logo

bar

राष्ट्रियसभापछि समानुपातिकको रिजल्ट : अायाेग

पुष्प ढुंगाना काठमाडौं, १९ पुस | पुष १९, २०७४

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन परिणाम सार्वजनिक नगर्ने प्रष्ट पारेको छ । आयोगले विज्ञप्ति निकालेर परिणाम सार्वजनिक गर्न आयोग आफैँ आतुर हुँदा हुँदै पनि संवैधानिक र कानुनी अड्चनका कारण परिणाम सार्वजनिक गर्न नसकिने जनाएको हो ।

आयोगले संविधानको धारा ८४ को (६) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) अनुसार राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारहरुमध्ये विजयी हुने उम्मेदवारहरुको नामहरु सिफारिस गर्न आयोग असमर्थ रहेको प्रष्ट पारेको हो ।

आयोगले विज्ञप्ती निकालेर संवैधानिक बाध्यताको ख्यालै नगरि केही दलले आयोगको मानर्मदन हुने गरी अराजक गतिविधि सञ्चालन गरेकोमा आपत्ती समेत जनाएको छ । प्रवक्ता द्धारा जारी विज्ञप्तीमा आयोगले संविधान र कानुनले तोकेको विधि एवं प्रक्रियालाई नजरअन्दाज गरी उत्तेजना फैलाउन तथा संवैधानिक आयोगको मानमर्दन हुने गरी आयोगलाई लाञ्छना लगाउने क्रियाकलाप नगर्न÷नगराउन सम्वन्धित पक्षसँग आग्रह समेत गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनको तयारी तिव्र

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयारी तिव्र पारेको जनाएको छ । राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश प्रमाणीकरण भएपछि राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई आयोगले तीव्र बनाएको आयोगले जनाएको छ । आयोगले सरकारलाई चाँडै राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न समेत अपील गरेको छ ।

चाँडै प्रदेश प्रमुख

यसैगरि आयोगले छिटोभन्दा छिटो प्रदेश प्रमुखहरूको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भइसकेको भन्दै आयोगले चाँडै प्रदेशसभाको निर्वाचन परिणाम सहितको प्रतिवेदन घोषणा गर्न लागेको बताएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै आयोगले सरकारलाई त्यस्तो आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया