logo

bar

हुम्लाको रुघाखोकी नियन्त्रणका लागि विशेषज्ञ टोली खटियो

नरजन तामाङ हुम्ला, १९ पुस | पुष १९, २०७४

हुम्लामा यतिखेर रुघाखोकीको महामारी नियन्त्रणको लागि औषधि र डाक्टरसहित टोली खटाईएको छ । गएको तीन दिनमा रुघाखोकीबाट ६ जनाको ज्यान गएपछि औषधोपचारको लागि टोली खटाईएको हो ।

जिल्ला स्वास्थ्य कार्यलयबाट डाक्टर नविन रोकायाको नेतृत्वमा पाँच जनाको टोली उपचारको लागि रोग प्रभावित क्षेत्र सर्केगाड गाउँपालिकाको वडा नं. ७ र ८ मा खटाइएको छ ।

बुधबार नयाँ पत्रिका दैनिक र अन्य सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेपछि जिल्लाको स्वास्थ्य सुधारको लागि टोली खटाइएको सहायक प्रमूख जिल्ला अधिकारी रिद्धी प्रसाद सिटौलाले बताए ।

रुघाखोकीको बिरामी दिन प्रतिदिन बढ्ने गरेको सर्केगाड गाउँपालिका वडा नं. ८ का वडा सदस्य प्रबल बुढाले नयाँ पत्रिका दैनिकलाई बताए । उनका अनुसार, स्वासप्रश्वासमा समस्या, स्वर सुक्ने, ज्वरो आउने, बान्ता हुनेलगायतको समस्याले बिरामीलाई झन कठिन बनाएको छ । दिनहुँ बिरामीको संख्या बढ्दै गएको छ । यस्तो रोगले वृद्धा तथा बालबालिकालाई बढी प्रभाव पारेको छ ।

रुघाखोकीबाट मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नं. ५ का २७ वर्षका रन्देवी परियार, ६० वर्षका नन्दकली परियार ६०, सर्केगाड गाउँपालिका वडा नं. ७ का ९१ वर्षका भ्याँले कार्की, ९२ वर्षका खैरे शाही, ८८ वर्षका गोरे जैशी र ७५ वर्षका शंकरे रोकाया छन् ।

रुघाखोकी नियन्त्रणका लागि प्रभावित क्षेत्रमा नै गई निदान गर्न आफ्नो टोली लागि पर्ने डा.नविन रोकायाले बताए । उनले दैनिक आहार बिहारमा पनि सचेत रहन सुझाव दिए ।

तपाईको प्रतिक्रिया