logo

bar

उत्तर र दक्षिणको बैठकको सम्भावना

प्रज्ञा मानव/बिबिसी | पुष १९, २०७४

दक्षिण कोरियाले उत्तर कोरियासामु ९ जनवरीमा उच्चस्तरीय बैठकको प्रस्ताव गरेको छ । यस बैठकमा २०१८ को हिउँदे ओलम्पिकमा प्योङयाङको सहभागिताको सम्भावनामा चर्चा हुने बताइएको छ । यो प्रस्ताव उत्तर कोरियाका नेता किम जोङ उनको त्यस वक्तव्यपछि गरिएको छ, जसमा उनले फेब्रुअरीमा दक्षिण कोरियामा हुने प्रतियोगितामा भाग लिनका लागि आफ्नो टिमलाई प्योनचाङ पठाउने विषयमा विचार गरिरहेको बताएका थिए । उनले भनेका थिए कि दुवै पक्षले तुरुन्त बैठक बसेर सम्भावनामाथि छलफल गर्नु आवश्यक छ ।

के भनेका थिए किमले ?
नयाँ वर्षको आफ्नो भाषणमा किमले भनेका थिए कि उनी दक्षिण कोरियासित कुराकानीका लागि तयार छन् र फेब्रुअरीमा हुने हिउँदे ओलम्पिकमा आफ्नो टोली पठाउने विषयमा विचार गरिरहेका छन् । दक्षिण कोरियालाई सल्लाह दिँदै किमले भनेका थिए– दुवै कोरियाली देशका अधिकारीले सम्भावना खोज्नका लागि तुरुन्तै भेटघाट गर्नुपर्छ ।

उनको यस वक्तव्यको स्वागत गर्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले आफूले पहिल्यैदेखि ओलम्पिक खेल दुवै देशबीच शान्ति कायम गर्ने दिशामा एक ऐतिहासिक मौका हुनसक्नेमा जोड दिँदै आएको बताएका छन् ।

राष्ट्रपति मुनले संकेत दिएका छन् कि उनी किम जोङ उनसित आणविक कार्यक्रमको विषयमा पनि कुराकानीको कोसिस गर्नेछन् । यस्तोमा हिउँदे ओलम्पिकको माध्यम बनाएर सुरु गरिँदै गरेको कूटनीति के खेलको समाप्तिपछि पनि जारी रहला त ?

स्मरणीय छ, पछिल्लो वर्ष राष्ट्रपति बनेका मुन जे इनले लगातार सम्बन्ध सुधार्ने कुरा गर्दै आएका छन् । यस्तोमा के हिउँदे ओलम्पिकमार्फत दुवै कोरियाली देशबीच नयाँ युगको सुरु हुन सक्ला त ? वरिष्ठ पत्रकार सैबल दास गुप्ताका अनुसार उत्तर कोरिया मनदेखि दक्षिण कोरियानिकट गएको होइन । किम जोङ उनले अमेरिकासित गालीगलोज गरेर कुनै परिणाम निस्किन्न भन्ने देखिसकेका छन् । अब इन्धनका जहाज पक्राउ परिरहेका छन् । जब कि उत्तर कोरियाजस्तो चिसो बढी हुने देशलाई इन्धन बढी नै चाहिन्छ । किम जोङ उनलाई थाहा छ कि उनलाई दक्षिण कोरियाको साथको खाँचो छ । यसका लागि हिउँदे ओलम्पिक सही अवसर हुन सक्छ ।

सैबल मुन जे इनको भूमिकामाथि कुरा गर्दै भन्छन्– यसबाट राष्ट्रपति मुनलाई पनि फाइदा हुनेछ । किनकि, उनी राष्ट्रपति बनेदेखि नै दुई कोरियाबीच सम्बन्ध सुधार्ने कुरा गर्दै आएका छन् । यस्तोमा उनले आफ्ना नागरिकलाई उनको प्रस्तावमा उत्तर कोरियाको टोली ओलम्पिकमा भाग लिन आयो भनेर देखाउन पाए भने यसबाट देशभित्र उनको छवि थप राम्रो हुनेछ । किनकि, भारत–पाकिस्तानजस्तै दुवै देशका कैयौँ परिवार सीमानाबाट दुईतिर बाँडिएका छन् । दुवै देशका नागरिकबीच भावनात्मक सम्बन्ध छ । केही वर्षअघि त्यहाँ परिवारको पुनर्मिलन पनि आयोजना गरिएको थियो । राष्ट्रपति मुनले संकेत दिएका छन् कि उनी किम जोङ उनसित आणविक कार्यक्रमको विषयमा पनि कुराकानी गर्ने कोसिस गर्नेछन् । यस्तोमा हिउँदे ओलम्पिकको माध्यम बनाएर सुरु गरिँदै गरेको कूटनीति के फेब्रुअरीमा खेलको समाप्तिपछि पनि जारी रहन सक्ला त ?

सैबल दास गुप्ता यसको जवाफमा भन्छन्– यो निकै जटिल विषय हो । किम जोङ र मुन जे इन दुवै जान्दछन् कि यो उनीहरूको आपसी विषय हो । दुवै देश चाहन्छन् कि उनको मामिलामा अमेरिका र चीनको प्रभाव अन्त्य होस् । तर, यो मान्नु गलत हुनेछ कि किम जोङ राष्ट्रपति मुनले भन्नासाथ आफ्नो आणविक बम बनाउने कार्यक्रम रोक्नेछन् । किम जोङलाई थाहा छ कि उनले बनाएनन् भने उनीसित कोही पनि डराउँदैन । कोही पनि डराएन भने आफ्नो गद्दी पनि जानेछ । अमेरिका त यही चाहन्छ नै । किमको देशमा गद्दी जानुको अर्थ हो, ज्यान जानु । यस्तोमा मात्र हिउँदे ओलम्पिकमा सहभागी बन्दैमा किम जोङ उनमा कुनै ठूलै परिवर्तन आउँछ भनेर मान्न सकिन्न ।

अमेरिका र चीनमा यस कुराकानीको कस्तो असर होला ? यस प्रश्नमा सैबल भन्छन्– यी दुवै देशको प्रतिक्रिया हेर्नलायक हुनेछ । चीनले त चुपचाप हेर्नेछ, तर अमेरिकी राष्ट्रपति सायद चुप रहन सक्नेछैनन् ।
(मानव बिबिसी संवाददाता हुन्)
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया