेर रचनात्मक प्रतिपक्षमा बस्नुस् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु