logo

bar

दक्षिणद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

एजेन्सी सिउल, १९ पुस | पुष १९, २०७४

दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरको वार्ता प्रस्ताव गरेको छ । कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको प्युङचाङमा हुने हिउँदे ओलम्पिक खेलमा उत्तर कोरिया सहभागी हुने संकेत गरेको भोलिपल्ट दक्षिण कोरियाले वार्ता प्रस्ताव गरेको हो । दक्षिण कोरियाको वार्ता प्रस्तावको उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । वार्ता गर्ने समय, स्थान र मोडेलबारे दक्षिण कोरिया खुला रहेको दक्षिण कोरियाका एकता मामिलामन्त्री चो म्युङ ग्युनले बताए । दक्षिण कोरियाको वार्ता प्रस्तावको चीनले स्वागत गरेको छ ।

९ जनवरीमा वार्ता प्रस्ताव
दक्षिण कोरियाका एकता मामिलासम्बन्धी मन्त्री चो म्युङग्युनले दुई देशको सीमामा पर्ने पाम्मुन्जुममा आगामी ९ जनवरीमा वार्ता गर्ने प्रस्ताव गरेका हुन् । पाम्मुन्जुमलाई ‘युद्धविराम गाउँ’समेत भनिन्छ । उच्च सुरक्षा दिइएको गाउँमा दुवै देशले ऐतिहासिक वार्ताहरू गर्दै आएका छन् । वार्तामा सहभागी हुने प्रतिनिधिबारे भने केही प्रस्ट भइसकेको छैन ।

‘उत्तर कोरियाली प्रतिनिधि मण्डलको हिउँदे खेलमा सहभागिता, दुई देशबीच विद्यमान तनाव अन्त्यलगायतका समसामयिक विषयमा छलफल गर्न दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको छ,’ मंगलबार राजधानी सिउलमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री चोले भने । दुई कोरियाबीच पछिल्लोपटक सन् २०१५ को डिसेम्बरमा संयुक्त औद्योगिक क्षेत्रमा उच्चस्तरीय वार्ता भएको थियो । तर, सो वार्ता कुनै सहमतिविना टुंगिएको थियो । सो वार्तामा छलफल गरेको विषयलाई दुवै देशले अझै गोप्य  राखेका छन् ।

“किमको सम्बोधन स्वागतयोग्य”
क्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा राष्ट्रपति मुन जाय इनले उत्तरका नेता किम जोङ उनको पछिल्लो भनाइ स्वागतयोग्य भएको बताए । ‘उत्तर कोरियाले दक्षिण कोरियासँग गरेको सम्बन्ध सुधारको संकेतलाई सकारात्मक रूपमा लिएका छौँ । सोहीबमोजिम दक्षिण कोरियाले वार्ता प्रस्ताव गरेको छ,’ राष्ट्रपति मुनले भने । उत्तरको संकेतपछि दक्षिण कोरियाली राष्ट्रपति वार्ता प्रस्ताव गर्न एकतामन्त्रीलाई निर्देशन दिएका हुन् । नयाँ वर्षको अवसरमा दिएको मन्तव्यमा उत्तर कोरियाली नेताले दक्षिण कोरियासँग वार्ता गर्न सकिने संकेत गरेका थिए । ‘कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण ढंगले समाधान गर्ने उत्तर कोरियाको आशा छ,’ किमले भनेका थिए ।

वासिङ्टन–सिउल सम्बन्ध तोड्ने रणनीति
उत्तर कोरियाले दक्षिणसँग वार्ताका लागि देखाएको संकेतले विज्ञहरू सशंकित भएका छन् । उत्तर कोरियाली संकेत सिउल र वासिङ्टनबीचको बढ्दो हिमचिम तोड्ने रणनीति भएको केही विज्ञको अनुमान छ । उत्तर कोरियाली नेता किम जोङ उनले ‘सिउलको असुरक्षाको चेतनालाई भरपुर उपयोग गर्न खोजेको’ अमेरिकी विज्ञ रोजर बेकर बताउँछन् । ‘वार्तापछि उत्तर कोरियाले आफ्नो प्रतिनिधि मण्डल हिउँदे ओलम्पिकमा पठाउने र उत्तर कोरियाली रणनीतिले सिउल र वासिङ्टनबीच मतभिन्नता आउने प्रबल सम्भावना छ,’ बेकरले भने । गत वर्ष दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि मुन जाय इनले कोरियाली संकटको शान्तिपूर्ण समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन् । गत सेप्टेम्बरमा उत्तर कोरियाले छैटौँ आणविक परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति मुनले उत्तर कोरियालाई खुसी पार्न खोजेको आरोप लगाएका थिए ।

आणविक विकास वर्ष
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०१८ लाई आणविक हतियार विकासको वर्ष बनाउने प्रतिबद्धता जनाइएको छ । प्रतिवेदनमा उत्तर कोरियाले आफ्नो आणविक नीति परिवर्तन नहुने प्रस्ट
पारेको छ । ‘आणविक शक्तिको अस्तित्व अजेय शक्तिमा निहित छ, जसलाई बेवास्ता गर्न सकिँदैन,’ प्रतिवेदनमा भनिएको छ । अमेरिका र कोरियाली प्रायद्वीपमा देखिएको तनावबीच उत्तर कोरियाले बारम्बार आणविक परीक्षण र प्रहार गरेको छ । यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा रहेको बताएका थिए । ‘अमेरिकाका सम्पूर्ण मुख्य स्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र छन् र त्यसको साँचो मेरो कार्यालयको टेबलमा छ । अमेरिकाले यसलाई यथार्थको रूपमा लिनु जरुरी छ,’ उनले भनेका थिए ।

तपाईको प्रतिक्रिया