logo

bar
logo
Advertisment
SKIP THIS

वडासचिव पाँच महिनादेखि सम्पर्कविहीन

नयाँ पत्रिका गोरखा, १९ पुस | पुष १९, २०७४

अजिरकोट गाउँपालिका वडा नम्बर–५ का वडासचिव दीपक दर्जी पाँच महिनादेखि सम्पर्कविहीन छन् । गत ३ साउनमा उनी वडाध्यक्षसँग तीन दिनको बिदा लिएर हिँडेका थिए ।


वडासचिव दर्जी पाँच महिना बितिसक्दासमेत वडा र गाउँपालिकाको सम्पर्कमा नआएको गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङले जानकारी दिइन् । मुच्चोकसँगै दर्जीलाई अजिरकोट गाउँपालिका–३ हंसपुरको वडासचिवको पनि जिम्मेवारी दिइएको थियो । रापाकोट–२ स्याङ्जा स्थायी घर भएका उनी फोन सम्पर्कमा समेत नरहेको गुरुङले बताइन् ।

‘म्यासेज गर्‍यो रिप्लाई पनि दिनुहुन्न, फोन पनि रिसिभ गर्नुहुन्न,’ गुरुङले भनिन् । वडासचिव सम्पर्कविहीन बनेपछि अहिले वडा कार्यालयका काम प्रभावित भएका छन् । ‘वडाध्यक्षले सामान्य काम चलाउनुभएको छ, सिफारिस दिनुपर्‍यो भने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले दिने गर्नुभएको छ,’ उपप्रमुख गुरुङले भनिन् ।

वडासचिव सम्पर्कविहीन बनेपछि मुच्चक र हंसपुरको गत आर्थिक वर्षको दुई करोड रुपैयाँ बेरुजु देखिएको स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिए । वडासचिव दर्जीलाई घर–ठेगानामा पत्र पठाए पनि बुझ्न नमानेको भनेर फिर्ता आएको अधिकारीको भनाइ छ । निजामती सेवा ऐन २०४९ ले विनासूचना ९० दिन अनुपस्थित भए जागीर जाने उल्लेख छ ।

‘बिल भर्पाइ नै बुझाएको छैन,’ आचार्यले भने ‘अब पक्राउ पुर्जी जारी गरेर रकम असुलउपरको तयारी थालेका छौँ ।’ पुँजीगत खर्च तथा सामाजिक सुरक्षाभत्ता र विकास निर्माण कुनै पनि खर्च शीर्षकको बिल भर्पाइ गाउँपालिका र वडा कार्यालयमा सचिव दर्जीले बुझाएका छैनन् ।

तपाईको प्रतिक्रिया