logo

bar

आँखु हाइड्रोमा पाँच अर्ब लगानी गर्ने

रासस काठमाडौं, १९ पुस | पुष १९, २०७४

आँखु हाइड्रोमा पाँच अर्ब लगानी गर्ने – हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा ७ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । मंगलबार आयोजित एक कार्यक्रममा लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

आयोजनामा सनराइज बैंकसहित जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौं, सेन्चुरी कमर्सियल बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसी र प्रभु बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका हुन् । धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको सो आयोजनाको कुल लागत ६ अर्ब ३० करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाले आयोजनामा ४ अर्ब ७२ करोड रुपैयाँ लगानी गर्नेछन् ।

१ अर्ब २४ करोड रुपैयाँ प्रवद्र्धक हाइड्रो सोलुसनले लगानी गर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको त्रिशूली थ्री ए वा त्रिशूली थ्री बीका लागि निर्माण गरिने सवस्टेसनमा जोडिनेछ । प्रसारण लाइन निर्माणसमेत आफैँ गर्ने तयारीका साथ आयोजना निर्माणमा जुटेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिका सभापतिसमेत रहेका प्रधानले ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बताए । –रासस

तपाईको प्रतिक्रिया