logo

bar

ट्राफिक कार्यालय अगाडि दुर्घटना, जेब्राक्रसमै महिलाको मृत्यु

लक्ष्मी काफ्ले झापा, १९ पुस | पुष १९, २०७४

ड्युटीमा खटिएका ट्राफिक प्रहरीकै अगाडि यात्रुबाहक बसले किचेर झापाको बिर्तामोडमा एक महिलाले ज्यान गुमाएकी छन् । मुक्तिचौकस्थित ट्राफिक कार्यालयकै अगाडि यात्रुबाहक बसले किचेर हल्दिबारी गाउँपालिका–४ की ३३ वर्षीया लक्ष्मीमाया कन्दङ्वाले ज्यान गुमाएकी हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयकै अगाडि रहेको पूर्वपश्चिम राजमार्गमा कन्दङ्वालाई बसले किचेको हो । बुधबार दिउँसो ११ः३० बजे जेब्राक्रसबाट सडक पार गरिरहेकी कन्दङ्वालाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १७२२ नम्बरको बसले किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी यामकुमार खड्काले जानकारी दिए ।

घटनास्थलनजिकै ड्युटीमा खटिएका ट्राफिक प्रहरीका जवान मनोजकुमार मेहताका अनुसार, जेब्राक्रसबाट सडक पार गरिरहेका बेला ती महिलालाई एउटा मोटरसाइकलले सामान्य ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करलगत्तै उनलाई बसले किचेको मेहताले बताए ।

महिलालाई ठक्कर दिएर मोटरसाइकल भाग्दै गरेको अवस्थामा प्रहरी जवान मेहताले मोटरसाइकलको पछाडि सवार व्यक्तिलाई मात्र नियन्त्रणमा लिन सफल भए । आफूलाई नै लडाएर मोटरसाइकल भागेको उनले बताए ।

मोटरसाइकल चालक फरार भए पनि केही समयपछि आफैँ इलाका प्रहरी कार्यालय बिर्तामोडको सम्पर्कमा आएका थिए । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिने क्रममा ट्राफिक प्रहरीका जवान मेहता सामान्य घाइतेसमेत भएका छन् ।

घटनास्थलबाट उठाएर महिलालाई नजिकैको बी एण्ड सी टिचिङ हस्पिटल पु¥याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ । तर, प्रत्यक्षदर्शीका अनुसार महिलाको घटनास्थलमै मृत्यु भइसकेको थियो । ट्राफिक प्रहरीको कार्यालय अगाडि रहेको जेब्राक्रसमै पैदलयात्रुको मृत्यु भएपछि झापा ट्राफिकमा खैलाबैला मच्चिएको छ ।

मोटरसाइकल चालकको गल्तिकै कारण बसले महिलालाई किचेको ट्राफिक प्रहरीले जनाएको छ । बसका चालक झापा पत्थरीया–५ का ३२ वर्षीय हरिबहादुर बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

मुक्तिचोकमै कसरी  भयाे दुर्घटना ?

चौबाटो रहेको बिर्तामोडस्थित मुक्तिचोकको बिचमा एउटा आइल्याण्ड बनाइएको छ । २०४५ सालअघिसम्म सानो रहेको आइल्याण्डलाई त्यसपछि बढाइएको हो । ०४६ को जनआन्दोलनपछि यस ठाउँको नाम मुक्तिचोक रहन गयो । वामपन्थी नेता द्रोणाचार्य क्षेत्रीले भाषण गरिसकेपछि लीला उदासीले यस ठाउँको नाम मुक्तिचोक राखेका थिए ।

जनताले मुक्ति पाएको प्रतिबिम्बस्वरुप मुक्तिचोकमा महिला र पुरुषले हात समाएर आन्दोलनमा उत्रिएको शालीकसमेत राखिएको छ । त्यसको शिलान्यास गिरीजाप्रसाद कोइरालाले गरेका थिए ।
मुक्तिचौकमा राखिएको त्यही आइल्याण्डका कारण अहिले बिर्तामोडमा दुर्घटना बढिरहेको छ ।

आइल्याण्ड ठूलो भएका कारण मुक्तिचोकमा सवारीसाधनको सधैँ भिडभाड रहन्छ । ट्राफिक प्रहरीलाई सडक खुलाउन हम्मे हम्मे हुन्छ । आइल्याण्डको वरिपरी फलामको रेलिङ भएका कारण ट्राफिक व्यवस्थापनमा झनै मुस्किल परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए ।

केही महिनाअघि आइल्याण्डमाथि उभिएर ट्राफिक प्रहरीले आलोपालो गर्दै सवारी पठाउँथे । तर, आइल्याण्डको रेलिङका कारण त्यो सहज भएन । ‘हामीले पटक–पटक सरोकारवाला निकायसँग आइल्याण्ड सानो बनाउन र रेलिङ हटाउनेबारे कुरा राखिसक्यौँ,’ उनले भने, ‘तर, रेलिङ हटाउन हामीले कतैबाट सहयोग नपाएका कारण दुर्घटनामा परी हाम्रै कार्यालय अगाडि सर्वसाधारणको ज्यान गइरहेको छ ।’

आइल्याण्ड सानो पार्न सके ट्राफिक व्यवस्थापन चुस्त बनाउन सकिने ट्राफिक प्रमुख राई बताउँछन् । फलामे रेलिङका कारण आइल्याण्डमाथि बसेर ट्राफिक प्रहरीले सवारी चालकलाई इशारा गर्न असहज भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु